१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अफगानिस्तानमा रहेका नेपाली भन्छन्ः हामी जोखिममा छौं, छिटो उद्धार होस्

होटलमा रोकिए नेपाली

अफगानिस्तानको होटलमा नेपाली नागरिक । तस्बिरः नागरिक

कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारका वीरेन्द्र गोदार अफगानिस्तानको काबुलस्थित क्यानेडियन दुतावासमा काम गर्थे । सुरक्षाकर्मीको रुपमा विगत ११ वर्षदेखि दुतावासमा काम गर्दै आएका उनी अहिले भने निकै नै अप्ठेरोमा छन् ।  

तालिबान विद्रोहीले अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएसँगै त्यहाँ कार्यरत गोदार जस्ता धेरै नेपाली कामदार अप्ठेरोमा परेका छन् । जतिसक्दो छिटो नेपाल सरकारको उद्धारको पखाईमा रहेको उनीहरुको भनाई छ । तालिबानको कब्जा भएसँगै गोदार कार्यरत दुतावासका उच्च पदाधिकारी स्वदेश फर्किसकेका छन् भने उनीहरुलाई होटलमा राखिएको छ । दुतावासको सुरक्षाको जिम्मा लिएको कम्पनि हार्टले नेपाली सुरक्षाकर्मीलाई काबुलको होटलमा राखेको छ ।  

गोदारका अनुसार सुरक्षा कम्पनिले नेपाल पठाउने भनेर हिजै काबुल विमानस्थल नजिकैको होटलमा राखेको थियो । होटल जोहाक भिलेजमा उनीहरु अहिले बसिरहेका छन् । ‘हामी विमानस्थल नजिकैको होटलमा बसेका छौं । बाहिर गोलाबारी चलिरहेको छ । निकै नै जोखिममा छौ । जतिसक्दो छिटो उद्धार गरिदिए हुन्थ्यो,’ गोदारले भने, ‘नेपाली, भारतीय सहितका विभिन्न मुलुकका नागरिक अलपत्र छौ ।’ उनका अनुसार क्यानेडियन दुतावासमा काम गर्ने करिब एकसय जना र जर्मन दुतावासमा काम गर्ने अरु नेपाली कामदार पनि त्यही होटलमा छन् । नेपाली र भारतीय गरि करिब २ सय जना कामदार जोहाक भिलेजमा रहेको उनले बताए ।  

‘हामीलाई बिहानै पठाउने भनेर हिजो नै होटलमा ल्याएर राखियो । तर यहाँ सुरक्षित हुने अवस्था छैन, अहिले त विमानस्थल पनि बन्द भयो,’ गोदारले भने, ‘बाहिर निस्कने परिस्थिति छैन । आफै निस्केर हिड्ने अवस्था रहन्न ।’ उद्धार गर्ने भन्दै होटलमा राखिएपनि त्यसपछिको पहल नहुँदा आफुहरु अलमलमा परेको उनले बताए । ‘उद्धारको प्रक्रियामा रहेको भनेर हामीलाई कम्पनिले जनाउ दिएको छ । तर, वास्तविकता के हो भन्न सकिन्न । यहाँ जतिबेला जे पनि हुनसक्छ,’ उनले भने ।  

नवलपुरको वर्दघाटका याशबहादुर बराल मगर पनि काबुलकै जोहाक भिलेज होटलमा छन् । उनी पनि विगत ११ वर्षदेखि क्योडियन दुतावासमा काम गर्दै आएका थिए । ‘होटलमा बस्न र खानको समस्या त छैन, तर, सुरक्षा जोखिम छ । कतिखेर यो मूलूक छाडौ भन्ने भएको छ,’ मगरले भने, ‘कुनैपनि बेला यहाँ जे पनि हुनसक्छ । हामी जोखिममा छौ । सरकारसँगै श्रम स्वीकृत लिएर हामी यहाँ काम गर्न आएका हौ ।’ सरकारले यहाँ रहेका नेपालीलाई तुरुन्तै फिर्ता पठाउने पहल गरोस भन्ने आफहुरुको चाहना रहेको उनले सुनाए ।  

‘क्यानडा सरकारलाई ११ वर्षदेखि सेवा ग¥यौ । तर, अप्ठेरोे परेको बेला हामीलाई बीचैमा छाडेर फिर्ता गयो,’ उनले भने, ‘दुतावासका मान्छे सबै गए । हामीलाई यहाँ काममा लगाउने सुरक्षा कम्पनि मात्र हाम्रो सम्पर्कमा छ ।’ उनका अनुसार जोहाक भिलेज होटल काबुल विमानस्थलदेखि करिब ३ किलोमिटर टाढा छ । विमानस्थल क्षेत्रमा गोली चलिरहेको उनीहरुले सुनाए । यसअघि पनि नेपाल आउजाउ गरिरहेको भएपनि अहिलेजत्तिको अप्ठेरो आफुहरुलाई कहिल्यै आइनपरेको उनले सुनाए ।  

भारतको देहरादून घर भएका दीपक गुरुङ पनि जोहाक भिलेजमै छन । उनी विगत १२ वर्षदेखि क्यानेडियन दुतावासमा सुरक्षाकर्मीको रुपमा कार्यरत थिए । ‘कसरी र कहाँ जाने भन्ने नै निश्चित छैन । हामी निकै नै अप्ठेरो अवस्थामा छौ,’ उनले भने । गुरुङका अनुसार तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएपछि अवस्था अत्यासलाग्दो बनेको छ । बाहिर निस्कन सक्ने अवस्था छैन । कतिखेर कहाँ के हुने हो भन्न त्रास छ ।  

गुरुङका अनुसार सोमबार बिहान ५ बजे नै क्यानडाबाट जहाज आउने र उद्धार गर्ने भनेर उनीहरुलाई विमानस्थल नजिकैको होटलमा राखिएको थियो । तर, तालिबानका कारण विमानस्थल नै बन्द भएपनि उडान नै अवरुद्ध भएको छ । क्यानेडियन जहाजले उनीहरुलाई स्तानबुल पु¥याउने र त्यहाँबाट नेपालीलाई काठमाडौं र भारतीयलाई दिल्ली पठाउने तयारी भएको थियो । तर, विमानस्थल नै बन्द भएपनि आफुहरुको उद्धारको लागि आउने भनेको जहाज नै आउन नसकेको उनले बताए । विमानस्थल क्षेत्र खुला बसपार्क झै भएपछि अहिले अमेरिकी सुरक्षाकर्मीले विमानस्थल नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मी र उद्धारका उडान मात्र हुने भनिएपनि कुनैपनि उडान हुन नसकेको उनीहरुको भनाई छ ।  

‘अब के हुने हो भन्न सकिन्न । तर, हामीलाई उद्धार हुनुपर्छ भन्ने हो । बेलैमा उद्धार नहुने हो भने जे पनि हुनसक्छ । हामी यहाँ निकै नै तनावमा छौ,’ उनले भने, ‘हामी अफगानिस्तामा अलपत्र छौ । घरमा रहेका परिवारका सदस्य पनि तनावमा छन् । हाम्रो बारेमा परिवार नै चिन्तित छन् ।’ अफगानिस्तामा रोकिएका उनीहरुका अनुसार त्यहाँ केही संख्यामा नेपाली नागरिक छन् । तर, उनीहरु कति संख्यामाा छन् भन्ने उनीहरुलाई यकिन छैन । त्यहाँ पुगेका अधिकांश नेपाली विभिन्न दुतावासमा सुरक्षागार्डको रुपमा कार्यरत छन् । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले एकपछि अर्काे सहर कब्जा गरिरहेका थिए । त्यही क्रममा आइतबार मात्र तालिबान बिद्रोही राजधानी काबुल छिरेपछि त्यहाँको अवस्था त्रासदिपूर्ण बनेको उनीहरुको भनाई छ । 

प्रकाशित: ३२ श्रावण २०७८ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App