२ असार २०८१ आइतबार
image/svg+xml
समाज

आठसय घरधुरी चेपाङलाई खाद्यान्न वितरण

चेपाङ परिवारलाई खाद्यान्न बितरण गर्दै व्यवसायी खत्री । तस्विर ः नागरिक

पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।  

उनी संस्थापक रहेका सम्भव नेपाल नामक संस्था मार्फत मंगलबार उनले कोभिड–१९ बाट प्रभावित चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । ‘कोरोनाका कारण कामवीहिन भएका चेपाङ परिवारलाई केही छाक खानका लागि खाद्यान्न दिएका हौं,’ उनले भने ‘गाउँपालिकाको आग्रह र समन्वयमा समाजमा पछाडी परेका, आर्थिकस्तर कमजोर भएका समुदायलाई सहयोग गरेका हौं ।’ खाद्यान्न वितरण गर्दै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनले बताएका छन् ।  

गण्डकी गाउँपालिका गोरखाको सबैभन्दा धेरै चेपाङ बस्ती रहेको स्थानीय तह हो । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन् । ‘पहिले गिठ्ठा–भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ समुदायका लालबहादुर चेपाङले भने ‘खेती गर्ने जमिन छैन, दुई–तीन महिना पुग्ने खेती उब्जाउन पनि मुस्किल पर्छ ।’ सम्भव नेपालले दिएको एकबोरा चामल, तेल, दाल, नुन पाएपछि खुसी हुँदै उनले भने ‘केहीदिन भएपछि छाक टर्ने भए, भात खान पाउने भए ।’

उनको मात्र होईन त्यस क्षेत्रका अधिकाशं चेपाङको मुस्किलले तीन देखि पाँच महिनालाई पुग्ने मकै हुन्छ । धेरै सन्तान भएको घरमा दुई महिना मात्रै खान पुग्ने उब्जनी हुन्छ । उनीहरु पृथ्वीराजमार्ग छेउमा झरेर दैनिक ज्याला मजदुरी गर्दै गुजारा गर्छन । ‘कोरोनाका कारण बजार, यातायात बन्द हुँदा चेपाङहरुको रोजगारी गुमेको छ’ गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘सम्भव नेपाललाई अनुरोध गरेर पालिकाको समन्वयमा खाद्यान्न बितरण भएको हो ।’ बिपन्न र पछाडी परेका चेपाङ समुदायमा सहयोग र विकासका लागि गाउँपालिकाले पनि निरन्तर सहयोग गर्दै आएको उनले बताए ।  

‘समाजमा पछाडी परेका र पारिएका चेपाङहरुलाई गुजारा चलाउन ठुलो माात्रामा एकै पटक सहयोग गरिएको छ’ चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले भने । चेपाङ समुदायमा अहिले पनि छाक टार्नको समस्या भएकाले सम्भव नेपालका अध्यक्ष खत्रीले जस्तै सहयोग सबै पक्षबाट हुनु जरुरी रहेको उनले बताए ।  

एकै ठाउँमा भिड धेरेहुने भन्दै गाउँपालिका र वडा कार्यालयले बिभिन्न पाँच ठाउँमा खाद्यान्न बितरण गरेको थियो । सम्भव नेपालले गोरखाको आरुघाट गाउँपालिका मान्वुमा छात्राबास भवन निर्माण, विभिन्न पालिकामा विद्यार्थीलाई विद्यालय पोशाक, कोभिड माहामारीले आक्रान्त बनाएका बेला गोरखाका स्थानीय तहलाई औषधी र उपकरण सहयोग, गोरखामा छ वटा एम्बुलेन्स बितरण लगायतका सामाजिक काम गर्दै आएको छ ।  संस्थाका अध्यक्ष खत्री गोरखाको आरुघाट गाउँपालिका आरुपोखरीका हुन् ।  

प्रकाशित: १५ भाद्र २०७८ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App