७ वैशाख २०८१ शुक्रबार
समाज

पर्वतमा पहिरोमा पुरिएर ज्यान जानेको संख्या दश पुग्यो, एकजना बेपत्ता (अपडेट)

पर्वत सदरमुकाम कुश्मा नजिकै राजमार्गमा खसेको पहिरो । तस्बिरः नागरिक

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित दशजनाको ज्यान गएको छ । त्यस्तै पहिरोले घर पुरिँदा अरु एकजना बेपत्ता भएको पनि प्रहरीको भनाई छ ।  

विहीबार रातीको भीषण वर्षापछिको पहिरोले पर्वतका ठाउँठाउँमा पहिरो निम्त्याएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेका अनुसार कुश्मा नगरपालिका–३, दुर्लुङमा स्थानीय माधव पौडेलको घर पहिरोले पुर्दा उनकी ७५ वर्षिया आमा कौशिल्या पौडेल, ३५ वर्षिया श्रीमति भगवती पौडेल, छोरीहरु १६ वर्षकी विमला, ११ वर्षकी विनिता र छोरा ९ वर्षका बिनोदको ज्यान गएको हो । भगवती र बिनोदको शव अवेर मात्र फेला परेको थियो । माधव भने बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोले उनी जोगिएका छन् ।  

त्यस्तै कुश्मा ११ सिल्मेमा पनि पहिरोले घर पुरिँदा ३८ वर्षिया दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेलको ज्यान गएको छ । मोदी गाउँपालिका–७ राम्जाकी दुर्गा आफन्तकहाँ पाहुना बनेर सिल्मे आएकी थिइन । राती सुतेको कोठामा माथिबाट झरेको पहिरोले पुरिएको आमाछोराको ज्यान गएको डिएसपी घलेले बताए । त्यस्तै मोदी गाउँपालिका–५ अम्मोटकी ५ वर्षिया फुलमाया थापाको पनि पहिरोले पुरिँदा ज्यान गएको डिएसपी घलेले जानकारी दिए ।  

त्यस्तै कुश्मा–११ पकुवामा पनि पहिरोले घर पुरिएर अरु दुईजनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् । पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीका अनुसार स्थानीय मायाकुमारी पौडेलको घर पहिरोले पुरिँदा ४० वर्षिया माया र उनका तीनवर्षिय छोरा प्रयुशु पौडेलको मृत्यु भएको छ । मायाकी सासु ७० वर्षिया डल्ली पाध्या पौडेल भने बेपत्ता रहेको अधिकारीले जानकारी दिए । पाध्याको अहिले खोजी भईरहेको उनले बताए ।  

पर्वतका प्रहरी प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार घरमाथिबाट झरेको पहिरोले सबैतिर क्षति गरेको हो । उनका अनुसार विहीबार बेलुकीदेखि त्यहाँ भीषण वर्षा भएको थियो । मध्यरातमा मस्त निद्रामा रहेको बेला एकाएक माथिबाट पहिरो खसेर घर पुरेको बुढाथोकीले बताए । ‘भीषण वर्षा भएको थियो । पहिरोले घर पुरिँदा उनीहरु सुतेकै ठाउँमा पुरिएका थिए,’ बुढाथोकीले भने, ‘अधिक वर्षाले क्षति ग¥यो ।’ 

प्रकाशित: १८ भाद्र २०७८ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App