२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हेलिकप्टरको महंगो ढुवानीले मनाङीलाई सकस

ढुवानी महंगो पर्दा संकलित राहत गाउँ पुग्न सकेन

मनाङको माथिल्लो क्षेत्रका बासिन्दालाई आइतबार हेलिकप्टरबाट पु¥याइएको राहत सामाग्री । तस्बिर सौजन्यः विनोद गुरुङ

असार पहिलो साताको बाढीपहिरोको वितण्डापछि हिमालपारिको जिल्ला मनाङमा खाद्यान्न सहित दैनिक उपभोग्य बस्तुको अभाव निम्तियो । बाढीको डुबान र पहिरोको त्रासले त्यो बेला घरभित्रको खाद्यान्न समेत घरमुलिले उपभोग गर्न पाएनन् । ज्यान जोगाउनकै लागि भागाभागको अवस्था आइपर्दा घरभित्रको अन्नपात भकारीमै डुब्यो ।  

बाढीपहिरोको चपेटामा परेका हिमाली जिल्ला मनाङका नागरिकको सहयोगका लागि अहिले धेरैतिर राहत जुट्न त थालेको छ । तर, ढुवानीमा समस्या हुँदा संकलित सामाग्री पनि जिल्लाका बासिन्दाको घरसम्म पु¥याउन सकस छ । बाढीपहिरोले बाटो बगाउँदा मोटर गुड्न नपाएपछि हेलिकप्टरबाहेक खाद्यान्न ढुवानीको अरु विकल्प छैन । त्यसैले संकलित राहत सामाग्री पनि गाउँसम्म उकाल्न नपाउँदा संकलन गरेकै ठाउँमा थन्किएको स्थानीय प्रशासनले बताएको छ ।  

‘हेलिकप्टर बाहेक ढुवानीको अरु विकल्प नै छैन । हेलिकप्टरको ढुवानी साह्ै महंगो पर्छ,’ मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भने, ‘ढुवानी भाडा महंगो पर्ने भएकोले कतिपयले संकलन गरेको राहत सामाग्री पनि जिल्लामा ल्याउन सकेका छैनन ।’ उनका अनुसार संकलित कतिपय राहत सामाग्री छिमेकी जिल्ला लम्जुङमै रोकिएको छ ।  

‘दुईलाख रुपैयाँको राहत सामाग्रीलाई मनाङको गाउँसम्म हेलिकप्टरबाट ढुवानी गर्दा ५ लाख रुपैयाँ खर्च पर्छ । त्यही भएर पनि जोकोहीले राहत बटुल्ने र ल्याउने आँट गर्न सकेनन,’ उनले भने, ‘चाहेर पनि राहत सामाग्री सहयोग गर्न नपाउँदा धेरै सहयोगी हात खुम्चिन बाध्य भए ।’ कम्तिमा आधादर्जन सहयोगी संस्थाले अहिले संकलित राहत सामाग्री संकलन गरेको जानकारि दिएको र महंगो ढुवानी पर्ने भएकोले ल्याउन नसकेको उनले बताए ।

‘ढुवानी भाडा महंगो पर्ने भएपछि हामीले पनि जथाभावि राहत संकलन नगर्न भनेका छौ । राहत संकलन गर्ने, तर, ढुवानी गर्न नसक्ने हो भने अर्थ राख्दैन,’ उनले भने, ‘प्रशासनले मात्र सधैं हेलिकप्टर चार्टर गरेर अरुले संकलन गरेको राहत सामाग्री ल्याउन सक्दैन ।’ जिल्लामा खाद्यान्नको अभाव नरहेकोले मनाङबासिका नाममा जथाभावि राहत संकलन नगर्न भनेको उनले बताए । ‘मनाङसम्म ल्याउन सकिन्न भने जथाभावि संकलन गरेर अर्थ राख्दैन । ढुवानी भाडा नै महंगो पर्ने भएपछि संकलन नगरेकै राम्रो हुन्छ,’ उनले भने, ‘मनाङका बाढीपीडितका लागि राहत संकलन गरेको हो भने मनाङसम्मै ल्याइदिनुपर्छ । आधा बाटोमा छाड्न पाइदैन ।’

अहिलेसम्म विभिन्न दाताहरुले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत भण्डै ३ सय बोरा (प्रतिबोरा २५ किलो) चामल राहत वितरण गरेका छन । त्यस्तै दाल, चिनी, घिउ, मस्यौरा लगायतका सामाग्री पनि सघाएका छन । ‘ढुवानी खर्च महंगो भएकोले पनि सबैले राहत जुटाउने र ल्याउने आँट गरेनन,’ प्रजिअ लामिछानेले भने ।  

आइतबार मात्र पूर्व मन्त्री टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेश सांसद चिन्ता बहादुर घलेले झन्डै ३० लाख रुपैयाँको ४५ टन खाद्यान्न मनाङका विभिन्न गाउँमा वितरण गरेका थिए । सांसदहरुले जुटाएको राहत वितरणको चाँजोपाँजो मिलाएका कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले पनि हिमाली जिल्लामा राहत पु¥याउनै सकस भएको बताए । ‘यो पटक त सेनाको हेलिकप्टरमा राहत सामाग्री ल्याइएको हो । यसअघि निजी हेलिकप्टर चार्टर गरेर खाद्यान्न ल्याउँदा ढुवानी खर्च नै महंगो परेको छ,’ उनले भने ।  

‘हेलिकप्टरबाट ढुवानी गर्दा भाडा नै महंगो पर्छ । संकलित सबै रकमले राहत सामाग्री जुटाउन पाउने र सस्तैमा ढुवानी गर्न सक्ने हो भने यहाँ सहज हुन्थ्यो,’ गुरुङले भने, ‘राहतका लागि जुटाएको ठुलो रकम नै ढुवानीमा खर्च हुन्छ । त्यही भएर पनि जो कोहीले यहाँसम्म राहत ल्याउन सक्दैनन् ।’ आइतबार राहत सामाग्री पु¥याएका नेताहरुले मनाङ ङिस्याङ गाउँपालिकाका ३५० घरका परिवारलाई बाँडेका थिए । सोमबार नाँसो गाउँपालिका–१ का ७१ घर परिवारलाई सामाग्री वितरण गरेका थिए ।  

गुरुङका अनुसार राहत सामाग्री लम्जुङको बेशीसहरमा थुपारेर त्यहाँबाट हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । बेशीसहरबाट माथिल्लो मनाङसम्म सामान ढुवानी गर्दा एकपटकको एकलाख, चामेसम्मको ७० हजार र तल्लो क्षेत्रका लागि ५५ हजार रुपैयाँ खर्च लाग्छ । नार र फू गाउँका बासिन्दाका लागि ढुवानी गर्दा अझै बढी पर्ने उनले बताए । महंगो भाडा तिरेर पनि धेरै सामाग्री उकाल्न समस्या रहेको उनले बताए । ‘ढुवानी खर्च नै महंगो छ । मोटर चल्ने अवस्था छैन । अहिलेका लागि महंगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गर्नुको विकल्प छैन,’ उनले भने, ‘राहत सामाग्री जुटाएर मात्र भएन, गाउँसम्म ढुवानी गर्नै कठिन छ ।’  

प्रकाशित: १८ श्रावण २०७८ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App