२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पक्राउ पर्दै अस्पतालका बिचौलिया

मोरङ प्रहरीले स्वास्थ्य क्षेत्रमा रहेका बिचौलियालाई धमाधम पक्राउ गर्न थालेको छ। विराटनगरका विभिन्न अस्पतालको आसपासमा बसेर बिचौलियाको काम गर्दै आएका थप ५ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

विशेष गरी विराटनगर बाहिरबाट उपचार गराउन आएका बिरामी र उनीहरुका आफन्तलाई बिचौलियाले दुःख हैरानी दिने गरेको पाइएपछि यस्तो कार्यमा संलग्न भएकाहरुको खोजी गरी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ।

विराटनगर– ८ का २१ वर्षीय सुनील राय, विराटनगर–११ का २२ वर्षीय रोहित साह र २० वर्षीय विवके साह छन् भने सुनसरीको इनरुवा–१ २० वर्षीय विनोद मेहता तथा सप्तरी राजविराज–९ का २३ वर्षीय सारन्सकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्ता बिचौलियाले अस्पताल आसपास बसेर यहाँ राम्रो डाक्टर छैन। यहाँको ‘त्यो’ डाक्टरको सरुवा भइ सकेको छ। यस अस्पतालमा कोरोना छ, उपचार राम्रो हुँदैन जस्ता भ्रममा पारेर आफ्नो नियन्त्रण लिने गरेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘विभिन्न झुठो अफवाह फैलाई, बिरामीलाई झुक्याएर आफ्नो सम्पर्क भएको क्लिनिक र औषधि पसलबाट औषधि खरिद गर्न बाध्य बनाउने गरेका छन्।’ मोरङ प्रहरीले यस अघि दुई पटक गरेर १२ जना बिचौलियालाई पक्राउ गरी सकेको छ।  

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद सजाय ठहर भई फरार भएका दुई जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। फरार रहेका मोरङको बेलबारी १ का ३१ वर्षीय धर्मराज पोखरेल र विराटनगर–१२ का २९ वर्षीय कृष्ण राजवंशी भन्ने कृष्णप्रसाद ताजपुरियालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

पक्राउ परेको दुवै जनालाई मोरङ जिल्ला अदालतबाट २०७३ फागुन २२ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भएको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक काराबाहीका लागि अदालतमा पेश गरेपछि अदालतको आदेशमा कारागार चलान भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७८ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App