८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले गोरखाको चुमनुब्रीमा झोलुंगे पुल चुँडियो

खाद्यान्न बोकेका खच्चड बाटैमा रोकिए

पहिरोले क्षती पुगेको चुमनुब्री–६ लोक्पा स्थित झोलुंगे पुल । तस्विर सौजन्यः सरोज लामा

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुंगे पुल चुँडिएको छ। मंगलवार रातीको पहिरोले लोक्पास्थित डुयु खोला पुल भत्काउँदा पुल चुँडिएको स्थानीयले बताएका छन्।  

स्थानीय सरोज लामाका अनुसार पुल चुँडिएपछि चुम्चेत र छेकम्पार आउजाउमा समस्या भएको छ । ‘मंगलवार बिहानसम्म मानिस वारपार गरिरहेका थिए’, उनले भने ‘बुधवार बिहान त पुल पहिरोले बगाएछ ।’ पुल चुँडिदा खाद्यान्न बोकेर गएका खच्चड बाटैमा रोकिएका छन्। ‘चार–पाँच ग्रुप (४–,५० वटा) खच्चड पुल चुँडिदा खाद्यान्न सहित रोकिएका छन्’ लामाले भने। उक्त पुल १० वर्ष अघि कादुरी संस्थाले निर्माण गरेको थियो।  

पैदल हिड्नेहरु पुल नहुँदाको भीरको बाटो खोज्दै हिडेका छन्। भारी बोकेर भने उक्त बाटो आउजाउ गर्ने नमिल्ने लामाले बताए। ‘१५ देखि १८ वटा बस्तीका मानिस त्यो पुलबाट आउजाउ गर्छन’ उनले भने ‘अब सदरमुकाम आउ–जाउ, खाद्यान्न ढुवानी गर्न पनि समस्या हुने भयो।’ सडक सञ्जाल नपुगेको त्यहाँ खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ।  

खच्चड व्यवसायी कसरी सामाग्री गन्तब्यसम्म पुर्‍याउने भन्ने अन्यौलमा छन्। पुरानो बाटो खन्ने तयारी गरिरहेको लामाले बताए । चुमनुब्री गाउँपालिकाले त्यहाँको अवस्थाबारे वडासँग जानकारी लिएर बैकल्पिक ब्यवस्था गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने ‘तत्कालका लागि बैकल्पिक बाटो खोल्ने अवस्था रहेछ भने गाउँपालिकाले सहयोग गर्छ, पुल दुईचार दिनमा बनाउन सक्ने अवस्था हुँदैन, त्यसका लागि पहल गर्छौँ।’

प्रकाशित: २० श्रावण २०७८ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App