१४ माघ २०७८ शुक्रबार
समाज

कोभिडले बदलिएको सशस्त्र प्रहरीको पहिचान

एक वर्षअघि सम्म सशस्त्र प्रहरी पोशाक देख्ने बित्तिकै नागरिक डराउँथे। सशस्त्र प्रहरी बल प्रयोग गर्न बाहेक अन्य बेला क्याम्प बाहिर निस्कदैनन् भन्ने मान्यता थियो। भिड नियन्त्रण गर्ने,सीमा सुरक्षामा खटिने भएकोले नागरिकबीचको सम्बन्ध खासै हुदैन थियो। 

तर, कोभिड १९ ले सशस्त्र प्रहरीको पहिचान बदलेको छ। अहिले सशस्त्र प्रहरी नागरिकको भरोसा बनेका छन्। नागरिकको संकटको सारथी बनेका छन्। अहिले सशस्त्र प्रहरी देख्ने बित्तिकै नागरिकले आफ्ना समस्या सहजै दर्शाउँछन्। कार्यशैलीमा पनि निकै फेरबदल आएको छ। पहिले फौजी भाषा बोले जस्तो अनुभूति गर्ने स्थानीय अहिले नम्र भएर बोलाएको आभाष गर्छन्।  

स्थानीय जीवनबहादुर बुढा सशस्त्र प्रहरी अहिले नागरिक सम्बन्ध विस्तारमा सफल भएको बताउँछन्। उनले भने,‘सशस्त्र प्रहरी लाठीचार्ज गर्न र द्वन्द्वमा मात्र प्रयोग हुन्छ भन्ने भ्रम हट्यो। अब सशस्त्र प्रहरी नागरिकसंग सुमधुर सम्बन्ध स्थापित गराउन सक्षम भइसकेको छ भन्ने प्रमाणित गर्दैछ। सशस्त्र प्रहरी नागरिकबीचमै छ भन्ने सन्देश फैलाउन सकिरहेको छ। ’

पहिलो पटक कोरोना बुझेका थिएनौँ। जताततै अन्यौल थियो। मास्क सेनिटाइजरको व्यवस्थापन थिएन। नागरिकलाई जहाँ अनुकुल हुन्छ, त्यही बस्न सुझाइयो। कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई बचाउनको लागि माइकिङ गरियो, सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गगन श्रेष्ठले भने, ‘कोरोना कहरबीच नागरिकको साथमा रहेर काम गर्न पाउँदा निकै खुसी लाग्यो। कोरोना संकटमा नागरिक र सशस्त्र प्रहरीबीचको सम्बन्ध सुमधुर बन्यो। अहिले सशस्त्र प्रहरी गस्तीमा निस्कदा स्थानीयले भरोसा मान्छन्। बाटोमा भेट्दा गुनासा सुनाउँछन्। सुख दुख साटासाट गर्छन्। यही नै सन्तुष्टीको विषय हो। ’

कोरोनाको पहिलो लहरमा संक्रमितलाई क्वारेन्टिनमा राख्न निकै चुनौति थियो। संक्रमित क्वारेन्टिनमा लैजान खोज्दा सडक बन्द गर्ने,आक्रोश पोख्ने काम भयो। तर सशस्त्र प्रहरीले बल प्रयोगको अवस्था कहिल्यै निम्त्याएनन्। सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘त्यो बीचमा बल प्रयोग गर्न सक्ने अवस्था थियो। तर बल प्रयोग नै सबथोक होइन भन्ने सम्झियौँ। संक्रमित र संक्रमितको आफन्तजनलाई संयमित हुन सम्झायौँ। बुझायौँ। पछि नागरीक आफै सचेत बने।’

सशस्त्र प्रहरी कोभिड १९ संकट व्यवस्थापन समितिको सदस्य हो। बैठक बस्दा नागरिकको स्वास्थ्य सुरक्षाकालागि पनि चिन्तित भएर प्रस्तुत हुन्थ्यो। पहिलो लहरमा पालिका स्तरमा क्वारेन्टिन बने। तर हरेक हिसावले प्रभावकारी देखिएन। जिल्ला स्तरको एकिकृत क्वारेन्टिन बनाउनु पर्ने प्रस्ताव नै सशस्त्र प्रहरीले लिएको एसपी श्रेष्ठ बताउँछन्।  

सशस्त्र प्रहरीले निकै उदाहरणीय कार्य गरेको स्थानीय बताउँछन्। अहिले जनताको सुखदुखमा सशस्त्र प्रहरीको साथ रहन्छ। सहजै रुपमा गुनासा राख्न सकिन्छ। सशस्त्र प्रहरी पनि आफ्नै भाइछोरा हो भन्ने भावनाको विकास भएको छ। दोस्रो लहरमा मानवीय क्षेति हुन थाल्यो। संस्थागत आइसोलेसन बनाउनु पर्ने भयो। दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण रणनीति बनाउने, अनुगमन गरेर देखिएका समस्या निराकरण गर्ने, कोरोना परीक्षणका लागि नागरिकलाई सचेत पार्ने काममा अग्रसर बन्यो।  

अहिले सदरमुकाम खलंगाको बालमन्दिर नजिकै सशस्त्र प्रहरीको व्यवस्थापनमा मास्क बैंक सञ्चालनमा छ। मास्क नलगाएका नागरीकलाई सशस्त्र प्रहरीले मास्क उपलब्ध गराउँछ। त्यही भएर होला सशस्त्र प्रहरी गस्तीमा निस्कदा नागरीकले माया देखाउँछन्। सुरक्षा फौजमाथिको माया थपिएको आभाष हुन थालेको छ। जनता प्रति नजिक रहेर बढी जवाफदेही बनेकोे अनुभुति गर्न थालेको सशस्त्र प्रहरी बल बताउँछ। भारतबाट आउनेको तथ्यांक पनि सशस्त्र प्रहरी संग हुन्थ्यो। त्यही अनुसार जिल्ला भित्रिने मानिसको पत्तो हुन्थ्यो। रुपैडिया र गड्डाचौकीबाट आउने जुम्लाबासीको हर हिसाव हुन्थ्यो।

कालिकोट हुँदै जुम्ला भित्रिनेको संख्या झण्डै दैनिक ७० हुन्थ्यो। सशस्त्र प्रहरी जुम्ला कालिकोटको सीमाना मै बसेर हेल्थ डेस्कमा चेकजाँच गर्दा पोजेटिभ देखिएमा सम्बन्धित स्थानीयतहलाई बुझाउन लैजान्थ्यो। सदरमुकाम खलंगामा कोरोना महामारीबाट जोगिनको लागि सचेतनाका क्रियाकलाप अहिले पनि गरिरहेको छ।  

मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गरेर सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न आग्रह गरिरहेको छ। सचेत गर्दा पनि अटेर गर्ने झण्डै तीन सय जनालाई कार्वाही समेत गर्यो। कार्वाही गरेकाहरुबाट झण्डै ३० हजार रुपैयाँ राजश्व संकलन भएको थियो। ’

अहिले मास्क बैंकबाट दैनिक २ हजारदेखि २५ सयसम्म मास्क वितरण भइरहेको छ। मास्कको जोहो गर्न पनि पहल गरिरहेको छ। बालबालिका र बृद्धाबृद्धालाई केन्द्रीत गरेर मास्क लगाउने कार्यले अनुशासन सिकाए जस्तो अनुभूति भईरहेको छ। पछिल्लो समयमा कोरोनाको तेस्रो लहरका बारेमा सचेतना दिने कार्य भइरहेको छ। उनका अनुसार सशस्त्र प्रहरीले मात्र २० हजार मास्क बाँडेको छ।  

कोरोना परीक्षण गर्न नमान्ने, कोरोनालाई सामान्य रुघाखोकी ठान्ने गरिएको थियो। कन्भिन्स गरेर परीक्षण गराउन आग्रह गरियो। स्थायी कोभिड एम्बुलेन्स र शववहान नहुँदा अहिले सम्म समस्या नै छ। कोरोना रोकथाम तथा नियन्त्रणकालागि योजना र रणनीति चाहिन्छ। राहतको प्याकेजले काम गर्दैन भन्ने मान्यता सशस्त्र प्रहरीले स्थापित गर्यो।  जतिबेला कुनै स्रोत साधन थिएन। उतिबेला निषेधाज्ञा नै उत्तम विकल्प थियो।  

सचेतना नै ठुलो कुरा थियो। कोरोना संक्रमण हुनु भन्दा संक्रमण हुन नदिनु नै ठुलो कुरा थियो। त्यो बेला जुम्ला कालिकोटको सीमानामा चेकप्वाइन्ट राख्नुपर्छ भन्ने प्रस्ताव पनि सशस्त्र प्रहरीको थियो। सशस्त्र प्रहरी बल नं. ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाले कोरोना कहरमा पुर्याएको योगदान स्मरणीय हुने जुम्लाबासी बताउँछन्।  

यहाँ आगलागी,चटयाङ,बाढीपहिरो, सडक अवरोध जस्ता विपदका घटना भइरहन्छ। अन्यत्र आगलागी हुँदा एकदुई घर जल्छन्। यहाँ गाउँ नै नष्ट हुने संभावना हुन्छ। किनकी घरवरिपरी परालको कुन्यु राख्ने चलन छ। विपद प्रकोपबारे स्थानीयतह संग समन्वय गरेर सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्लाको पातारासी गाउँपालिका संग समन्वय गरेर सशस्त्र प्रहरीले विपद् प्रतिकार्य तालिम दिईएको थियो। अब कोरोना कहर सामान्य भएको खण्डमा विद्यालयमा जाने विपद प्रतिकार्य पूर्व तयारीबारेको अनुभव आदानप्रदान गर्ने तयारी थालेको छ।राष्ट्र निर्माण, राष्ट्रिय सुरक्षा,उत्तरदायित्व,सशस्त्र प्रहरी के हो ? भन्ने बारेमा बुझाई साटने सशस्त्र प्रहरीको योजना छ।  

सशस्त्र प्रहरीले हाल सीमा सुरक्षा,सीमामा हुने अपराध नियन्त्रण,प्रकोप नियन्त्रण र आन्तरिक द्वन्द्व व्यवस्थापनको कार्य गर्दै आइरहेको छ। अब जनसम्बन्ध सुमधुर बनाउन पनि सक्रिय रहेको छ।  गत वर्षदेखि जुम्लामै सशस्त्र प्रहरीको भर्ना छनौट हुने गरेको छ। यो जुम्लाबासीको लागि ठुलो अवसर थियो। यसले फौजी प्रति विश्वास बढायो। मुगु,कालिकोट र जुम्लाका  १ हजार २ सय ६० जनाले दरखास्त दिएका थिए।  

एसपी श्रेष्ठले विकास र सुरक्षालाई संगसंगै लिनु पर्ने बताए।  सडक मानवको उद्धारसंगै संस्कार र संस्कृति संरक्षणमा पनि सशस्त्र प्रहरी उत्तिकै प्रतिबद्ध छ। २०६२ सालदेखि जुम्लामा सशस्त्र प्रहरीले आफ्नो युनिट राखेर काम गरिरहेको छ। २०६४ सालमा डिएसपी भएर जुम्ला आएका एसपी श्रेष्ठले भने, ‘कर्णाली राजमार्ग स्तरउन्नती र जिल्ला अस्पताललाई अञ्चल अस्पतालमा स्तरउन्नती गर्न पनि सुरक्षा समितिमा रहेर सशस्त्र प्रहरीले पहल थालेको थियो।  

पहिले सशस्त्र प्रहरीले विमानस्थल सुरक्षाको जिम्मेवारी लिएको थियो। बिरामी बेस्सरी आउँथे। एकै दिनमा २७ उडान भर्थे जहाजले। प्रत्येक उडानमा दुईदुई जना बिरामी सिट तोकिएको हुन्थ्यो। बिरामीलाई स्टेचरमा राखेर जहाजमा चढाउनेसम्मको काम सशस्त्र प्रहरी गरिरहेको थियो। बिरामीको संख्या बढिरहेको हुन्थ्यो। टिकट सहजै पाउथेनन्। आन्दोलन हुन्थ्यो टिकट लिनकै लागि। टिकट व्यवस्थापन ठुलो समस्या थियो। त्यो बीचमै बिरामीको व्यवस्थापन गरेको अनुभव एसपी श्रेष्ठको छ।  

१४ वर्ष पछि जुम्ला आइपुगेका श्रेष्ठ जुम्लामै रहँदा २०७७ पुुस १५ गते एसपीमा बढुवा भएका छन्। उनले नेतृत्व गरेको गण अहिले जनताको नजरमा निकै राम्रो देखिएको छ। जनता र सुरक्षाकर्मी बीचको सम्बन्धले मात्र स्थायी शान्ति सम्भव हुने भएकोले जनमैत्री कार्यमा लागेको उनी बताउँछन्।  

प्रकाशित: १३ भाद्र २०७८ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App