coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मेलम्चीमा फेरि बाढी ४६ घर र दुई पुल बगे

मेलम्ची खोलामा फेरि आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ। लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो। शनिबार राति हेलम्बु क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको हो।

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’

अघिल्लो बाढीमा जोगिएको यो पक्की पुल (ट्रस  ब्रिज) आइतबार बिहान बगेको हो। शनिबार रातभर मेलम्ची यो पक्की पुलमाथिबाट बगेको थियो। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुलमात्र बग्नबाट बचेको थियो। गाउँपालिका र स्थानीयको प्रयासमा जाली गारो र ढुंगाले सहयोग दिएर यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनः अर्को बाढी आएको हो। बाढीले चनौटे बजारमा बढी क्षति गरेको प्रहरीले जनाएको छ।

अघिल्लो बाढीपछि क्षति पुगेका अधिकांश घर खाली थिए। बाढीले ल्याएको लेदो माटो र ढुंगा पन्छाएपछि केही घरमा मात्र स्थानीय बस्न थालेका थिए। धेरै घर खाली रहेको र बसोबास भएका घरका स्थानीयले पनि समयमै छोडेकाले मानवीय क्षति भने हुन पाएन। बाढीले ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार बाढीले अरू दुई झोलुंगे पुल छोपेको छ। पुल माथिबाट मेलम्ची बगेकाले यी पुलको क्षतिको अवस्था यकिन छैन।

बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो। बाढीले यसअघि जोगिएका ग्याल्थुम र तालामाराङ बजार जोखिममा परेको प्रहरीले जनाएको छ। तालामाराङको प्रहरी चौकी बाढीको जोखिममा परेपछि शनिबार राति नै सुरक्षाकर्मी अन्यत्र सरेका छन्। मेलम्ची वारपार भएर नदीको दुवैतिर कटान गर्दै बगिरहेको छ। यसअघि गत असार १ गते हेलम्बु गाउँपालिका–१ भ्रेमाथाङबाट आएको पहिरोका कारणले मेलम्ची खोलामा बाढी आउँदा झन्डै ३० किलोमिटर तल मेलम्ची बजारसम्म ठूलो जनधनको क्षति पुगेको थियो।  

त्यसबेला बाढीबाट पाँचजनाको मृत्यु भएको थियो। अझै २० जना बेपत्ता छन्। बाढीले अम्बाथान, तिम्बु, चनौटे र पुरानो मेलम्ची बजार तहसनसह बनाएको थियो। बाढीले तत्लो तटीय क्षेत्रका तीन सय ३७ घरमा क्षति पुर्‍याउनुको साथै सात पक्की, १४ झोलुंगे पुल, ३२ विद्यालय भवन र १० ट्राउट माछा फार्म बगाएको थियो।

उक्त बाढीबाट मेलम्ची नगरापालिका र हेलम्बु गाउँपालिकाका तीन सय ३४ घर परिवार विस्थापित भएका थिए भने दुई सय ७७ घरपरिवार बाढीको प्रत्यक्ष जोखिममा परेका थिए। बाढीपीडित सम्हालिन नपाउँदै अर्को विपत्ति थपिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

खतरा टरेको छैन: विज्ञ

दोस्रो बाढीपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा आइतबार बिहान हेलिकोप्टर चढेर भ्रेमाथाङको अवलोकनमा पुगे। ‘पहिरोले थुपारेको लेदो माटो वर्षासँगै बग्दा फेरि बाढी आएको हो,’ उनले भने। मेलम्चीको मुहानमध्येको एक भ्रेमाथाङमा निकै धेरै मात्रामा लेदो थुप्रिएको उनले जानकारी दिए।

विज्ञहरू पनि भ्रेमाथाङमा थुप्रिएको लेदो बगेर मेलम्चीमा बाढी आएका बताउँछन्। डेढ महिनाअघि थुप्रिएको लेदो माटो वर्षाले खोतल्दा यस्तो बाढीको पुनरावृत्ति भइरहने खतरा उनीहरूले औंल्याएका छन्। हेलम्बु गाउँपालिका–१ मा पर्ने भ्रेमाथाङ समुद्र सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा छ। हेलम्बुको अन्तिम बस्ती मेलम्चीघ्याङबाट सात किलोमिटर उत्तरमा रहेको भ्रेमाथाङ दुई किलामिटर लम्बाइ र एकदेखि डेढ किमि चौडाइ आकारमा फैलिएको छ। विज्ञहरूका अनुसार गत असार १ गते भ्रेमाथाङको चौडाइतिरबाट २५ प्रतिशत जमिन पहिरो बनेर खसेको थियो। ‘त्यही समथर चौरमा थुप्रिएको लेदो माटो वर्षासँगै बगेर पुनः बाढी आएको हो,’ १० वर्षदेखि मेलम्ची जलाधार क्षेत्रको अध्ययन गरिरहेका वातावरणविज्ञ डा. रविनराज निरौलाले भने । उनका अनुसार भूकम्पले भ्रेमाथाङ र आसपासको जमिन चिराचिरा बनाएको थियो।

अनुमान गरिएको भन्दा बढी गेग्रान थुप्रिएकाले तल्लो तटीय क्षेत्र उच्च जोखिममा रहेको उनी औंल्याउँछन्। नदी तटीय क्षेत्रका बस्ती सुरक्षित स्थलमा सारेर दीर्घकालीन योजना बनाउनुबाहेक अरु विकल्प नभएको उनले बताए। उनका अनुसार भ्रेमाथाङमा १८–२० फिट अग्लो बुद्ध गुम्बा थियो। टुप्पोको झन्डै दुई फिटबाहेक यो गुम्बा अघिल्लो पहिरोको लेदोले पुरिएको छ। ‘त्यति ठूलो समथर चौरमा यो उचाइमा गेग्रान थुप्रिनु भनेको विशालै हो,’ निरौलाले भने, ‘हेलम्बु क्षेत्रमा जटिल समस्या देखापरेको छ। सावधानीबाहेक तत्काल यसको समाधान छैन।’

जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्रमा भने पछिल्लो २४ घण्टामा हेलम्बु क्षेत्रमा ठूलो वर्षा भएको रेकर्ड छैन। विभागका अनुसार हेलम्बुनजिकैको सेर्माथाङमा २०.८ र थाङपालधापमा ३७.८ मिलिलिटर पानी परेको रेकर्ड छ। स्थानीय भने शनिबार अपराह्न ४ देखि ६ बजेसम्म सामान्य र त्यसपछि भारी वर्षा भएको बताउँछन् । वर्षासँगै मेलम्चीको आवाज बढेपछि उनीहरूले तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरेका थिए। विज्ञका अनुसार हेलम्बुको माथिल्लो क्षेत्रमा औसतभन्दा बढी नै वर्षा हुन्छ। सेर्माथाङ र धापको केन्द्रले हेलम्बुका मेलम्चीघ्याङ, भ्रेमाथाङलगायत ठाउँमा भएको वर्षाको मापन गर्न सक्दैन। पहिरो र बाढीको उद्गमस्थलमा मापन केन्द्रको अभाव भएको उनीहरू बताउँछन्।

भूगर्भविद् श्रीकमल द्विवेदीले पहिरोपछि मेलम्चीमा भेलबाढी आएको बताए। ‘तीव्र गतिमा बग्ने भेलबाढीको क्षति भयावह हुन्छ,’ उनले भने। वर्षा सकिएपछि बग्न प्रशस्त ठाउँ दिएर नदीलाई पुरानै धारमा फर्काउँदै दायाँ–बायाँ जाली गारो र ढुंगाको टेवा पर्खाल बनाएरमात्रै सम्भावित बाढीको क्षति कम गर्न सकिने उनको सुझाव छ।

प्रकाशित: १८ श्रावण २०७८ ००:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App