२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्य नाका बन्द, आवतजावत खुला

नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत रोक्दै प्रहरी। तस्बिरः चुमन/नागरिक

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानीस्थित मुख्य नाका दुई वर्षदेखि ढाट लगाएर बन्द गरिएको छ। मुख्य नाका प्राय जसो सुनसान देखिन्छ। तर, मुख्य नाकाको आपसपासको चोर बाटोमा भने थामिनसक्नुको भीड हुने गरेको छ। मुख्य नाका बन्द भए पनि चोर बाटो हुँदै दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका छन्। विगतमा तस्करहरुले प्रयोग गर्दै आएका नाकाहरु अहिले आवतजावत गर्ने मुख्य थलो बनेका छन्।

मुख्य नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको र अत्यावश्यक बाहेक आवतजावतमा पूर्ण रुपमा बन्देज गरिएको छ। तर, चोरा बाटोमा न त कुनै स्वास्थ्य परीक्षणको व्यवस्था छ, न त कुनै स्वास्थ्य मापदण्ड नै पालना भएको छ। दैनिक रुपमा नेपाल आउने र भारत जानेको भीड सीमाको दस गजामा हुने गरेको छ। यसरी अवैध रुपमा आवतजावत भइरहे पनि दुवै देशका सुरक्षाकर्मीले नजरअन्दाज गरिरहेका छन्।  

सीमामा खटिएका सुरक्षाकर्मीले आउजाउ गर्नेलाई कुनै रोकतोक गरेको देखिँदैन। जसले गर्दा सिमाना जोडिएका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्दो छ। प्रदेश १ का तीन वटा जिल्लाहरु झापा, सुनसरी र मोरङमा कोरोना संक्रमणको संख्या उच्च रहेको छ। पछिल्ला दिनहरुमा प्रदेश १ का तीन जिल्लामा संक्रमितको संख्या उच्च दरले बढ्दै गएको छ। 

सीमा क्षेत्रमा सरकारी अनुगमनमा जाँदा प्रहरी आवतजावत रोक्न केही नाकामा सक्रिय देखिए पनि अन्य समय खुला रुपमा आवतजावत हुने गरेको छ। खुला सिमानाका कारण आवतजावत रोक्न चुनौतीपूर्ण रहेको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु बताउँछन्। मुख्या नाका बाहेकका नाकाहरुमा कडाइ गरे धान खेतबाटै पनि आवतजावत गर्ने गरेका कारण अवैध आवागमन नियन्त्रण गर्न सजिलो नभएको उनीहरु बताउँछन्।

नेपाल–भारतमा पारिवारिक सम्बन्धका कारण र सीमा क्षेत्रका भारतीयहरु नेपाल उपचार गराउन र नेपालीहरु भारतको विभिन्न स्थानमा उपचार गराउन आउने जानेको संख्यामा कुनै कमी छैन। त्यसैगरी विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा दैनिक उपभोग्य सामान किनमेल गर्न जानेको ठूलै भीड हुने गरेको छ। दैनिक उपभोग्य वस्तुका साथै जोगबनी बजारमा लागू पदार्थ सेवन गर्न जानेको पनि ठूलै लर्को देखिन्छ। सर्वसाधारण मात्रै होइन सरकारी कर्मचारीसमेत किनमेल गर्न सरकारी साधन नै लिएर सीमावर्ती भारतको जोगबनी बजार जाने गरेका छन्। उनीहरुले सरकारी सवारीसाधन नेपालतर्फ राखेर जानेका गरेका छन्।  

सीमा क्षेत्र खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोर बाटोबाट आवतजावत गर्नेलाई कुनै रोकावट गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने कुनै काम भने गरेको देखिँदैन। भारतमा कोरोनाको तेस्रो भेरिएन्ट आइरहेको र नेपालमा पनि सरकारले तेस्रो भेरिएन्टका लागि आवश्यक तयारी थाली सकेको छ। प्रदेश १ को सरकारले तेस्रो भेरिएन्टको विरुद्ध पूर्व तयारी सुरु गरिसकेको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन्। 

प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पताललाई कोरोना उपचारका लागि आवश्यक पूर्वधार सुधार गर्ने काम सुरु गरिसकेको राईले बताइन्। तेस्रो भेरिएन्टका लागि जिल्ला अस्पतालहरुको क्षमता वृद्धि गर्ने, स्वास्थ्यकर्मी, चिकित्सकको व्यवस्था गर्ने लगायतका काम भइरहेको उनले जानकारी दिइन्।  

प्रदेश सरकारले मात्रै होइन स्थानीय तहहरुले पनि तेस्रो भेरिएन्टविरुद्ध तयारीहरु थालिसकेका छन्। संघीय सरकारले केही समय अगाडि दिएको निर्देशन अनुसार स्थानीय तहहरुले तेस्रो भेरिएन्टविरुद्धको तयारी सुरु गरेका हुन्। प्रदेश १ मा अहिलेसम्ममा १ लाख २२ हजार ३ सय २२ जना कोरोना संक्रमित भएका छन्। जसमा १ हजार ६ सय ८७ जनाको मृत्यु भयो भने सक्रिय संक्रमित ७ हजार ४ सय ९४ जना छन्।

प्रकाशित: २५ श्रावण २०७८ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App