coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तुइन नभएपछि मालगाउँमा हाहाकार

दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ मालगाउँका बासिन्दालाई महाकाली नदीको मालघाटमा ओहोरदोहोर बन्द हुँदा समस्या भएको छ। भारतीय एसएसबीका जवानले तुइनको तार फुकालेर ३३ वर्षीय जयसिंह धामी नदीमा खसी बेपत्ता भएपछि मालघाटमा ओहोरदोहोर बन्द छ। जसका कारण मालगाउँमा दैनिक उपभोग्य वस्तुको अभावले हाहाकार भएको छ। २१ वर्षदेखि सञ्चालित तुइनको तार भारतीय पक्षले खोलिदिएपछि मालगाउँवासीलाई आपत् आइपरेको हो।

स्थानीयले महाकालीपारिको गस्कोबाट तुइन तारेर उपभोग्य सामान ल्याउँथे। अलि धेरै नै सामान ल्याउनुपरे भारतको बाटो हुँदै धार्चुला अथवा सदरमुकाम खलंगा पुगेर ल्याउँथे। मालगाउँबाट सदरमुकाम पुग्न सडक छैन। वर्षाका बेला ढुंगा खस्ने, पहिरो जाने गरेकाले गोरेटो बाटो पनि जोखिमयुक्त छ। यो बाटो हिँडेर सदरमुकाम पुगी सामान किनेर घर फर्कन ३ दिन लाग्ने गर्छ।

धामीको १५औं दिनको पुण्यतिथिको कर्मका लागि चाहिने सामान लिन उनका भाइ नरेन्द्र सिंह धामीसहित तीनजना सोमबार झिसमिसेमै घरबाट सदरमुकाम खलंगाका लागि हिँडे। उनीहरू बुधबार साँझसम्म पनि घर पुगेका छैनन्, बाटोमै छन्। ‘मालघाटमा महाकाली तरेर भारतको बाटो भएर सदरमुकाम पुग्न र फर्किन चार घण्टामात्रै लाग्थ्यो। सामान किनेर साँझ सजिलै घर फर्कन सकिन्थ्यो’, नरेन्द्रले भने, ‘ओहोरदोहोर बन्द भएपछि पैदल हिँडेर सदरमुकाम पुग्नुपर्‍यो, कति दुःख भएको छ, भनी साध्य छैन।’

स्थानीयलाई चाडपर्व मनाउने चिन्ता

उपभोग्य सामान ल्याउन कठिनाइ भएपछि स्थानीय नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्तामा छन्। तीन दिन पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था सबैको नभएको स्थानीय राकेश धामी बताउँछन्। ‘सामान सकिनेबित्तिकै महाकालीपारिको पसलमा गई ल्याउँथ्यौं। यस्तो घटना होला र यो अवस्था आउला भनेर कल्पना पनि गरेका थिएनौं’,उनले भने, ‘हामीलाई नुन, तेल, खाद्यान्न सकिएर समस्या भएको छ। तीन दिन लगाएर सदरमुकामबाट सामान ल्याउन पनि गाह्रो छ।’ गौरापर्वलगायतका चाडपर्व नजिकिँदै गरेका बेला नुन, तेल, खाद्यान्नलगायतको समस्या भएको उनले बताए। ‘नुनतेलको अभावमा चाडपर्व मनाउन पनि गाह्रो छ’, उनले भने, ‘गाउँपालिकाका जनप्रतिनिधिसँग हेलिकोप्टरबाट भए पनि नुनतेलको व्यवस्थाका लागि आग्रह गरिरहेका छौं।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता नरेन्द्र चन्द मालगाउँका बासिन्दालाई नेपालको बाटो भएर सदरमुकाम आउन धेरै गाह्रो भएको बताउँछन्। ‘सामानसहित पैदल हिँडेर सदरमुकामबाट गाउँ पुग्न दुई दिन लाग्छ’, उनले भने, ‘वर्षाको यो समयमा बाटो पनि धेरै अप्ठ्यारो छ।’

सामान आपूर्ति हुन नसकेपछि गाउँका पसल रित्तिइसकेका छन्। यी पसलमा पनि मालघाटको तुइनबाट सामान आपूर्ति हुन्थ्यो। ‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। पसलमा नुन, तेल, साबुन, बिस्कटु सबै सकियो। रित्तो पसल कुरिरहेको छु’, मल्लो मालगाउँका पसले बहादुर सिंह धामीले भने,‘भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। 

हाम्रो सरकारले केही पहल गरिदिनुपर्‍यो।’ महाकालीपारि एसएसबीको पहराका कारण स्थानीयले नयाँ तुइन सञ्चालन गर्न नसकेको मालगाउँका ४३ वर्षीय कल्याण सिंह धामीले बताए। भारतीय पक्षले तार नखुस्काइदिँदासम्म उनी तुइनबाट मानिस तथा सरसामान वारपार गराउने काम गर्थे। ‘२१ वर्षदेखि मैले तुइन राखेर स्थानीयलाई ओहोरदोहोर गराएँ। एसएसबीले पहिले पनि कहिलेकाहीँ तुइन काट्ने गर्थे’, उनले भने, ‘मान्छे तुइनमा झुन्डिएर तरिरहेका बेला तार काटिदिएर नदीमा बेपत्ता भएको भने यो पहिलो पटक हो।’

अझै फेला परेनन् जय सिंह

एसएबीले तुइन फुकालिदिँदा साउन १५ गते महाकालीमा खसेर बेपत्ता भएका जय सिंह धामी अझै फेला परेका छैनन् । उनी फेला नपरेपछि आफन्तले कुशको शव बनाएर हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिसकेका छन्। यो घटनाबारे नेपाल सरकार केही नबोलेको गुनासो स्थानीयको छ। छानबिन समितिको टोलीसँग प्रत्यक्षदर्शीले एसएसबीले तुइनको तार फुकाल्दा जय सिंह बगेको बयान दिएका छन्।

भारतीय पक्षले धामीको खोजी कार्यमा पनि अवरोध गरेको छ। जय सिंहको खोजी गर्न प्रहरी प्रधान कार्यालयबाट प्राविधिकद्वय प्रहरी नायब निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोली ड्रोनसहित घटनास्थल पुगेको छ। मंगलबार सर्भे गरेको टोलीले बुधबार ड्रोनबाट खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता चन्दले बताएका छन्। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्रोन उडाउन अनुमति माग्दा भारीतय डिएम प्रशासनले नदिएको चन्दले बताए। ‘भारतीय पक्षले अनुमति नदिएकाले उचाइमा उडाउन सकिएको छैन। तलतल नदीको छेउमा नेपालतर्फ ड्रोन उडाएर खोजी कार्य भइरहेको छ’, उनले भने। तुइन फुकालेर जय सिंहलाई नदीमा खसाउने एसएसबी जवानलाई कारबाही गरेर पीडितलाई न्याय दिनुको सट्टा भारते एसएसबीले तुइन नफुकालेको जिकिर गर्दै आएको स्थानीयको गुनासो छ।

प्रकाशित: २८ श्रावण २०७८ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App