७ वैशाख २०८१ शुक्रबार
समाज

पुल नहुँदाको सास्तीः बर्खाको भेलमा पनि डुंगाकै सहारा

कैलालीबाट डुंगा चढेर सुर्खेतमा अध्ययनका लागि आउँदै गरेका विद्यार्थी ।तस्बिरः नगेन्द्र/नागरिक

कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखा, कोलतडी, चावा, ताम्चा, राक्सालगायतका नागरिकहरु किनमेलदेखि स्वास्थ्य उपचारसम्मका लागि सुर्खेतको चौकुने आउनुपर्छ। कैलालीको मोहन्याल र सुर्खेतको चौकुनेलाई कर्णाली नदीले छुट्याएको छ। नदी वारपार गर्नका लागि नजिकै झोलुंगे पुल छैनन्। डुंगाको सहारा लिनुपर्छ।  

हरेक महिनाको १७ गते सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य चौकीमा खोप सेवा सञ्चालन हुन्छ। कैलालीको कर्णाली नदी किनारका बस्तीका नागरिकहरु खोप सेवाका लागि चौकुनेका स्वास्थ्य संस्थाहरुमा आउँछन्। साउन १७ गते राँगामलेखाकी हर्सना आलेसहितका महिलाहरु आफ्ना शीशु च्यापेर खोप लगाउन सुर्खेत आउने तयारीमा थिए।  

साउने भेलमा कर्णाली तर्ने क्रममा डुंगा पल्टियो। एक महिलाको मृत्यु भयो। दुई बेपत्ता भए। हर्सना भने आफूसँगै चार महिने छोरालाई पौडिएर बचाउन सफल भइन्। ‘कर्णालीमा साउने भेल उर्लिरहेको थियो, नदी किनारमा पुग्ने बेला डुंगा पल्टियो,’ उनले भनिन्, ‘भेलमा खसेपछि चार महिने छोरालाई एक हातले काखी च्यापे र अर्को हातले पौडी खेल्दै किराना लागे।’ हर्सनालाई संगै डुंगा तरेका साथीहरु कर्णालीमा बेपत्ता हुँदाको पीडा त थियोनै सँगसँगै छोरालाई बचाउन सकेकोमा खुसी पनि थियो।  

साउन १७ गते डुंगाबाट कर्णालीको भेलमा खसेर आफूसहित छोरोलाई बचाएकी हर्सना आले खोप केन्द्रमा खोप लगाउँदै ।

‘कर्णालीमा पुल नहुँदा हरेक वर्ष डुंगा तर्ने क्रममा पाँच/दश जना कर्णालीले खाएकै हुन्छ,’ उनले भनिन्, ‘पुल नहुँदाको पीडा कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन।’ कर्णालीको भेलबाट बाँचेकी उनले छोरालाई विजौरा स्वास्थ्य चौकीमा पुर्‍याएर खोप लगाइन्।  

साउन १६ गते हर्सनासँगै उनका साथीहरु घाँस काट्न गएका थिए। घाँस काट्दै उनीहरुले सुर्खेत जाने सल्लाह गरेका थिए। ‘धेरै मिल्ने भएकाले मेलापातदेखि गाउँ छोड्दा पनि सँगसँगै जान्थ्यौं,’ उनले भनिन्, ‘कर्णाली सुसाएको सुन्ने वित्तिकै अहिले मृत्यु भएका र बेपत्ता भएका साथीहरुको याद आउँछ।’  

हर्सनासँगै डुंगामा चढेकी १८ वर्षीया उर्मिला सलामीको साउन २४ गते शव प्राप्त भयो। उर्मिलाकी एक महिनाकी छोरी र पाँच महिने गर्भवती पार्वती थापा अहिले पनि बेपत्ता छन्। चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेका अनुसार नियमित खोप कार्यक्रममा कैलालीको मोहन्याल गाउँपालिकाका कर्णाली किनारका अधिकांसले सेवा लिने गरेको बताउँछन्। ‘बस्ती नजिकमा कर्णाली तर्नका लागि पुल नहुँदा खोप लगाउनुपर्ने आमा र बच्चा जोखिमपूर्ण यात्रा गरेर डुंगामा कर्णाली तर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हरेक वर्ष कर्णालीमा डुंगा दुर्घटना हुने, मानिसको मृत्यु हुने र बेपत्ता हुनेक्रम बढ्दो छ।’

कैलालीको मोहन्याल गाउँपालिका–३ को वडा कार्यालय फल्लेबिसौनीमा छ। कर्णाली नदी किनारका बस्तीहरुबाट गाउँपालिकाको केन्द्र पुग्न दिनभर लाग्छ। चौकुने गाउँपालिका आउन भने डुंगा तरेर आधा घण्टा लाग्छ। छोटो दूरी भएकाले वडाको केन्द्र जानुभन्दा नदी किनारका बस्तीका नागरिकहरु चौकुने आउँछन्। ‘बस्ती कैलालीको भएपनि किनमेल, औषधि उपचार र अध्ययनका लागि सुर्खेतको भर पर्नुपर्छ,’ स्थानीय दीपक आलेले भने, ‘सरकारले पुल मात्रै बनाइदिएको भए हरेक वर्ष कर्णालीको भेलमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्थ्यो।’

विद्यार्थीलाई पनि उस्तै सास्ती

कैलालीको मोहन्याल गाउँपालिका–३ की सपना चितौरे मगर सुर्खेतको चौकुने गाउँपालिकाको जगन्नाथ माविमा छ कक्षामा अध्ययनरत छिन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन। गाउँमा प्राथमिक तहको मात्रै विद्यालय छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोमिपूर्ण यात्रा गरेर डुंगामा वारपार गर्नुपर्छ। ‘वर्षातको भेलमा पनि डुंगा खियाएर विद्यालय आउनु पर्ने बाध्यता छ,’ उनले भनिन्, ‘गाउँमै विद्यालय नहुँदा मजस्ता धेरैले सास्ती खेपिरहेका छौं।’  

कर्णाली वारपार गर्नका लागि राखिएका डुंगाहरु ।

राङ्गा र विजौरा जोड्ने कर्णालीमा पुल नहुँदा यहाँका विद्यार्थीहरु सुर्खेत पढ्न विहान ६ बजेनै घरबाट हिँड्छन्। स्कूल पुग्दासम्म विहानको १० बजिसकेको हुन्छ। साँझ घर फर्कँदा पनि उत्तिकै समय लाग्छ। कैलालीको राङ्गा गाउँ कर्णाली नदीले घेरिएको छ। वर्खायाममा कर्णालीको बहाव बढेसँगै यहाँका विद्यार्थीहरु विद्यालय आउन पाउँदैनन्। ‘कर्णालीमा पानीको बहाव बढेसँगै स्कूल जान पनि पाउँदैनौं,’ विद्यार्थी विमाकुमारी आलेमगरले भनिन्, ‘त्यसैले पनि बीचैमा धेरैले पढाई छोड्ने गरेका छन्।’ अहिले कोरोना महामारीका कारण विद्यार्थीहरुलाई विद्यालय आउनु परेको छैन।

कर्णालीको भेलमा डुंगा तर्नुको जोखिम त छँदैछ, कर्णाली वारपार गर्दा किताव कापीसमेत भिज्छन्,’ कक्षा छ मा अध्ययनरत पुष्पा माझीले भनिन्, ‘कर्णाली नदीमाथि पुल नुहँदा धेरै सास्ती भोगिरहेका छौं।’

कैलालीका राँगा, मलेखा, कोलतडी, चावा, ताम्चा, राक्सालगायतका गाउँका विद्यार्थीहरु अध्ययनका लागि सुर्खेत आउनुपर्छ। यी गाउँका आधारभूत तहदेखि माध्यमिक तहसम्म अध्ययन गर्ने ५५ भन्दा धेरै विद्यार्थीहरु सुर्खेतको जगन्नाथ माविमा अध्ययनरत छन्। ‘हामी सबैको पीडा एउटै हो, लामो यात्रा गरेर विद्यालय आउनुपर्छ, यसले गर्दा पढाईमा पनि समस्या हुने गरेको छ,’ माझीले भनिन्, ‘हाम्रा अभिभावकले गाउँमै विद्यालय बनाइदिन सरोकारवाला निकायहरुमा पटक–पटक अनुरोध गरेपनि सुनुवाई नभएकाले दुःख पाउँदै आएका छौं।’

जगन्नाथ माविका प्रधानाध्यापक ठम्मर बिसी कैलालीका विद्यार्थीहरुलाई विद्यालयमा आउन जोखिम रहेको बताउँछन्। ‘कर्णाली नदीमा पुल नहुँदा त्यहाँका विद्यार्थीहरु जोखिमपूर्ण यात्रा गरेर अध्ययनका लागि यहाँ आउने गरेका छन्,’ उनले भने, ‘यात्रामै समय लाग्ने गरेकाले यसको असर विद्यार्थीहरुको पढाईमा देखिने गरेको छ।’

कर्णालीमा पुल भइदिएको भए विद्यालय आउन विद्यार्थीहरुलाई बढीमा ३५ मिनेट समय लाग्थ्यो। ‘कैलालीको राङ्गा गाउँबाट आउने विद्यार्थी धेरै छन्,’ प्रधानाध्यापक विसीले भने, 'डुंगामा वारपार गर्ननै समय लाग्ने भएकाले त्यहाँका विद्यार्थीहरु प्रायः ढिलो गरेर विद्यालय पुग्ने गर्छन्।’

प्रकाशित: ३१ श्रावण २०७८ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App