२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

थप १० जना बिचौलिया पक्राउ

विराटनगरका अस्पतालमा उपचार गराउन बाहिरबाट आएका बिरामीलाई ठगी गर्दै बिचौलियाको काम गर्ने थप १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

एक साता अघि मोरङ प्रहरीले बिचौलियाको काम गर्ने विराटनगरकै २ जनालाई पक्राउ गरेको थियो । बिरामीलाई ठग्दै कमिसनको लोभमा बिचौलियाको काम गर्ने गिरोहको खोजी गर्ने क्रममा थप १० लाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

यहाँको सरकारी, नाम चलेका निजी अस्पताल र क्लिनिकमा उपचार गर्न विराटनगर बाहिरबाट आएका मानिसलाई यस्ता बिचौलियाले कमिसनको लोभमा फसाउन गरेका रहेछन्, डिएसपी श्रेष्ठले बताए । उनका अनुसार विराटनगरको नोबेल शिक्षण अस्पताल छेउबाट ७ र कोसी अस्पताल नजिकबाट ३ जनालाई मंगलबार राति पक्राउ गरिएको हो।  

पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पताल नजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का १९ वर्षीय सुजित यादव र विराटनगर–५ का २१ वर्षीय समिर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का १८ वर्षीय अमित यादव छन्।  

त्यस्तै कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहबी–६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी–३ का ४२ वर्षीय मोहमद जलिद र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिरामी भएर अस्पताल पुगेकाहरुलाई उपचारका लागि जान नदिइकन निजी क्लिनिक र फार्मेसीतिर लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।  

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार कमिसनको लोभमा अस्पताल छिर्नै नदिइकन बिचौलियाले बिरामीलाई बीचैबाट आफ्नो सम्पर्कमा भएका फार्मेसी एवं निजी क्लिनिकमा लैजाने गरेको पाइएको छ । ‘कोसी अस्पताल, नाम चलेका निजी अस्पतालको छेउमा यस्ता बिचौलियाको उपस्थिति रहेको पाइएको छ,’ एसपी जिसीले भने, ‘बिरामीलाई झुक्याएर कमिसनको लोभमा स्वास्थ्य जस्तो संवेदशील कुरामा खेलवाड गर्नेलाई कानुनको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरेका छौ।’  

बिचौलियाले कोरोना महामारीको त्रास देखाउँदै र अस्पतालमा राम्रो उपचार नहुने भन्दै झुक्याएर बिरामीलाई आफू अनुकूलको क्लिनिक र फार्मेसीमा लग्ने गरेको पाइयो । ठगिएकाहरुलाई प्रहरीको सम्पर्कमा आउन र बिचौलियालाई कारबाहीको दायरामा ल्याउनलाई सहयोग गर्न एसपी जिसीले आग्रह गरेका छन्।  

एक साताअघि न्यूरो अस्पताल अगाडिको ज्ञानु फार्मेसीमा काम गर्दै आएका विराटनगर–८ का १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्। विराटनगर बाहिरबाट बसमा आएका बिरामीलाई त्यस्ता बिचौलियाले भृकुटी चोक, शनि मन्दिर चोक, बसपार्क र सीमापारीबाट यहाँ आएका बिरामीलाई सिटी सफारीका चालकसँग मिलेर बिचौलियाले आफ्नो अनुकूल ठाउँमा लैजाने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा बुधबार म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ।  

प्रकाशित: ९ भाद्र २०७८ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App