३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बीस वर्षदेखि हराएका नारायण भारतमा भेटिए

बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका नारायण केसी हराएको बीस वर्षपछि भारतमा भेटिएका छन्।  गाउँका आफन्त र साथीसँग रोजगारी गर्न भारत पुगेका उनी एक्कासी सम्पर्कविहीन भएका थिए। लामो समयसम्म घर नफर्केपछि र सम्पर्कमा पनि नआएपछि परिवार, आफन्तको आश मारिसकेको थियो। परिवारका अनुसार उनी २०५४ सालतिर रोजगारीका लागि भारत गएपनि २०५८ सालदेखि सम्पर्कमा थिएनन्।

परिवार र आफन्तले उनको मृत्यु भइसकेको अनुमान गरेपनि काज किरिया गर्न सकेका थिएनन्। भारतमा हराएको बीस वर्षपछि नारायण भेटिएपछि उनका परिवार र आफन्त अहिले चकित परेका छन्। ‘जिउँदो पाउने आशा मारिसकेको अवस्थामा बुवाको अवस्था सकुशल पाउँदा खुसी लागेको छ,’ छोरा राजुले नागरिकसँग भने ‘बुवा घरमा नहुँदा हामीलाई साहै्र नराम्रो लाग्थ्यो, अब चाही अभिभावक पाएको जस्तो अनुभूति भयो।’  

बुवा भारतमा कमाई गर्न जाँदा राजु करिव ६ वर्षका थिए। तत्कालिन नेकपा माओवादीको द्वन्द्व चर्किरहेको थियो, त्यही बेला रोजगारीका लागि नारायण नाबालक छोरा, छोरी र श्रीमतीलाई छाडेर भारत गएका हुन्। गाउँका आफन्त र साथीसँगै गएका उनले केही वर्षसम्म भारतको चण्डीगढमा काम गरे। चण्डीगढमा पाएको काम र पारिश्रमिक चित्त नबुझेपछि उनले त्यो ठाउँ छाडे। सँगै गएका गाउँका आफन्त र साथी रोजगारी गरेर घर फर्के। नारायण भने सम्पर्कमै आएनन्।  

परिवार र आफन्तले उनको अवस्था पत्ता लगाउन नेपाल र भारतका विभिन्न ठाउँमा खोजी गरे। देशमा द्वन्द्व चर्किएका बेला हराएका उनको अवस्था कतै पत्ता नलागेपछि परिवार र आफन्त निराश थिए। रोजगारी गर्न भारत पुगेका श्रीमान(नारायण) नफर्केपछि श्रीमतीलाई डिप्रेशनको समस्या बल्झियो। छोरा राजु र छोरी रितालाई पढाउन र घरको सम्पूर्ण खर्च चलाउन श्रीमतीलाई कठिन भयो। कमजोर आर्थिक अवस्था र डिप्रेशनले ग्रस्त भएकी श्रीमतीले आत्महत्या गरिन्। आमाको मृत्यु भएपछि नाबालक छोरा छोरीको विचल्ली भयो। छोरा राजु र छोरी रिता माउलीको साहारामा हुर्के, पढे। छोरी रिताले केहीवर्ष अघि बिवाह गरिन्। बैदेशिक रोजगारीमा कमाई गरी फर्केका राजु अहिले बिवाह गर्ने तयारीमा छन्। विदेशको कमाईबाट उनले गाउँमा राम्रै प्रगति गरेका छन्।  

यसरी भेटिए नारायण

भारतको केदारनाथ भन्ने ठाउँमा रोजगारी गर्न पुगेका बाँके, खजुराका कृष्ण सिंहले ‘नेपालगन्ज ग्यालरी’ नामक फेसबुक पेजमा केहीदिन अघि फोटोसहित एउटा सूचना सार्वजनिक गरे। फेसबुक पेजमा उनले नारायणको फोटो र ठेगानासहित अन्य विवरण पनि खुलाएका थिए। केदारनाथमा नेपाली मजदुरहरु लगेर कृष्ण पनि समय–समयमा पुग्दा रहेछन्। एकदिन कृष्ण र नारायणबीच चिनजान भएर कुराकानी भयो। त्यही क्रममा नारायणले नेपाली नागरिक हुनुको नाताले आफ्नो घटना सुनाए। कृष्ण छांगाबाट खसेझै भए। नारायणको फोटो मोबाईलले खिचे। उनको नेपालको ठेगानासहित बुवा, आमा र भाईको नाम पनि टिपे। नारायणले बताएको सबै कुरा लेखेर पोष्ट गरे।  

फेसबुक पेजमा सार्वजनिक गरेको फोटो झ्वाट्ट हेर्दा नारायण भनेर उनका आफन्तले सुरुमा चिन्नै सकेनन््। किनकी रोजगारीका लागि सुरुमा उनी भारत जाँदा करिव ३६ वर्ष जतिका थिए। उमेरले अहिले ५६ वर्ष पुगिसकेका उनको पहिचान बुवा र आमाको नामबाट भयो। फेसबुकबाट अवस्था पत्ता लागेपछि नारायण अहिले नेपालमा रहेका परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्।  

नारायणले आफू २० वर्षदेखि घर फर्किन नसक्नुको कारण भने खुलाउन सकेका छैनन्। तर, उनले भारतको केदारनाथमै बीस वर्ष समय बिताउनु परेको बताएका छन् । ‘रोजगारी गर्न भारत आउँदा मैले धेरै दुःख पाएँ, सुरुका वर्षमा कमाई राम्रो थिएन, पछि त घर फर्किनै सकेन,’ नागरिकसँग भने। आफू घर फर्किने प्रयास धेरै गर्दा पनि नसकेको उनी बताउँछन्। ‘घरको मायाले मलाई सताएकै हो, श्रीमती, छोरा र छोरीको याद आएकै हो, तर म फर्किनै सकेन, म यतै हराए,’ उनले थपे।  

नेपाल फर्किन नसकेपछि उनले भारतको केदारनाथमै विवाह गरे। ‘मैले केदारनाथमै बिवाह गरे, मसँग श्रीमती, तीन छोरी र एक छोरा छन्,’ उनले भने ‘दुई छोरीको त बिवाह नै भइसक्यो।’ भारतमै घर, जग्गा किनेको बताउने नारायणले त्यहाँको राशन कार्ड लगायत सबै कागजात पनि प्राप्त गरिसकेको सुनाए।

त्यहाँ आफूले भरियाको काम गर्ने गरेको बताए। भारतीय नागरिक बनिसके पनि नेपालको माया उतिकै रहेको बताए। नेपालमा रहेका आफ्नो परिवार र आफन्तलाई भेट्न दशैमा आउने उनले सुनाए। ‘मलाई नेपालको मायाले सताएको छ, ती डाँडा पाखा पखेराको याद सधैं आउँछ,’ नारायणले भने।

प्रकाशित: २७ श्रावण २०७८ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App