४ वैशाख २०८१ मंगलबार
समाज

तुइनमा झुण्डिएको सुदूर: महाकालीमा बग्दै सपना

फाइल तस्बिर ।

दार्चुलाको व्याँस गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी आफ्नै देशको सदरमुकाम काठमाडौं जानका लागि भन्दै घरबाट हिँडे। स्वदेशबाटै देशको सदरमुकाम पुग्नै नसकिने भएपछि उनी गाउँपारिको भारतीय भूमि भएर आफ्नै देशको सदरमुकाम हिँडेका हुन्। 

गाउँबाट भारतीय सहर जान पनि बीचमा महाकाली नदी पर्दछ। महाकाली नदीमा पुल नहुँदा वर्षौदेखि उनीहरु तुइनकै सहारामा वारपार गर्दै आएका थिए। त्यही तुइन तरेर धामी पनि भारतीय बाटो हुँदै पुनः नेपाल भएर देशको सदरमुकाम काठमाडौं जाँदै थिए। गाउँबाट पारि भारत छिर्ने बाटोमा हालिएको तुइनबाट महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएपछि उनको सपना पनि तुइनबाटै चुडिँएर बग्यो महाकाली नदीमा। 

झोलुङ्गे पुल निर्माण नहुँदा अस्थायी रुपमा हालिएको तुइन तरेर स्वदेशको बाटो नभएपछि भारत छिर्न खोजेका धामी तुइन तर्दैगर्दा शुक्रबार बिहान साढे ८ बजे तुइनमा झुण्डिएर महाकाली नदी तर्दैगर्दा बीचमै डोरी चुँडिएपछि सपना महाकालीमा हेलियो। उनको शव शनिबार दिउँसोसम्म भेटिएको छैन। शव खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी महाकाली नदी किनारमै छन्।

दार्चुलाको राप्लास्थित दुम्लिंग, माल, रिठान, सुन्सेराको बर्तीबगड मलघट, मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाड गरेर ९ स्थानमा महाकाली नदीमाथि तुइन सञ्चालनमा छन्।

यस्तै २०७५ असार ३० गतेका दिन बझाङस्थित बाउली खोलामा पुल नहुँदा खोलामा बनाइएको साँघु तर्दैगर्दा दुई बालिकाको बगेर मृत्यु भएको थियो। सुर्मा गाउँपालिका–२, की १५ वर्षीया विमलाकुमारी बोहरा र सोही गाउँकी ९ वर्षीया रिनुकुमारी बोहरा विद्यालयबाट घर फर्कने क्रममा बगेर बेपत्ता भएका थिए। खोला तथा नदीमा पुल नहुँदा बर्सेनि तुइन तर्दैगर्दा यहाँका नागरिकको सपना चुँडिदै गएको छ।  

२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री निर्वाचितपछि पदभार ग्रहण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए। तुइन, फड्के तथा साँघुलाई विस्थापित गर्ने भनेर निर्णयमा हस्ताक्षर गरेको ६ वर्ष वितिसक्दा पनि दुर्गम क्षेत्रका तुइन विस्थापित हुन नसक्दा आमनागरिकले अकालमै ज्यान गुमाउनु परेको छ।  

झोलुङ्गे पुल नहुँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका ठूला साना नदी तथा खोला तर्नका लागि स्थानीयले तुइन, फड्के र साँघुको प्रयोग गर्दै आइरहेका छन्। सुदूरपश्चिममा सबैभन्दा बढी स्थानमा नागरिकले तुइन तरेर खोला वारपार गर्दै आएका छन्। दार्चुलाको ९ स्थानमा अहिले पनि तुइनकै सहारामा स्थानीयले खोला वारपार गर्नु पर्ने बाध्यता छ। दार्चुलाको उत्तरी क्षेत्रका स्थानीय तुइनको भरमा महाकली नदी वारपार गर्दै आएका छन्। हाल तुइनको भरमा नदी वारपार गर्दै आएका स्थानीय सधैँ मनभित्र डर बोकेर भारतीय मार्ग तथा बजारको प्रयोग गर्दै आएका छन्।

सदरमुकाम खलंगा आवतजावत तथा खाद्यान्न आपूर्तिमा सहजता ल्याउन तुइनलाई विकल्पको रुपमा प्रयोग गरिएको भए पनि अब यो नियति नै बनेको छ। नेपाल–भारत सीमावर्ती बजार धारचुला ओहरदोहर तुइनकै भरमा गरिन्छ। दैनिक उपभोग्यलगायतका सामानका लागि भारतीय बजारमा निर्भर दार्चुलाका उत्तरी ब्यास गाउँपालिका क्षेत्रका बासिन्दा प्रत्यक्ष रुपमा प्रयोगकर्ता हुन्। जिल्लाको राप्ला, सुन्सेरा, धौलाकोट र हुतीका स्थानीयले तुइनको प्रयोग गरी दैनिकी चलाउने गरेका छन्। 

हाल महाकाली नदीमा ९ स्थानमा तुइन सञ्चालन गरिएको स्थानीय बताउँछन्। राप्लाको दुम्लिंग, माल, रिठान, सुन्सेराको बर्तीबगड मलघट, मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाडमा महाकाली नदीमा तुइन सञ्चालनमा छन्। विगत वर्षमा पनि बर्सेनि मानवीय क्षति हुने गरेका तुइनका घटना घट्ने गरे पनि मुद्दाको रुपमा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

तुइनको भरमा नदी वारपार गर्दै आएका स्थानीय सधैँ मनमा डर बोकेर भारतीय मार्ग तथा बजारको प्रयोग गर्दै आएका छन्। हत्केलामा ज्यान राखेर तुइन तर्नुपर्ने बाध्यता रहेको स्थानीय पत्रकार प्रेम चुनारा बताउँछन्। उनले भने,‘केही ठाउँमा झोलुङ्गे पुल निर्माणका ठेक्का भए पनि समयमै निर्माण नहुँदा स्थानीयले तुइनकै भर पर्नु परेको छ।’ तुइन तर्दा बर्सेनि स्थानीयले महाकाली नदीमा हेलिएर ज्यान गुमाउनु परेको उनले बताए।  

यस्तै पुल अभावमा बझाङस्थित जयपृथ्वी नगरपालिकाका वडा नम्बर ११ र तलकोटको वडा नम्बर १ जोड्ने सुनिगाडको पिनतुसीमा अझै तुइनकै सहारामा स्थानीय वारपार गर्न बाध्य छन्। यस्तै सुर्माको धौलीगाड, बाउलीगाडको तडुल्यान, कालंगाको चटे र साइपाल गाउँपालिकाको घाटगंगास्थित चिड्केमा पनि तुइनकै सहारामा स्थानीयले खोला पारको दैनिकी गरिरहेका छन्। तुइन, साँघु र फड्के तर्दैगर्दा रिँगटा लागी नदीमा खसेर मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। 

प्रकाशित: १६ श्रावण २०७८ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App