७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पश्चिममा लगातार वर्षा

मनसुन सक्रिय हुँदा पश्चिम नेपालमा मंगलबारदेखि लगातार वर्षा भइरहेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेकाले पश्चिम तराईका जिल्लासँगै पहाडी तथा हिमाली जिल्लामा पनि लगातार वर्षा भइरहेको छ।

तीन/चार दिन अघिदेखि मनसुन सामान्य सक्रिय देखिए पनि मंगलबारदेखि मनसुन बढी सक्रिय देखिएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जका प्रमुख विनोद पराजुलीले जनाए। उनका अनुसार पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्ययम वर्षा भएको छ भने केही स्थानमा भारी वर्षा भयो। पश्चिममा सबैभन्दा बढी पानी रुपेन्देहीको तिनाउ आसपास भएको छ। यहाँ ३६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जका प्रमुख पराजुलीले बताए। 

उनका अनुसार पश्चिमका पहाडीभन्दा तराईका जिल्लामा केही बढी वर्षा भएको छ। लुम्बिनी प्रदेशको बाँकेस्थित राप्तीसोनारीको ढकेरी आसपास २६ मिलिमिटर, दाङको लालमटिया क्षेत्रमा २१, बबई आसपास २३ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जले जनाएको छ।  

त्यस्तै उक्त कार्यालयका अनुसार कर्णाली प्रदेशको कालीकोटमा नौ, मुगु र जुम्लामा तीन÷तीन, सुर्खेतमा १५ र जाजरकोटमा २० मिलिमिटर वर्षा भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, डडेलुधरामा २०, बाजुरामा २६ र डोटीमा २४ मिलिमिटर वर्षा भयो।  

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जका प्रमुख पराजुलीका अनुसार बुधबार राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा अझ बढ्न सक्ने अनुमान गरिएको छ। जसका लागि जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जले सावधानी अपनाउन सूचनासमेत जारी गरेको छ। मनसुन अझै चार दिनसम्म सक्रिय हुने पूर्वानुमान गरिएको छ। 

देशभर सामान्यदेखि पूर्णरुप बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जका प्रमुख पराजुलीले बताए।  

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै शुक्रबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। उक्त प्रदेशहरुका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७८ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App