३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित

नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुईवटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

सोमबारदेखि सुरु गरिएको आन्दोलनको कार्यक्रम बिहीबार सम्मका लागि सार्वजनिक गरिएको छ। कर्मचारीहरुले बुधबारसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने र बिहीबारबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। प्राधिकरण टक्र्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समूहअनुकूल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुनै पनि हालतमा पास गर्न नदिनेगरी आन्दोलनका कार्यक्रम अगाडि बढाइएको लोकतान्त्रिक कर्मचारी संघको सदस्य सुजन भण्डारीले बताए।  

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद खनालले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरुको साँठगाँठमा  संस्था नीजिकरण गर्ने पाटोमा लगिएको बताए। प्राधिकरणको रक्षाका लागि आन्दोलन गरिएको उनले बताए।  

हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले प्रतिगामी विधेयकको संज्ञा दिदैँ राष्ट्रहित विपरितका विधेयक रोक्न सफल हुने विश्वास व्यक्त गरे।  

यता सरकारले आज (मंगलबार) प्रतिनिधि सभामा प्राधिकरण टुक्रयाउने गरी २ विधेयक दर्ता गरेको छ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा टेबल गरेको हो।

प्रकाशित: २६ श्रावण २०७८ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App