coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेल नदी कटानले नमुना विद्यालय र लक्ष्मणपुर गाउँ नै जाेखिममा

बेल नदी कटानले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर लक्ष्मणपुर ६ स्थित जिल्ला कै नमुना विद्यालय सरस्वती आधारभूत विद्यालय बगाउने खतरा बढेको छ। नदीको बहाव विद्यालयतर्फ बढ्न थालेपछि जोखिममा परेको हो। 

यति मात्र होइन नदीले लक्ष्मणपुर गाउँमा रहेको २० घर समेत उच्च जोखिममा परेको हो। विद्यालयकी प्रअ मिना गिरुले बेल नदीले हरेक वर्ष कटान गर्दै विद्यालयतर्फ आएपछि विद्यालय नै बगाउने खतरा बढेको बताइन्। ‘नमुना विद्यालयलाई कति खेर बाढीले बगाउने हो सधै चिन्ता लागी रहन्छ,’ प्रअ गिरिले भनिन्। 

विद्यालयलाई बचाउन नदी कटान क्षेत्रमा तत्कालै तटबन्ध निर्माण गरिनु पर्ने उनले माग गरिन्। ‘विद्यालयलाई बचाउनु छ भने जति सक्दो चाडो तटबन्ध बनाउन जरुरी छ,’ उनले भनिन्। कक्षा ६ सम्म पढाई हुने विद्यालयमा ३ सय ४२ जना विद्यार्थी अध्ययनरत छन्। ७ वर्षअघिसम्म विद्यालयदेखि नदी २५ मिटरभन्दा टाढा थियो। अहिले नदी र विद्यालयको दूरि मात्र ५ देखि ७ मिटर मात्र छ। स्थानीय राममंगल बिश्वकर्माले बेल नदीले गाउँ र विद्यालयलाई छुन ५/७ मिटर मात्र बाँकी रहेको बताए। कटान क्षेत्रमा तटबन्ध निर्माण नगरिए विद्यालय र गाउँलाई कसैले जोगाउन नसक्ने उनले बताए। 

बर्षातको बेला नदी गाउँमा पस्न सक्ने भन्दै गाउँलेहरुले पालैपालो पहरेदारी गर्दै आएको उनले बताए। अर्का स्थानीय छेदी थारुले नदीले बहाव परिवर्तन गर्दै प्रत्येक वर्ष एक/दुई मिटर कटान गर्दै आएपछि समस्या आएको बताए। ‘ठूलो बाढी आए कुन दिन विद्यालयसहित गाउँलाई नै बगाएर लान्छ,’ उनले चिन्तित हुँदै भने। वडा अध्यक्ष नन्दलाल यादवले नदी कटनले विद्यालय र गाउँ खतरामा रहेको बताए। 

उनले यस विषयमा नगरपालिकालाई जानकारी गराइएको बताए। २ वर्षअघि त्यहाँ १० लाख बजेट लगानीमा थाेरै तटबन्धको काम गरिए पनि त्यसले नदी कटान रोक्न नसकेको बताए। मेयर केशवकुमार श्रेष्ठले नमुना विद्यालयलाई बचाउन नगरपालिकाले बजेटको ब्यवस्थापन गर्ने बताए। उनले स्थायी समाधानका लागि संघीय र प्रदेश सरकारसँग माग गरिएको बताए।

प्रकाशित: १९ भाद्र २०७८ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App