विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कर्णाली प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा छ जना, बागमती प्रदेशमा १३ जना, काठमाडौं उपत्यकामा छ जना, कोशी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा २६ जना र मधेश प्रदेशमा ११ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा सात जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा बारा, कञ्चनपुर, धादिङ र तनहुँका व्यक्ति रहेका छन्। बारामा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। कञ्चनपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ।
त्यस्तै, धादिङको गल्छी गाउँपालिका क्षेत्रमा यात्रुवाहक हाइस अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १२:५० आइतबार





