१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निरन्तर वर्षाले उदयपुरको जनजीवन प्रभावित

लिमचुङबुङ ५ स्थित खक्युँ खोलामा बोकेर मोटरसाईकल तार्दै स्थानीय युवा। तस्बिर: महेश्वर/नागरिक

केहीदिनयताको निरन्तर वर्षाले उदयपुरको जनजीवन प्रभावित पारेको छ। दिनहुँजसो भईरहेको वर्षाका कारण आन्तरिक सडकहरु भत्के बिग्रेर सदरमुकामदेखि अन्य स्थानीतहबीच आवतजावतमा समस्या उत्पन्न भएको छ भने नगर गाउँपालिकाहरुका आन्तरिक सडकहरु अवरुद्ध हुन पुगेका छन्। खासगरी पहाडी भेगका सडकहरु सबैजसो बिग्रे भत्केर यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ। दिनहुजसो पानी परिरहेकाले समथर भेगमा डुबान र कटानको समस्यासँगै स्थानीय खोला खहरेहरुमा आएको बाढीले आउजाउमा पनि बाधा उत्पन्न भएको छ। वर्षाकै कारण कृषकलाई लगाएको बालीनाली स्याहारसुसार र गोडमेलमा अवरोध खडा भएको छ।

यसवर्ष भदौ लागेदेखि निरन्तरजस्तो वर्षा भईरहेको छ। प्रत्येक दिन ३–४ घण्टा अनिवार्य पानी पर्ने गरेको छ। वर्षाका कारण पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका आन्तरिक सडक सञ्जालमा यातायात सञ्चालन हुन सकेको छैन। गाउँपालिकाहरुको लगानीमा बनेका आन्तरिक सडकहरु पहिरो गएर भत्केका छन् भने कतिपय ठाउँ पुरिएर सवारी आवागमनमा अवरोध आएको छ। आन्तरिक सडकभित्र पर्ने स्थानीय खोला खहरेमा आउने बाढी तर्न नसक्दा बाँसको सहाराले तर्ने गरेका छन् भने मोटरसाईकल बोकेर तार्ने गरेका छन्।

सदरमुकामसँगे पहाडी भेगलाई जोड्ने मुख्य नाका गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क–बाराहा सडक दर्जनौ ठाउँ भत्केका कारण केहीदिनयता आउजाउ रोकिएको छ। सो खण्डको पुँवारेदेखि माझखर्कसम्मको सडक खण्ड उत्तरीभेगका भूभागलाई जोड्ने मुख्य सडक भएकाले सामान्य अवरोध हुँदा पनि जिल्लाका अधिक जनता प्रभावित हुने गरको छन्। बिकल्पको रुपमा पूर्वमा गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग र पश्चिममा मिर्चया–कटारी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग प्रयोग गर्ने गरिए पनि धेरै घुमाउरो भएकाले मध्यमार्ग गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क नै हो। वर्षेनी स्थानीयतह, प्रदेश र संघले लगानी गरेर मर्मत र स्तरोन्नति गर्दै आए पनि यो सडकको प्रगति भने हुन नसकेको यातायात व्यवसायी बताउँछन्।  

उदयपुर वर्षायाममा बाढी र पहिरो दुवैको पीडा भोग्ने जिल्लाहरुमध्ये एक हो। ७० प्रतिशत भूभाग पहाडी र ३० प्रतिशत भित्री मधेस र तराई रहेको जिल्ला सदरमुकाममा मात्र त्रियुगा नदीदेखि बरुवा, लुहाले, असारी, कङ, सरस्वति, काली खोला तथा अन्य आधादर्जन हाराहारी चुरे जंगल मुहान भएका ससाना खहरेहरु छन्। हिउँदयाममा त्रियुगा र बरुवाबाहेकमा पानी नदेखिने भए पनि सामान्य वर्षामै ससाना खहरेमा समेत क्षति गर्नेखालका बाढी आउने गरेकाले स्थानीय पीडित हुँदै आएका छन्। त्रियुगा र बरुवामा वर्षेनी बाँध बाँध्ने क्रम चलिरहेकाले कम क्षति हुने गरे पनि बाँकी खोलाहरुले कटान र डुबानको समस्या वर्षेनी निम्त्याउने गरेका छन्।  

पूर्वीभेगका चौदण्डीगढी र बेलका नगरपालिकामा पनि उत्तिकै संख्यामा साना ठूला खोला खहरेले स्थानीयलाई पिरोल्दै आएको छ। द्वार खोला, लामा, बसाहा, बँदेलपानी ज्यामिरे, इक्राहाजस्ता खोला खहरेले व्यापक क्षति गर्नुका साथै गाउँलेलाई आउजाउमै समस्या पार्दै आएको छ। यी सबै खोला मदन भण्डारी लोकमार्गले छिचोल्नुपर्ने भएकाले द्वार खोला, बसाहा र बँदेलपानी खोलामा पुल बनिसके पनि अन्यमा पुल नबनेकाले लोकमार्गको यात्रामा पनि समस्या आउने गरेको छ।  

खासगरी ज्यामिरे र इक्राहा खोला तथा बँदेलपानीमा पुल बनाउँन बाँकी भएको र सामान्य वर्षामा पनि बाढीको रुप लिने भएकाले लोकमार्गमा चल्ने दुईपाङ्ग्रे र साता खाले चारपाङ्रग्रे यातायातलाई रोक्ने गरेको छ। चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार बजारसँग जोडिएको द्वारखोलामा दशकअघि नै पुल बनिसकेको छ भने लामा खोलामा पक्की पुल निर्मार्णाधीनमा रहेको र काम चलाउ फलामे पुल बनाएर हलुका सवारी साधन आउजाउ भईरहेको छ। तर, लोकमार्गभन्दा भित्री भेगमा यी खोलाहरुले स्थानीयलाई निकै पिरोलेको र नगरपालिका केन्द्रसम्म आउजाउमा अवरोध गर्ने गरेको जनप्रतिनिधि बताउँछन्।

बेलका र कटारी नगरपालिकामा पनि वर्षाले नगरबासीलाई सताएको छ। चुरे महाभारत जंगलसँग जोडिएका खहरेहरु १ घण्टा वर्षा भयो भने उर्लेर बाढी आउने र डुबान र कटान गर्ने समस्या भएको स्थानीय बताउँछन्। बेलकामा गिनेरी, सुपाडे, सेती, काली, डुडुवा, बबला खोला खहरेहरु वर्षायाममा स्थानीयका लागि अभिसाप बन्दै आएका छन्। आवश्यक तटबन्ध बाँध्न नसकेको तथा वर्षेनी र्ढुगा गिटी बालुवा निकाल्ने गरेकाले पनि सामान्य वर्षामै खोला खहरेले क्षति गर्ने गरेको स्थानीयको भनाई छ। 

प्रकाशित: १७ भाद्र २०७८ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App