१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा ६ भारतीय पर्यटक सम्पर्कविहीन

फाइल तस्बिर

डोल्पाको उच्च हिमाली क्षेत्रमा भएको अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो तालतर्फ आउँदै गरेका उनीहरू शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुम्ला पास र वागला पास क्षेत्रमा हराएका हुन्।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि उनीहरू हिउँमा फसेको हुन सक्ने स्थानीय गाइडको अनुमान छ। हिमपातका कारण हिमाल पार गर्न जोखिम हुने भन्दै स्थानीयवासीले सचेत गराउँदासमेत पर्यटकहरू उक्त क्षेत्रमा गएको बताइएको छ। फर्किने क्रममा बाक्लो हिउँमा फसेपछि उनीहरूसँग सम्पर्क टुटेको हुन सक्ने आशंका गरिएको छ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकालका) अनुसार पर्यटकहरू धोबाट फोक्सुण्डो तालतर्फ फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्। स्थानीयवासीले यात्रा जोखिमपूर्ण हुने जानकारी गराउँदासमेत उनीहरू अघि बढेको उनले बताइन्। पर्यटकहरूको अवस्था पत्ता लगाउन नेपाली सेनाको टोली परिचालन गरिएको हमालले जानकारी दिइन्।

डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले ६ जना भारतीय पर्यटक अझै सम्पर्कमा नआएको बताए। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए।

प्रतिकूल मौसम र बाक्लो हिउँका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ।

सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार उपल्लो डोल्पामा अहिले २ सय ४४ जना पर्यटक रहेका छन्। तीमध्ये १ सय ४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक हुन्। प्रशासनले प्रतिकूल मौसममा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न पर्यटकलाई आग्रह गरेको छ।

शे–फोक्सुण्डो तालमा पर्यटकको आकर्षण बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै चार हजार ८ सय ८२ जना पर्यटकले तालको भ्रमण गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App