२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सुदूर संस्कृति: बाँचेको खुसीमा मनाइँदै ‘ओल्के संक्रान्ति’

ओल्के संक्रान्तिमा पिङ खेल्न डोरी बाट्दै डोटीको वायलका बालबालिकाहरू। तस्बिर सौजन्यः नरबहादुर कार्की

आज भदौ संक्रान्ति । सुदूरपश्चिम प्रदेशमा भदौ संक्रान्तिका दिन मौलिक पर्व ‘ओल्के’ को रमझम बढेको छ। साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के संक्रान्ति मनाइन्छ। यहाँ भदौ महिनाको पहिलो दिन विशेष महत्वका साथ ओल्के संक्रान्ति मनाउने परम्परा रही आएको छ। त्यही अनुसार आज सुदूरपश्चिमेली पहाडी समुदायमा ओल्के संक्रान्ति मनाइन थालिएको छ।  

वर्षामा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के र दुःखका दिन आउन थालेको दुःखमा विशु पर्व मनाउने गरिन्छ। वैशाख लगत्तै विभिन्न रोग व्याधि तथा दैवी प्रकोपको समय आउने भएकाले मर्नु पर्ने हो कि भन्ने चिन्ताले विशु पर्व मनाउने गरिएको सुदूरपश्चिमका साहित्यकार डा. टीएन जोशी बताउँछन्। उनले दैवी प्रकोपबाट बचेको भन्दै खुसीयालीमा भने ओल्के संक्रान्ति मनाउने गरिएको बताए। ओल्केलाई नै लक्षितगरि सुदूरमा ‘बाँचे भनि ओल्के खानु, मरौला भनि विशु खानु’ भन्ने उखान चर्चित रहेको बताउँदै उनले भने,‘यही उखानबाट नै ओल्के संक्रान्तिको महत्व झल्किएको प्रष्ट हुन्छ।’  सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँगाउँमा ओल्के संक्रान्तिको अवसरमा पिङसमेत निर्माण गरिएको छ। ओल्केकै अवसरमा यहाँका स्थानीय डेउडाको भारी खेल समेत खेल्ने गर्छन्। 

साउन मसान्तको राति र भदौ संक्रान्तिका दिनभरी भारी खेल खेल्ने गरिएको चर्चित डेउडा गायक दलबहादुर बोगटी बताउँछन्। उनले भने,‘यो पर्वमा मनोरञ्जनका लागि भारी खेल र पिङलाई विशेष महत्व दिइएको छ।’ गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात  दिएर  वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सद्भाव बाँड्ने गरिन्छ। विशेषगरि मान्यजनलाई पिँडालुका पात, काँक्रा, भाण्टा, मुला र हरियो सागपात उपहार दिने गरिन्छ। यहाँ हरियो सागपातको कोशेलीलाई नै ‘ओल्को’ भन्ने गरिन्छ।  

उहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोग लाग्नुका साथै असार साउनको बर्खे झरीमा बाढी पहिरो आउने भएकाले रोग व्याधि र दैवी प्रकोपबाट बाँचिएको उपलक्ष्यमा खुसी साँट्न यो पर्व मनाइने गरिएको  साहित्यकार तथा पूर्व प्राध्यापक् डा. बद्री शर्मा बिनाडी बताउँछन्। उनले भने,‘दैवीप्रकोपबाट बाँचिएको खुसी साट्न ठूलावडा तथा जेठो नातापर्नेहरुलाई हरियो सागपात दिएर सम्मान दिने गरिन्छ।’ 

ओल्केकै दिन सबै गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गो समेत गाड्ने गर्छन्। ओल्केका दिन गाडिएको लिङ्गोलाई भदौ मसान्तमा जलाउने गरिन्छ। भदौ मसान्तका दिन जलाइने लिङ्गोलाई ‘बुढी पोल्ने’ भन्ने परम्परा रहेको उनले बताए। आफू भन्दा ठूलाबडाको आदर सत्कार र सम्मान गर्ने पर्वका रुपमा ओल्केलाई लिने गरिएको बताउँदै उनले भने,‘यो पर्व सद्भावका साथै सम्मानको पर्व पनि हो।’ 

प्रकाशित: १ भाद्र २०७८ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App