१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ

बौद्धस्थित समता अस्पतालमा भएको एउटा आत्महत्यामा ‘दुरुत्साहन’ गरियो भनी सुरु भएको मुद्दाका प्रतिवादीहरूले सफाइ पाएका छन्। उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मिना गौतम सेडाईको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले यसअघि दिएको सफाइ आदेशलाई निरन्तरता दिएको हो।

समता स्कुलका सञ्चालक उत्तम सञ्जेलद्वारा स्थापित उक्त अस्पतालमा कार्यरत बिमला तामाङको आत्महत्यामा अस्पतालकी ‘म्याम’ भन्ने कला सञ्जेल भन्ने विष्णुकला खत्री, अस्पतालमै कार्यरत अरू दुईजना क्रमशः तीर्थकुमारी श्रेष्ठ र संगीता केसी विरुद्ध दुरुत्साहन मुद्दा चलेको थियो। २०७६ असार २ मा हराइरहेकी तामाङको शव अर्कोदिन बिहान अस्पतालको भित्री कोठामा भेटिएको थियो।

तामाङका पति बुद्धिराज योञ्जनले उनलाई आत्महत्यामा दुरुत्साहन गरिएको भन्दै खत्री, श्रेष्ठ र केसी विरुद्धमा मुद्दा दायर गरेका थिए। जिल्ला अदालत काठमाडौंले २०७६ चैत २० मा प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त आदेश विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गरेको हो। मृतकका पतिले श्रीमतीको अकस्मात मृत्युको समाचारलाई सहजै ग्रहण गर्न नसकेका कारण अप्रमाणित जाहेरीक आधारमा यो मुद्दा चलेको र जाहेरवालाले सम्झीबुझी समता अस्तालसमेतसँग वार्ता गरी श्रीमतीको शब बुझी धर्म परम्परा बमोजित सतगत गरिसकेको अवस्थामा अभियोग प्रमाणित हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको थियो।

‘सुरु जिल्ला अदालतबाट प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिई भएको फैसला अन्यथा नदेखिँदा परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी नेपाल सरकारको पुनरावेदन जिकिर, विद्वान उपन्यायाधिवक्ताको वहस जिकिर र यस अदालतमा प्रत्यार्थी झिकाउँदा ग्रहण गरिएको आधारसँग सहमत हुन सकिएन,’ उच्च अदालतको आदेशमा भनिएको छ। 

प्रकाशित: २५ श्रावण २०७८ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App