१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

चार किलो सुनसहित नेपालगन्ज विमानस्थलबाट दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेमा पक्राउ परेका ब्यक्ति र सुन सार्वजनिक गरिँदै । तस्बिर : नागरिक

नेपालगन्ज विमानस्थलबाट ४ किलो २१ दशमलभ ४९ ग्राम सुन बरामद गरिएको छ। बरामद गरिएको सुनसहित बाँके प्रहरीले संलग्न दुई जना ब्यक्तिलाई पक्राउ गरेको छ।  

काठमाडौंबाट नेपालगन्ज आएको श्री एयरको फ्लाईट नम्बर एस.एच.ए. ४३३ को जहाज चढेर आएका दुई जनाको साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए।  

झापा खादुनावारी निवासी २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ अन्दाजी २६ वर्षीय बुद्दीमान खातीलाई सुनसहित पक्राउ गरिएको उनले बताए। एसपी अधिकारीका अनुसार शुक्रबार दिउँसो करिव ३ बजेतिर नेपालगन्ज बिमानस्थलको आगमन कक्षबाहिर पट्टी शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उनीहरुलाई रोकेर सोधपुछ तथा तलासी गर्दा सुन बरामद गरिएको थियो।  

विश्वकर्माले लगाएको दायाँ/बायाँ जुत्तामा रहेको सुन जस्तो देखिने २/२ थान बिस्कुट र खातीले लगाएको दायाँ/बायाँ जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १/१ थान बिस्कुट गरि जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए।  

उनका अनुसार खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र रहेको सुनको जस्तो देखिने तिलहरी थान १, बाला थान १, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

बरामद गरिएको सुन र पक्राउ परेका ब्यक्तिलाई बाँके प्रहरीले शुक्रबार राती नै सार्वजनिक गरेको छ। प्रहरी नियन्त्रणमा रहेका खाती र विश्वकर्माले उक्त सुन आफ्नै रहेको बयान दिएका छन्।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सहजै प्रवेश गरेर उनीहरु नेपालगन्ज आइपुगेका हुन्। यो घटनाले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको सुरक्षामाथि नै प्रश्न उठेको छ।

प्रकाशित: १८ भाद्र २०७८ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App