१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगरपालिकामा लगाईएको सिल खुकुलो पारियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय। तस्बिर: दमन/नागरिक

कोभिड–१९ को संक्रमण दर तिव्र गतिमा बढेका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लगाइएको सिल खुकुलो पारिएको छ। दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमितको दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको थियो।

१० दिनको सिलले संक्रमण दर आंशिक रुपमा नियन्त्रण भएको निष्कर्ष निकाल्दै नगरपालिकाले सभा, सम्मेलन, गोष्ठी, जुलुस, हाटबजार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा हुने भिडभाडजन्य गतिविधि बाहेक अन्य क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ।  

सिल खुकुलो पारिए पनि साँझ ७ बजेभन्दा पछि होटल, पसल लगायतका अन्य कुनै पनि ब्यबसाय सञ्चालन नगर्न/नगराउन भनेको छ। सिल खुकुलो पारिएसँगै शुक्रबार बिहानदेखि दिक्तेलबाट सञ्चालन हुने यातायातका सवारी साधन सुचारु भएको छ। सरकारी कार्यालय तथा वित्तीय कार्यालयको सेवा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सुचारु गराइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्र कोभिड–१९ को संक्रमण दर उच्च देखिएको तथा उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको भन्दै साउन २७ गतेको बैठकको निर्णय अनुसार नगरपालिकालाई १० दिनका लागि सिल गरिएको थियो। सिल गरिएको अवधिमा हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन ठप्प बनाइएको थियो।

पछिल्लो समय दिक्तेलबजारमा संक्रमण दर अधिक देखिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये हाल अधिकांश स्थानीय तहले संक्रमण परिक्षणको दायरा भने घटाएको छ। अर्कातर्फ स्वयं नागरिक स्वास्थ्य सुरक्षामा कम संवेदनसिल देखिएका छन्। भिडभाडमा जम्मा हुने, भौतिक दुरी कायम नगर्ने, मास्कको सही प्रयोग नगर्ने समस्याका कारण संक्रमणको जोखिम बढिरहेको पाइएको छ।

प्रकाशित: ११ भाद्र २०७८ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App