१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तनहुँमा चार महिनामा तेब्बर बढीलाई संक्रमण

मृतकको संख्या ४ गुणा बढी

कोरोना संक्रमणको बेला साउन अन्तिम साता जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको भिड ।

तनहुँमा पहिलो पटक गत वर्ष जेठ १० गते ऋषिङका २८ वर्षीय युवालाई कोरोना संक्रमण पुष्टी भयो। छिमेकी राष्ट्र चिनको वुहानबाट फैलिएको कोरोना संक्रमणको जोखिम बढेपछि चैत ११ देखि देशव्यापी निषेधाज्ञा जारी थियो।  

भारतबाट आएर दमौलिस्थित आईसोलेसनमा बसेका युवालाई जिल्लामै पहिलो पटक कोरोना संक्रमण पुष्टी हुँदा खुबै त्रास फैलियो। जेठमा सुरु भएको कोरोना संक्रमण चैत अन्तिमसम्म पुग्दा १ हजार ४ सय ७८ जनालाई पुष्टी भयो। २५ जनाको मृत्युको कारण बन्यो कोराेना।

यो वर्ष वैशाखबाट दोस्रो लहरको कोरोना संक्रमण फैलिएको हो। सोमबारसम्म जिल्लाका ४ हजार ४ सय ६६ जनालाई संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ। गत वर्षको कुल संख्याको तुलनामा दोस्रो चरणको कोरोना संक्रमण ४ महिनामै तेब्बर बढीलाई पुष्टी भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टी गर्दछ। संक्रमितको मृत्युदर अझ बढी छ। यसपाली गत वर्ष मृत्यु भएका संक्रमतिको तुलनामा ४ गुणा बढी अर्थात १ सय ६ जनाको ज्यान कोरोनाले लियाे।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी लापरबाही बढी भएकै कारण कोराेना संक्रमणदर उच्च भएको बताउँछन्। ‘दोस्रो लहरको संक्रमण अलि कडा पनि देखियो। र निषेधाज्ञा कसैले टेरेनन्। कोरोना केही हैन भन्दा धेरै संक्रमित भए’, उनले भने। उनका अनुसार दोस्रो लहरले धेरै युवाहरुको पनि ज्यान लिएको छ। पहिलो चरणमा बुढापाकाको बढी मृत्यु भएको थियो। हेलचक्र्याँई बढ्दै गएमा भयावह स्थिती बन्ने उनको भनाई छ।

गाउँ गाउँमा कोरोना परीक्षण नगराई बस्ने तर, मिल्दोजुल्दो लक्षण भएका धेरै छन्। उनीहरु परीक्षणको दायरामा आउनै चाहँदैनन्। यदि, कोरोनासंग मिल्ने लक्षण भएका सबैको परीक्षण भएको भए संक्रमणदर अझै बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन्।

असोजदेखि कोरोनाको तेस्रो लहर सुरु हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ। तेस्रो चरणमा बालबालिका बढी संक्रमित हुने भनिएको छ। तर, जिल्लाका १० स्थानीय तहले तेस्रो चरणको कोरोनासंग जुध्नलाई पूर्व तयारी गर्न अझै भ्याएका छैनन्। शून्य तयारीमा छन्।

अब बल्ल तयारी थाल्न लागेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। उनले भने, ‘अब कसरी तयारी थाल्ने छलफलमा जुटेका छौँ। स्वास्थ्य मन्त्रालयले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भनेकाले बालबालिकामैत्री आईसोलेसन निर्माण लगायतका काम गर्नेछौँ।’ शुक्लागण्डकीमा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई पनि बालमैत्री आईसोलेसन बनाउन आग्रह गर्ने उनको भनाई छ।

हाल जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ८ जना संक्रमित उपचाररत छन्। अरु सबै संक्रमित घरमै रहेका छन्। जिल्लामा ३ सय ३३ जना सक्रिय संक्रमित छन्। सोमबार मात्रै जिल्लामा ४४ जनाको कोरोना परीक्षण हुँदा ४ जनालाई संक्रमण पुष्टी भएको छ। सोमबार ३५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७८ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App