दार्चुला व्यास गाउँपालिका वडा नं २ का ३३ वर्षीय जय सिंह धामीले घरमा बसेर परिवार पाल्न समस्या भएकाले दुई वर्ष अघि नै वैदेशिक रोजगारीमा जाने सोच बनाए। सेक्युरिटी गार्डमा राम्रो काम लगाइदिने भन्दै एक जना बिचौलियाले उनलाई दुबई पठायो।
दुबई पुगेर २/३ महिनासम्म पनि काम नपाएर बिचल्ली भएपछि घरबाट खर्च मगाएर उनी घर फर्के। घरमा बसेर परिवार पाल्न समस्या भएपछि उनी राम्रो काम र दाम पाइने देशको बारेमा बुझ्न काठमाडौ जाने सोच बनाए। शुक्रबार बिहानै गाउँका दुई जनासँग उनी काठमाडौ जान हिँडे। सदरमुकाम पुग्न महाकाली तरेर भारतको बाटो भएर जानुको विकल्प थिएन।
उनी गाउँबाट करिव २० मिनेट जति ओरालो हिँडेर महाकाली नदीको छेउमा पुगे। महाकाली नदी उर्लीरहेको थियो। गाउँका गौर सिंह धामी, अमर सिंह धामी, बहादुर सिंह धामी र मनिराम धामी गरेर ४ जना तुईन तरेर नदी पार गरीसकेका थिए। त्यतिबेला पारी पट्टी भारतीय एसएसवी जवान आईनसकेको प्रत्यक्षदर्शी कल्याण सिंह धामीले बताए।
‘जयसिंह धामी पारि पुग्न करिव एक मिटर मात्रै बाँकी थियो। पोशाकमा रहेका एसएसवीको जवानले रुखमा बाँधेको तार फुकाल्न थाल्यो, मैले तार फुकाल्न लागेको देखेपछि नफुकाल्न भनेर चिच्याए’, उनले भने,‘फुकालेपछि तुईनको तारबीच नदीमा पर्यो, पारी किनारमा पुग्नै लागेको जयसिहं धामी पनि तारसँगै हुत्तिएर उर्लदो नदीको भेलमा खसेर बगे।’
जय सिंह धामी, बिक्रम रंगोली र अमिता धामी तीन जना महाकाली छेउमा पुगे। जयसिंह धामी तुईन तर्न थाले। उनी तुईनमा झुण्डिएर तरिरहेका बेला पारीपट्टी दुई जना एसएसवी जवान आए। नेपालतिर वारी ठूलो ढुंगाको सपाेर्ट लिएर गाडीको एउटा काठको खम्वामा तुईनको तार बाधिएको थियो। भने पारी पट्टी टुडीको रुख थियो, त्यहि रुखमा तार बाँधिएको थियो।
‘जयसिंह धामी पारि पुग्न करिव एक मिटर मात्रै बाँकी थियो। पोशाकमा रहेका एसएसवीको जवानले रुखमा बाँधेको तार फुकाल्न थाल्यो, मैले तार फुकाल्न लागेको देखेपछि नफुकाल्न भनेर चिच्याए’, उनले भने,‘फुकालेपछि तुईनको तारबीच नदीमा पर्यो, पारी किनारमा पुग्नै लागेको जयसिहं धामी पनि तारसँगै हुत्तिएर उर्लदो नदीको भेलमा खसेर बगे।’
तुईन फुकालेर नदीमा युवक बगेपछि दुईजना एसएसवी भागेर गएको उनले बताए। कल्याङ सिंह २१ वर्षदेखि यो घाटमा तुईन तराउने काम गर्दै आएको बताउँछन्। उनी बिहानदेखि साँझसम्म यो घाटमा बसेर तुईनमार्फत स्थानीयलाई महकाली नदी तराउने काम गर्छन्।
उनी तुईन तरिरहेका बेला एसएसवी जवानले तुईन फुकालेको वारीपट्टी रहेका कल्याणसहित तीन जना प्रत्यक्षदर्शीले देखेको वडा नम्वर २ का वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले बताए। ‘महाकालीको छेउमा नेपालतर्फ रहेका ३ जना प्रत्यक्षदर्शीले भारतीय एसएसवीका जवानले तुईन फुकालेर जय सिंह नदीमा खसेर बगेको देखेका छन्’, उनले भने।
धामीको घरमा पत्नी, ८ वर्षको छोरा र ३ वर्षको छोरी छन्। सानो परिवारको सुन्दर भविष्यको सपना बोकेर उनी राम्रो आम्दानी हुने वैदेशिक रोजगारमा जान चाहान्थे। ‘पहिले दुबई जाँदा दलालबाट ठगिए, घरमा बसेर परिवार पाल्न सकिँदैन’, उनका भाई नरेन्द्र सिंह धामीले भने,‘दाजु काठमाडौ गएर राम्रो रोजगारी पाइने देशका लागि भिसा अप्लाई गर्न सोधखोज गर्न जान लाग्नु भएको थियो।’
उनी सँगै उनका परिवारका सुन्दर सपना पनि महाकाली नदीको भेलमा बगेका छन्। ‘भाउजु घटना सुनेदेखि अर्धबेहोश भएकी छन्, अहिले सम्म बोल्न सकिरहनु भएको छैन। पटक पटक बेहोश हुने र होश भैरहेको छ’, उनले भने,‘दाजुसँगै सबै सपना बगेकाले धेरै पीडा भएको छ, भाउजुको अवस्था त हेर्न नै नसकिने छ।’ जय सिंह सुरुमा नेपाली सेनाको जवानमा कार्यरत थिए। केही वर्षपछि उनले नेपाली सेनाको जागिर छोडे।
शुक्रबार बिहान नदीमा खसेको उनी आइतबारसम्म फेला परेका छैनन्। भारतीय एसएसवीका जवानले तुईन फुकालेर दाजुलाई नदीमा बगाएको उनले बताए। तीन जना प्रत्यक्षदर्शीले तुईन फुकालेर दाजुलाई नदीमा खसाएको देखेको उनी बताउँछन्।
‘तुईन काटेर दाजुलाई नदीमा बगाउने माथि कारबाही हुनुपर्छ’
तुईन फुकालेर जयसिह धामीलाई जिउँदै नदीमा बगाउने भारतीय एसएसवीका जवानलाई कारबाही हुनुपर्ने माग आफन्त तथा स्थानीयले राखेका छन्। ‘तुईन फुकालेर मेरो दाजुलाई नदीमा खसाल्ने प्रहरी जवानलाई कारबाही हुनुपर्छ’, भाई नरेन्द्रले भने,‘भारतीय एसएसवी जवानलाई कारबाही नहुँन्जेल हामी परिवारको पीडा कम हुँदैन।’
यसैगरि जयसिंहका ७२ वर्षीय वृद्ध वुवा दिलिप सिंह धामीले छोरालाई तुईन फुकालेर नदीमा बगाउनेलाई कारबाही हुनुपर्ने बताएका छन्। ‘मेरो छोरालाई नदीमा बगाएर बुहारी र नाती नातिनाको बिचल्ली बनाईदियो’, उनले भने,‘दोषीलाई कारबाही गरियोस्।’ उनका ४ भाई छोरा मध्य जयसिंह माईलो हुन्।
आफन्त तथा स्थानीयले शुक्रबार नै जिल्ला प्रशासन दार्चुलामा कारबाहीका लागि निवेदन दर्ता गराएका थिए। भारतीय पाङलान थानामा पनि कारबाहीका लागि स्थानीयले निवेदन दिएको बताएका छन्।
सदरमुकाम जान भारतको बाटो
भारतले नेपाली भूभाग अतिक्रमण गरेको कालापानी क्षेत्रमा पर्ने व्यास गाउँपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम भारत भएर ओहोरदोहोर गर्नुपर्छ। ६ वडा रहेको व्यास गाउँपालिकाका बासिन्दाले तुईन तरेर महाकाली नदी पार गरि भारतको बाटो भएर सदरमुकाम ओहोरदोहोर गर्ने गरेका छन्।
नेपालको बाटो पैदल हिँडेर सदरमुकाम पुग्न डेढ दिन जति लाग्छ। ‘महाकाली तरेर १५, २० मिटेर उकालो उक्लेपछि पारीपट्टी भारतको पिथरागड जिल्लाको पाङला भन्ने ठाउँमा राम्रो सडक छ, सजिलै सवारीसाधन पाईन्छ। धार्चुला हुँदै दार्चुला डेढ घण्टामै पुग्न सकिन्छ’, वडा अध्यक्ष बुढाथोकीले भने।
महाकाली तर्न ८ ठाउँमा तुईन रहेको वडा नं २ का अध्यक्ष बुढाथोकीले बताए। मलघाट, डुम्लिङ, वर्सिबगर, मलघट्टे, डोकट, बिन्डला र बयालीमा तुईनमार्फत व्यास गाउँपालिकाका बासिन्दा महाकाली तरेर भारतको बाटो हुँदै सदरमुकाम खलंगा ओहोरदोहोर गर्ने गरेको उनी बताउँछन्।
तुईन विस्थापित गर्न ४ ठाउँमा झोलुंगे पुलको निर्माणको ठेक्का सम्झौता भएको थियो। मालघाटमा पनि तीन वर्ष अघि नै झोलुंगे पुल निर्माणको सम्झौता भएपनि निर्माण व्यवसायीको लापरबाहीले निर्माणको काम अलपत्र परेको छ।
व्यास गाउँपालिका वडा नं २ मा मात्र २०४९ साल यता १८ जनाको तुईन खसेर ज्यान गएको वडा नं २ का अध्यक्ष बुढाथोकीले बताए। कालापानी क्षेत्रको विवाद बढेपछि पछिल्ला दिनमा भारत पक्षले कालापानी क्षेत्रका बासिन्दालाई भारतको बाटो हिँड्डुल गर्दा दुर्व्यवहार गर्न थालेको स्थानीय बताउँछन्।
एसएसवीद्वारा सँधै दुव्यर्वहार
भारतको बाटो भएर ओहोरदोहोर गर्दा एसएसविका जवानले कुटपिट र दुर्व्यवहार गर्ने गरेको स्थानीय बताउँछन्। ‘५/६ दिनअघि म पनि तुईन तरेर भारतको बाटो भएर खलँगा जाने क्रममा एसएसवीका जवानले दुर्व्यवहार गरेका थिए’, नरेन्द्रले भने। भारतको बाटो ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।
‘हामी सीमाका बासिन्दाको पीडा कसलाई भन्ने, आफ्नो जिल्ला सदरमुकाम जान पनि बाटो छैन, नुन तेल किन्न भारतकै बाटो जानु पर्छ’, उनले भने, ‘भारतीय एसएसवीको दादागिरी र ज्यादती हामीले कति सहने?’ समानहरु खोसेर नदीमा फालिदिने, कुटपिट गर्ने, दुर्व्यवहार गर्ने गरेको स्थानीय बताउँछन्। एसएसवीका जवानले पटक पटक तुईन काट्ने र फुकाल्ने गरेका छन्।
पछिल्लो दुई साता यता बढी दुःख दिन लागेको कल्याण सिंह धामीले बताए।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले शनिबार एक विज्ञप्ती जारी गरि भारतीय एसएसवीका जवानले तुईन काटेकाले जयसिहं धामी नदीमा खसेर बेपत्ता भएको भन्ने कुरा पुष्टी नभइसकेको बताएका छन्। उक्त घटनाको तथ्य सत्य जानकारी गराई कारबाही अगाडि बढाउन भारतीय पक्षका समकक्षीलाई पत्राचार गरेको उनले बताएकी छन्।
भारतीय एसएसवीका जवानले तुईन खोल्दा जयसिंह धामी नदीमा बगेको भन्ने कुरा बुझिन आएकोले सत्यतथ्य बुझेर कारबाही अगाडि बढाउन अनुरोध गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार पिथौरागढका डिएमलाई ईमेलमार्फत पत्राचार गरेका थिए।
‘भारतीय समकक्षीलाई पत्राचार गरिसकेको र सो घटना छानबिन अनुसन्धानकै क्रममा रहेकोले सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा दुई देशको सम्वन्धमा खलल पुग्ने किसिमका सूचना समाचार प्रकाशन नगरिदिन अनुरोध छ’, विज्ञप्तीमा भनिएकाे छ। सशस्त्र प्रहरी बल नेपाल नं ४४, गण, दार्चुला जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाबाट टोली घटनास्थलमा अनुसन्धानको लागि खटिएको उनले बताइन्।
एसएसवीका जवानले तुईन काटेको घटनाको चौतर्फी विरोध
एसएसवीका जवानले तुईन फुकालेर युवक नदीमा खसेको घटनाको चौतर्फी विरोध भएको छ। बिभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज र सर्वसधारणले चर्को विरोध जनाएका छन्। समाजिक सन्जालमा घटनामा संलग्न एसएसवी जवानलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिइनु पर्ने माग राखेका छन्।
भारतीय एसएसवीले तुईनबाट धामी नदीमा खसेको घटनामा एसएसवीका जवानको संलग्नता नरहेको जिकिर गरेका छन्।
प्रकाशित: १७ श्रावण २०७८ ११:३४ आइतबार