१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बढैयातालको अपुताली जग्गा बिक्री प्रकरणः पन्छिँदै जनप्रतिनिधि

अपुताली जग्गा बिक्री भएको खुलासा भएसँगै सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि अनभिज्ञता प्रकट गर्दे पन्छिन थालेका छन्। गैर नागरिक चिरकु तेलीको नाममा रहेको २ बिघा ६ कठ्ठा जग्गा हकवाला खडा गरेर बिक्री भएको तथ्य सार्वजनिक भएसँगै गाउँपालिकाका जनप्रतिनिधिले अनभिज्ञता प्रकट गर्दे सार्वजनिक अभिव्यक्ति दिन थालेका हुन्। 

बढैयाताल गाउँपालिकाले अध्यक्ष लालबहादुर श्रेष्ठ, उपप्रमुख दिपा गौतम र ६ नम्बर वडाका अध्यक्ष राम हरष थारुले जग्गा प्रकरणमा लगाईएको झुठाे आरोप भन्दै खण्डन गरेका छन्। बढैयातालका अध्यक्ष श्रेष्ठले कार्यालयमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका आफूमाथि राजनीतिक प्रतिशोध साध्न आरोप लगाएको अध्यक्ष श्रेष्ठले खुलासा गरेका थिए।

यस्तै उपप्रमुख गौतमले निर्दोष फसाउन चलखेल गर्न केही व्यक्ति सक्रिय रहेको आरोप लगाईन्। बढैयाताल गाउँपालिकामा पर्ने २ बिघा ६ कठ्ठा जग्गा २०४३ सालदेखि दर्ता भएको थिएन। गाउँपालिकाको पहलमा उक्त जग्गा सरकारको नाममा श्रेस्ता कायम हुनुपर्नेमा गाउँपालिकाका जनप्रतिनिधि बेवास्ताले बिक्री भएको भन्दै मिलिमत्तोमा भएको हुनसक्ने आशंका स्थानीयको छ। यस्तै झुक्काएर सिफारिसमा हस्ताक्षर गराएको वडा सदस्य टोपली कमिनिले बताईन्। 

‘म त नपढेकाे नलेखेको मान्छे हुँ’, उनले भनिन्, ‘जनताको काम गर्न आएको किन नगर्ने भनेर पटक पटक दवाव दिए।’ अपुतालीको जग्गा सरकारको नाममा उजुरी गर्ने टोपलीको पति भएको स्रोतको दाबी छ। ‘टोपलीको पति नै उजुरी कर्ता भएपछि घटनाको बारेमा कोही बोल्ने नभएका कारण सिफारिसमा टोपलीलाई संलग्न गराईएको हो’, स्रोतले भन्यो।

गैर नागरिकको नाममा रहेको २ बिघा ६ कट्टा जग्गा नक्कली हकवाला कायम गरेर बिक्री गर्दासम्म मिलिमत्तोमा भएको फेला परेको हो।  

हकवाला कायम गरिएको जैनव तेलीको नाममा वडाले गरेको सिफारिसदेखि पास हुँदासम्म विचौलियाको चलखेलबाट भएको तथ्य सार्वजनिक भएको छ। अपुतालीको जग्गा पहिलो चरणमा गैर नागरिक जैनव तेलीलाई नामसारी गरेको रेर्कडले देखाउँछ । २०४३ सालमा मृत्यु भईसकेका गैर नागरिक चिरकु तेली नाममा स्रेस्ता कायम भएको जग्गा स्वतः नेपाल सरकारको नाममा हुनुपर्नेमा छलछाम गरेर हकवाला कायम गरेर बिक्री गरेपछि तथ्य बाहिर आएको थियो।  

२०६८ सालमा स्थानीयले केशबहादुर कामीले नेपालको सरकारको नाममा जग्गा हुनुपर्ने भनि जिल्ला प्रशासनमा गरेको उजुरीपछि रोकिएको जग्गा व्यत्तिको नाममा पास भएर बिक्री भएको छ। २०६८/०९/२६ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदिले हकवाला भान्जी जैनव तेलीले जग्गा धनी चिरकु तेलीलाई संरक्षण र पालन पोषण गरेको खुलाएर निवेदन उपर मुद्दा फर्छ्याैट गरेको स्रोतको दाबी छ। 

त्यसलगत्तै पुनः रोक्का रहेको जग्गा मालपोतले पटक पटक फुकुवा गर्न ताकेता गरेपछि तत्कालीन प्रजिअ लिलाधर अधिकारीले २०६८/०९/२६ गतेको निर्णयलाई टेकेर नियम अनुसार नामसारी गर्न मिल्ने वा नमिल्ने प्रतिप्रश्न गर्दे २०७७/११/१४ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्राचार गरेको पत्रमा उल्लेख छ।

नागरिक दैनिकमा ‘अपुतालीको जग्गा मिलिमत्तोमा बेचबिखन’ शिर्षकमा समाचार प्रकाशित भएपछि अपुतालीको जग्गा पास भएको जैनव तेलीले आफन्त सैजाद तेलीको नाममा पास भएको १३ कठ्ठा जग्गा बाँसगढीको अन्जना दाहालको नाममा पास भईसकेपनि रातारात जग्गा पुनः सैजाद तेलीको नाममा फिर्ता भएपछि अपुतालीको जग्गा बिक्री प्रकरण रहस्यमय बन्दै गएको थियो।  

बढैयातालको ६ जना स्थानीयले अपुतालीको २ बिघा ६ कठ्ठा मिलिमत्तोमा व्यक्तिको नामसारी गरेको भन्दै अख्तियार अनुसन्धान आयोगको सम्पर्क कार्यालय, बाँकेमा उजुरी दर्ता गरेको छ। अपुतालीको जग्गा नक्कली हकवाला कायम गरेर सरकारको नाममा स्रेस्ता कायम हनुपर्ने जग्गामा मिलिमत्तो रहेको भन्दै नाम खुलाएर आयोगमा उजुरी दर्ता गरेको हो। 

बिपक्षीमा बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायत पूर्व प्रजिअ, दलका नेता र मालपोत अधिकृत भिमबहादुर केसीको नाम खुलाएर मिलिमत्तो र किर्ते गरेको उजुरीमा उल्लेख छ। उजुरीमा गैर नागरिक चिरकुको कुनै पनि आफन्त नभएको व्यहोरा खुलाएको छ। चिरकुको नाममा भएको जग्गा स्वतः सरकारको नाममा पासपारित हुनुपर्ने उल्लेख छ। 

बढैयातालको अपुतालीको जग्गाबारेमा कागजात नियन्त्रण लिएर अनुसन्धान सुरु गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता नारायण रिसालले बताए। ‘यो अनुसन्धानको विषय भएकाले केही बोल्न मिलेन,’ उनले भने,‘आयोगको तर्फबाट अनुसन्धान भईरहेको छ।’

प्रकाशित: १२ भाद्र २०७८ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App