८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो

माछा मार्ने क्रममा डुबेर बेपत्ता चौधरीको खोजी गर्दै स्थानीय । तस्बिरः नागरिक

कर्णाली नदीमा बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। यस वर्ष मात्रै दुई दिनको अवधिमा पाँच जना बेपत्ता भए भने एक जनाले ज्यान गुमाए। बेपत्ता भएकाहरु समेत जीवितै भेटिने सम्भावना ज्यादै न्यून रहेको खोजी कार्यमा संलग्नहरु बताउँछन्।

आइतवार मात्रै कर्णाली नदीमा डुंगा पल्टिएर एकै ठाउँका एक महिलाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन्। प्रहरीका अनुसार ज्यान गुमाउनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा मलेखाका १९ वर्षीया धनसरा सलामी मगर रहेका छन्। उनलाई नदीमा डुब्दै गरेको अवस्थामा उद्वार गरिएको थियो। 

नदीमा डुबेर घाइते भएकी सलामी मगरको केही समय पछि ज्यान गएको स्थानीय शिक्षक पदमबहादुर भुलले जानकारी दिए। उनका १ महिनाका छोरा कर्ण घाइते छन्। उनको सोल्टास्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ।  

सोही घटनामा कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखाकै २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा बेपत्ता छन्। प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन्। पौडिएर जोगिनेमा दुईजना डुंगा चालक छन्।  

स्थानीयका अनुसार उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेका बेला मध्यान्ह १२ बजेतिर डुंगा दुर्घटना भएको थियो।  

त्यस्तै शुक्रबार मात्रै डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुबी जोशी समेत कर्णाली नदीमा बेपत्ता भएका छन्। उनीहरुको अवस्था समेत अझै अज्ञात छ। प्रहरीले दुवै घटनाका बेपत्ताको खोजी कार्य जारी रहेको बताएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले पानीको बहावले खोजी कार्यमा कठिनाई भैरहेको जानकारी दिए।  

जोशी दम्पत्ती चढेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमा खसेको थियो। उनीहरु सवार जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ। जीपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरीक्षक पन्तले बताए।  

उनीहरु कर्णाली चिसापानीबाट करिव साढे तीन किलोमिटर उत्तर मोहन्याल गाउँपालिका–७ बतासे डाँडाबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।  

उनीहरुसँगै जीपमा रहेका तीन बालबालिका भने घाइते अवस्थामा नदी किनारमा भेटिएका थिए। घाइते अवस्थामा भेटिनेमा १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन्। उनीहरु सबै जोशी दम्पत्तीका छोराछोरीहरु हुन्। उनीहरुको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ। सो जीप जोशी आफैले चलाएको बताइएको छ। जीप ब्याक गर्ने क्रममा नदीमा खसेको हुनसक्ने प्रहरीको आशंका छ। जोशीको परिवार नेपालगञ्जमा उपचार गरेर घर फर्किने क्रममा चिसापानी–सोल्टा सडक खण्ड घुम्न गएको बुझिएको छ।

केही दिन अघि टीकापुर नगरपालिका–१ शक्तिनगरका २३ वर्षका सागर चौधरी समेत कर्णाली नदीमा डुबेर बेपत्ता भए। उनी असार १३ गते माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। उनीसँगै माछा मार्न गएकाहरुले चौधरी अचानक नदीमा डुबेको बताएका छन्।  

बेपत्ता चौधरीको प्रहरी र स्थानीय युवाहरुले खोजी गरेपनि अवस्था पत्ता लगाउन सकेन। उनी समेत जीवितै भेटिने सम्भावना नभएपछि खोजी कार्य बन्द गरिएको थियो।  

कर्णाली नदीमा हरेक वर्ष ज्यान गुमाउनेको संख्या बढ्दो छ। उनीहरु कोही डुंगा तर्ने क्रममा त कोही पौडी खेल्ने र माछा मार्ने क्रममा डुबेर बेपत्ता हुन्छन्। कर्णाली नदीमा डुबेर बेपत्ता भएका मध्ये प्रायः धेरैजसोको अवस्था अज्ञात नै रहन्छ। 

विगत केही वर्ष यता कर्णाली नदीमा डुबेर बेपत्ताहरुको अवस्था अज्ञात नै छ।

प्रकाशित: १७ श्रावण २०७८ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App