८ वैशाख २०८१ शनिबार
समाज

कालोपत्रे हुनुपर्ने गोरखा–नारेश्वर सडक हिलाम्य

गोरखा–नारेश्वर सडक खण्ड। तस्बिर: नागरिक

गोरखा सदरमुकाम देखि नारेश्वर जाने सडक हिलाम्य छ। सडक हेर्दा लाग्छ त्यो सडक हो वा खहरे खोला ! सडकमा साना सवारी साधन गुड्न सक्दैनन्। पैदल यात्रीलाई पनि हिलाम्य हुँदै हिड्नुपर्ने बाध्यता छ।  

धमाधम स्तरोन्नतीको काम हुनुपर्ने उक्त सडकमा एकमहिना यता कामदार नै देखिँदैनन्। निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका उत्तम भट्टबाट अन्य व्यवसायीले छिटो र गुणस्तरीय काम गर्न सिक्नुपर्नेमा गृहजिल्लामा उनी जिम्मा लिएको काम अलपत्र छाड्ने, ढिलो गर्नेमा परिचित छन्। 

पूर्वाधार कार्यालय गोरखाले २०७६ फागुन १४ गते रौताहापि.के/गोरखा जेभिलाई दुई वर्षमा निर्माण सक्ने गरि २५ करोड ६३ लाख रुपैयाँमा यो सडक ठेक्का दिएको थियो। १० किलोमिटर लामो गैरीकुवा–नारेश्वर सडक खण्ड पक्कि नाली सहित प्रिमिक्स कार्पेट प्रविधिबाट कालोपत्रे गर्ने सम्झौता भएको हो।  

सडक कम्तिमा गाडीहरु चल्न मिल्नेसम्म बनाउनु पर्ने हो तर मान्छे हिड्न पनि मुस्किल अवस्थामा रहेको छ । आपतकालिन समयमा एम्बुलेन्ससम्म पनि चलाउन उक्त बाटोमा सम्भव छैन। ११ करोड रुपैयाँ भूक्तानी भइसकेको कार्यालयका इन्जिनियर गणेश सुवेदीले बताए। अहिलेसम्म उक्त सडकको काम ३५ प्रतिशत सकिएको छ। कामको म्याद सकिन ८ महिना बाँकी छ भने काम सकिन ६५ प्रतिशत बाँकी रहेको सुवेदीले बताए। निर्धारित समयमै काम सक्नेमा निर्माण कार्यालय पनि विश्वस्त देखिँदैन।

निर्माण व्यवसायीले पेटी ठेक्का दिएका व्यवसायी एक आपसमा बिवाद गरेपछि अन्यौल बढेको हो । दुईमहिना दु्रत गतीमा काम भएको उक्त सडक त्यसयता कछुवा गतिमा छ । अहिले सडकमा कामदार समेत देखिँदैनन् ।  ‘रातदिन घर अगाडीको सडकमा ट्रयाक्टर फस्छ,’ गोरखा नगरपालिका–३ का बाबुराम बस्नेतले भने ‘ट्याक्सी हिड्ने बाटो कालोपत्रे हुन्छ भनेपनि अझै गाडी फस्ने अवस्था छ ।’ अहिले नारेश्वर सडक खण्डमा ट्याक्टर समेत फस्ने गरेको उनले बताए ।  

‘दुईवर्ष भयो सडकको बेहाल छ,’ उनले भने ‘दिनदिनै हिलोमा सवारी साधन लड्छ। सडकको हिलोले सवारी साधनमा यात्रा गर्नेलाई मात्र होईन, गाडी आएको देखेपछि सडक छाडेर पैदलयात्रीलाई भाग्नुपर्ने अवस्था रहेको छ।’ हिलाम्य सडकमा जोगिएर हिड्न सर्वसाधारणलाई मुस्किल छ। गोरखा सदरमुकाम भित्र कै सडकको अवस्था कन्तबिजोग भएपछि बारम्बार आउजाउ गर्नेहरु निर्माण कम्पनीसँग आक्रोशित छन्। 

कार्यालयले राम्रोसँग काम लगाउन नसकेको गुनासो पनि उनीहरुको छ।  पूर्वाधार बिकास कार्यालय गोरखाले कामको गती ढिलो भएको जनाएको छ। फागुन मसान्त सम्म सडक निर्माण पुरा गर्ने समय भएपनि अहिलेसम्म कालोपत्रको काम सुरु नै भएको छैन। 

नाली निर्माण, पार्खाल लगाउने र सडक चौडा पार्ने काम भने भएको छ।  कार्यालयका इन्जिनियर सुवेदीले भने ‘काम ढिलो भएको छ, तर धमाधम गर्ने हो भने सिध्याउन सक्ने समय छ।’ निर्माण व्यवसायीले काममा ध्यान नदिँदा समस्या भएको कार्यालयको बुझाई छ । निर्माण व्यवसायीले भने कोरोनाका कारण समयमै काम गर्न नसकेको बताएका छन् । निर्माण ब्यवशायी उत्तम भट्टले कोरोनाको संक्रमणका कारण मजदुर नपाएको, निरन्तर काम गर्न नसकिएको बताए । साथै उनले एक महिना यता वर्षातका कारण काम नभएको बताए।  

प्रकाशित: ११ भाद्र २०७८ ०७:१७ शुक्रबार

गोरखा–नारेश्वर