२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

नेपालगन्जमा युवकको ह'त्या, ६ जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा ब्रतबन्ध कार्यक्रमपछि भएको आपसी विवाद कुटपिट र धारिलो हतियार प्रहारमा परिणत हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्नमध्ये चारजनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अम्रेनी क्षेत्रबाट र थप दुईजनालाई नेपालगन्जबाट पक्राउ गरिएको हो।

कैलाली लम्कीचुहा–१ का १९ वर्षीय दिपेन्द्रराज गिरी, २० वर्षीय बिबियस कुवँर, १८ वर्षीय सुशिल खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ का १८ वर्षीय सन्तोष संज्याल र सुर्खेत वीरेन्द्रनगर–३ का २० वर्षीय रुपेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले जानकारी दिए। प्रहरीले घटनास्थलबाट एक थान चक्कु, सु.प.प्र.०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा बियरका बोतल र फुटेका बोतलका टुक्राहरू बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार सोमबार बेलुकी बेलासपुरका २१ वर्षीय प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रमका लागि आएका साथीहरू सोही स्थानमा बसेका थिए। बस्ने ठाउँ अभाव भएपछि उनीहरू नजिकै रहेका दिपेन्द्र रोकायको घरको एउटै कोठामा बसेर रमाइलो गरिरहेका थिए। सोही क्रममा २२ गते बिहान करिब २ः०० बजे दिपेन्द्रराज गिरी र विशाल चन्द ठकुरीबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो। विवादपछि दिपेन्द्रराज गिरी त्यहाँबाट बाहिर निस्केर कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्ना साथीहरूलाई फोनमार्फत नेपालगन्ज बोलाएको प्रहरीले जनाएको छ।

बिहान करिब ५ः०० बजे लम्कीचुहाबाट मोटरसाइकलमा आएका उनका साथीहरू समेत घटनास्थल पुगेपछि पुनः समूहबीच झडप भएको बताइएको छ। सो क्रममा बियरका बोतल तथा चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी विशाल चन्द ठकुरीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ। आक्रमणपछि ज्यान जोगाउन भागेका ठकुरीलाई करिब एक सय मिटरसम्म पछ्याउँदै पुनः धारिलो हतियार प्रहार गरिएको र उनी बाटोमै ढलेका थिए । घाइते अवस्थामा उनलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि मंगलबार बिहान करिब ६ः०० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही घटनामा अर्का घाइते जुम्ला चन्दननाथ नगरपालिका–४ का २० वर्षीय योगेन्द्र कामी उपचारपछि डिस्चार्ज भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App