प्रहरीले बुद्धको मूर्तिसहित पाँच जनालाई बुधबार पक्राउ गरेको छ। गुलरिया नगरपालिका–७ स्थित रहेको विजय गेष्ट हाउसको कोठा नम्बर ३२८ मा बेचबिखन गर्न राखेको बुद्धको मूर्ति प्रहरीले बरामद गरेको हो। पुरातात्विक बुद्धको मूर्तिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
होटलमा मूर्ति बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले तस्करी हुन लागेको पुरातात्विक मूर्ति बरामद गरी सफलता हात पारेको छ। पुरातात्विक महत्वको बुद्धको मूर्ति ७ किलो ७ सय २ ग्राम र ९.५ ईन्च उचाई रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। मूर्ति कहाँबाट ल्याएको खुलेको छैन।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वरप्रसाद उपाध्याय र जिल्ला जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मगबहादुर नेपाली रहेका छन्।
प्रहरीले पाँचै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
प्रकाशित: ३ भाद्र २०७८ १३:२७ बिहीबार