बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको सुरक्षित उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली कार्यक्षेत्रमा खटिएको छ।
प्राविधिक रूपमा अत्यन्त जोखिमपूर्ण र जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा उच्च दक्ष चिनियाँ प्राविधिक टोली परिचालन गरिएको हो।
चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय गरी संयुक्त रूपमा उद्धार कार्य अघि बढाउने सरकारले जनाएको छ।
संयुक्त टोलीले पहिलो चरणमा सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अध्ययनका आधारमा उद्धार सम्भव देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ राखिएका थप चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा झिकाइने योजना छ।
सुरुङभित्रको अवस्था निकै चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका सबै श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव प्रयास भइरहेको सरकारले बताएको छ।
प्रकाशित: १३ भाद्र २०८३ १५:५५ शनिबार


-600x400.jpg)


