४ कार्तिक २०७८ बिहीबार
समाज

समृद्धिको पर्व गौराः भित्र्याइयो गौरा, खेलिँदै देउडा

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज गौराको प्रतिमूर्ति भित्र्याइएको छ। भाद्र शुक्ल सप्तमी अर्थात् आजकै दिन गौरालाई खेतबाट गौराघरसम्म भित्र्याइएको छ। आज साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाई गौरा घरमा भित्र्याइएको हो। गौराको प्रतिमूर्तिलाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याएर भित्र्याइएका छन्।  

गौरा आर्थात् शिवकी पत्नी, हिमालयकी छोरीलाई बुझिन्छ। गौरीले कडा उपासना गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा यस क्षेत्रमा गौरा मनाइँदै आएको छ। ‘गौराका विषयमा पुराणग्रन्थमा अनेकौँ आख्यान–उपआख्यान उल्लेख छन्,’ डोटेली संस्कृतिमा विद्यावारिधि डा. बद्री शर्मा बिनाडी भन्छन्, ‘ती आख्यान–उपआख्यानको सन्देश भनेको गौराको ब्रत बसेर वंशबृक्षको निरन्तरता, सन्तानको दीर्घायू र सुख समृद्धिका साथै सौभाग्यको प्रतीक पतिको दीर्घायूको कामना हो।’ 

गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ। सो दिन विरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात हुन्छ। औँसीमा गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिपदामा लिपपोत गर्ने, द्वितीया/तृतीयामा ब्रतालुले लत्ताकपडा धुने/नुहाउने र चतुर्थीमा विरुडाका लागि गेडागुडी केलाउनेलगायतका काम गरिन्छ। विरुडा पञ्चमीमा भिजाएका विरुडालाई षष्ठीका दिन पखालिन्छ। ती विरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।

सप्तमीका दिन गौरालाई खेतबाट गौरा घरसम्म भित्र्याउने गरिन्छ। सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाउने चलन छ। गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गर्छन्। अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ। गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। यसै दिनदेखि ठाउँ–ठाउँमा देउडा समेत खेलिने प्रचलन रहिआएको छ। सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ। पाँच रातसम्म गौरा घरमा देउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।

भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौमा रौनकता थपिने गर्छ। सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह बिसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ। त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा रहेको गौरामा विद्यावारिधि गरेका डा. टीएन जोशी बताउँछन्। यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। 

यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ लगाउने चलन छ। गौरामा महिलाहरूले ग्रहण गर्ने दुब–धागोको महत्व पुरुषले लाउने जनैसरह नै हुन्छ। ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन्। दुब–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातओटा गाँठोको डोरा) भनिएको छ। शास्त्र अनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुब–धागो पहिरिनुपर्छ भनिएको छ।

गौरापर्व डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन्। ‘गौराको ब्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास यस क्षेत्रका बासिन्दा गर्छन्। डा. आर.डि. प्रभात चटौतको डोट्याली बृहत शब्दकोषमा पनि हिमालय राजाले छोरी पार्वतीको विवाहका लागि अमुक्ताभरण सप्तमीका दिन महत्वपूर्ण तिथि भएकाले त्यसैको सम्झना स्वरुप गौरा पर्व मनाइने गरिएको उल्लेख गरिएको छ।

गौराको धार्मिक तथा सांस्कृतिक रुपमा ठूलो मान्यता रहेको जानकारहरु बताउँछन्। ‘गौरा विशुद्ध धार्मिक आनुष्ठानिक पर्व हो,’ डा. बिनाडी भन्छन्, ‘सुदूरमा मनाइने अन्य पर्वहरुको सामाजिक मान्यता बढी छ। तर, गौरा धार्मिक र सामाजिक दुवै किसिमले महत्वपूर्ण छ।’ दसैं तिहारभन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाएपछि मात्र ल्याउन पाउँछन्।

गौरा यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीय बताउँछन्। गौरामै देश विदेशमा गएकाहरू समेत फर्केर घर आउने प्रमुख पर्व पनि मानिन्छ। पर्वमा एक आपसमा हात जोडेर डेउडा खेलिने भएकोले पनि आपसी सद्भावको पर्वका रुपमा गौरालाई लिइने गरिएको पण्डितहरू बताउँछन्। गौरा पर्वमा बनाइएका बिरुडालाई प्रसादको रुपमा बाँड्नुका साथै गौरामा घर आउन नसकेका आफन्तलाई समेत पठाउने गरिन्छ। यस पर्वमा चैत, भागेश्वरको ढुस्को, धुमारी, तुलसीका गीत तथा विभिन्न देउडा गीत गाएर खेल खेल्ने गरिन्छ। गौरा पूजा (अष्टमी) देखि नै देउडा खेल्ने चलन रहेको छ। सुख–दुःख, हाँसो–रोदन, हर्ष–विस्मात, माया–प्रेम, समसामायिक परिस्थिति, विकृति विसंगति देउडामा व्यक्त हुने गरेको धारणा सुदूरपश्चिमेलीहरू राख्छन्। गौरा र देउडा पर्वले आपसी भाइचारा, शान्ति, समृद्धि, सह–अस्तित्व तथा सद्भावको सूत्रमा बाँध्ने गरेको छ।

गौरालाई सुदूरपश्चिममा ठाउँ अनुसार ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ पनि भन्ने गरिन्छ। यी सबैको अर्थ पार्वती नै रहेको जानकारहरू बताउँछन्। गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौंदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको जानकार तर्क गर्छन्। कथनअनुसार पनि गौराले यस क्षेत्रको लोकसंस्कृति, लोकसाहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र वेशभूषाको प्रस्तुति गर्ने थलो हो। यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन। यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध देउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन्। 

यस क्षेत्रको कला, संस्कृति, वेशभूषाको अध्ययन गर्न चाहनेहरूका लागि गौराको समय महत्वपूर्ण रहने गर्छ। गौरामा महिला नै ब्रत बस्छन्, तर पुरुष तथा बालबालिकाले पनि गौरालाई उत्तिकै महत्व दिन्छन्। गौराका समयमा ब्रतालुका घरमा माछा, मासु, मसुरोको दाललगायत परिकार बर्जित गरिन्छन्। गौरा समाजमा सात्विक विचार भावनाको विकासमा समेत सहयोग पुर्‍याउने पर्व रहेको जानकारहरू बताउँछन्।

गौरामा खासगरी पौराणिक कथा, धर्म ग्रन्थ र भगवान्का वीर गाथाका बारेमा हात जोडेर गोलबद्ध भई चैत धमारी खेल खेल्ने गरिन्छ। तर, पछिल्लो समयमा भने गौरा पर्वमा युवायुवतीहरू देउडा खेलमा रमाउन थालेका छन्। अहिले गौरा पर्वको प्रमुख आकर्षण देउडा भएको छ। त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन थालिएको छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन्।

गत वर्षदेखि कोरोनाका कारण गौरा पर्वका समयमा देउडाप्रेमीहरुले जमघट भई देउडा खेल्न पाएका छैनन्। तर, पनि थोरै मानिस जम्मा भएर गाउँघरतिर भने देउडा खेल्दै आएका छन्।  

सुदूरपश्चिममा मात्र नभई अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ। बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडा सबैको आकर्षण बन्ने गरेको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने सुदूरपश्चिम क्षेत्र बाहेकका पनि देउडामा रमाउने गर्छन्  यो पर्व सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँबस्ती, कुमाऊँ, गडवालमा समेत धुमधामका साथ मनाइन्छ।

आजदेखि सुदूरपश्चिमका गाउँबस्ती देउडामा झुम्न थालेका छन्। कोरोनाका कारण भिडभाडमा केही सजगता अपनाइए पनि समूह बनाएर गाउँगाउँमा देउडाको प्रतिस्पर्धा चल्नुका साथै पुराना संस्कृति मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, वनडेउडा गुञ्जयमान हुन थालेका छन्। गौरामा वृद्धवृद्धा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीतमा मस्त रहन्छन् भने युवायुवती वन देउडा र माया प्रेमका दोहोरी देउडामै झुमिन्छन्।

प्रकाशित: १३ भाद्र २०७८ २१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App