१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा, नारायणीले खतराको तह नाघ्यो

बिहीबारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। 

बिहीबार साँझ सेती दोभानमा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको हो। शुक्रबार पनि दिनभरी वर्षा हुँदा सो सडकखण्डमा सडक भासिएको छ।

चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन। सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

चौधकिलोमा ३८ मिटर लामो भाग भासिएको छ। बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको खनालले जानकारी दिए। 'दुई मिटर गहिराइसम्म सडक भासिएको छ', खनालले भने, 'सो ठाउँमा सडक १३-१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन।' भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उनको भनाइ छ।

सडक भासिएपछि केही समय यतायात अवरुद्ध भएको थियो, पछि सन्चालनमा आएको छ। सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ। नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ। नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिए।

सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको छ। सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा छ। नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने कायमै छ।

दिउँसो केही ठाउँमा पहिरो खस्ने र एक आधा घण्टा रोकिए पनि अहिले सडकमा अवरोध नभएको उनले जानकरी दिए। 'पानी नपरेको अवस्थामा पहिरो नझरे सडक रोकिँदैन', उनले भने।

यसैबीच निरन्तरको वर्षाले नारायणी नदीमा बाढीले खतराको तह नाघेको छ। खतराको तह पार गरेकाले सर्तक रहन प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ।

प्रकाशित: ११ भाद्र २०७८ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App