५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

डमरु हुर्काउन मसुरिया पुग्यो बाघ!

डमरु हुर्काउन पोथीबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ दुई डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको छ। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता जैविक मार्गहुँदै सहायक मार्ग मसुरिया आइपुगेको हो।  दुई डमरुसहित पोथी बाघ विगत एक महिनादेखि मसुरिया–राजीपुर क्षेत्रका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ। 

'विगत एक महिनादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन मसुरिया क्षेत्रको सामुदायिक वनमा आइपुगेको छ,’ सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘यहाँ पनि उसले स्थान परिवर्तन गर्दै कहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र कहिले दक्षिणतर्फका सामुदायिक वनमा सिकार खोज्दै बाघ डमरुसहित डुलिरहेको छ।’  

बाघले नजिकैको जंगलमा डमरु जन्माएर हुर्काउन त्यहाँ आइपुगेको हुन सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछानेले बताए। उनले भने,‘बाघ वसन्ता जैविक मार्ग क्षेत्रमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि डमरुसहित त्यो क्षेत्रमा आएको हुनसक्छ।’ बाघले बच्चा जन्माएपछि धेरै टाढाको यात्रा गर्न नसक्ने र आफूले बच्चा जन्माएको क्षेत्रमा असुरक्षित महसुस भएपछि नजिकैको जंगलमा डमरु हुर्काउन र सुरक्षित पार्न मसुरिया क्षेत्रमा आएको हुनसक्ने उनी बताउँछन्। 

भर्खरै जन्मेका डमरुलाई भाले बाघले खाइदिने भएकाले पोथी बाघ डमरु बचाउन बसन्ता जैविक मार्गको सहायक मार्ग मसुरिया क्षेत्रमा आइपुगेको छ। 

‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता क्षेत्रबाट मसुरिया क्षेत्रका सामुदायिक वनमा आएको हुनसक्छ,’ सीएफसीसीका अध्यक्ष सापकोटाले भने,‘बाघको बासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरुलाई भाले बाघबाट बचाउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा बाघ मसुरिया क्षेत्रमा आइपुगेको हुनसक्छ।’  

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने उनी सुझाउँछन्। ‘यस्तो बेला पोथी बाघले बढी समय डमरुको हेरचाहमै खर्चेको हुन्छ र भोकाएको पनि हुन्छ,’ उनले भने,‘त्यसैले यो बेला बाघ आफ्नो अगाडि जे भेटे पनि सिकार गर्छ।’ अहिले डमरुसहित बाघ शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, गौरीगणेश सामुदायिक वन, लालीगुरास सामुदायिक वन, हरियाली वसन्त सामुदायिक वन क्षेत्रमा डुलिरहेको सापकोटाले बताए।  पूर्व पश्चिम राजमार्गसँग जोडिएका यी सामुदायिक वनमा अहिले उपभोक्ताहरुलाई नजान पनि सूचित गरिएको उनी बताउँछन्। उनले भने,‘यो समयमा उपभोक्ताहरु जंगली साग खोज्न भन्दै जंगल जाने भएकाले त्यहाँ नजान हामीले सूचित गरेका छौँ।’  

डमरु बचाउन तथा सिकारको खोजी गर्दै बाघ त्यहाँसम्म आइपुगेको हुनसक्ने डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल बताउँछन्। ‘भाले बाघले डमरुलाई क्षति गर्न सक्ने भएकाले भाले बाघबाट जोगाउन पोथी बाघले डमरुलाई ल्याएको हुनसक्छ,’उनले भने,‘फेरि मसुरिया क्षेत्रका सामुदायिक वनमा बाघलाई पर्याप्त आहारा भएकाले पनि त्यो क्षेत्र बाघले रोजेको हुनसक्छ।’ यस्तो समयमा पोथी बाघले डमरुको हेरचाह गर्नमै समय बित्ने भएकाले पनि बाघ डमरुको आहाराका लागि सिकार खोज्दै यहाँसम्म पुगेको हुनसक्ने उनले बताए।    

प्रकाशित: २२ श्रावण २०७८ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App