४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नगद र सुन लुट्न साथीको हत्यामा संलग्न तीन जना पक्राउ

घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय पर्सा

नगद र सुन लुटपाट गर्ने उद्देश्यले चार जना मिलेर एक जना साथीको हत्या गरेको घट्ना वीरगन्जमा सार्वजनिक भएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ काठमाडौंको गोंगबु बस्दै आएका र पेसाले ट्याक्सी चालक रहेका २७ वर्षीय ज्ञानु पाख्रिनको हत्या भएको हो। उनलाई उनका पूर्वपरिचित साथीहरुले वीरगन्ज बोलाइ हत्या गरेको तथ्य पर्सा प्रहरीले सार्वजनिक गरेको हो।  

गत बिहीबार बिहान करिब साढे १ बजेतिर वीरगन्ज महानगरपालिका–७ रामटोलमा अचेत अवस्थामा पाख्रिन फेला परेका थिए। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। पाख्रिनको हत्याको घट्नामा वीरगन्जको रामटोलका राहुल महर्जन, सोही ठाउँका बिक्की भनिने दीप लामा तामाङ, बाराको फेटा गाउँपालिका–३ का २७ वर्षीय धनञ्जय रजक र भारत बिहार मोतीहारी, पूर्वी चम्पारण घर भइ वीरगन्ज–१६ बस्ने ३० वर्षीय रवि सर्राफ संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए अनुसार आरोपी भारतीय नागरिक सर्राफ बाहेक अन्य ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।  

अनुसन्धानमा सामेल प्रहरी अधिकृतका अनुसार टाटासुमो चलाक रहेका राहुल महर्जनसंग ६ वर्ष अगाडि पाख्रिनको चिनजान भएको रहेछ। राहुलले वीरगन्ज घुम्न बोलाएकाले दुई जना साथीहरुलाई समेत साथ लिएर ज्ञानु पाख्रिन गत बुधबार साँझ वीरगन्ज आइपुगेका थिए। राहुलसँगै रहेका दीप लामा तामाङको वीरगन्ज महानगरपालिका–७ रामटोलस्थित अरु ब्यक्ति नभएको घरमा खाजा र मदिरा खान उनीहरु बसेका रहेछन्। राहुलकै अरु दुई जना साथीहरु धनञ्जय र भारतीय नागरिक रवि पनि त्यस खानपिनमा समेल थिए। प्रहरीका अनुसार त्यहाँ ७ जना संगै बसेर खानपिन गरेका रहेछन्।  

‘बिहीबार बिहान साढे एक बजेको समयमा धनन्जय रजक पाख्रिनलाई लिएर बियर किन्न निस्केछन्, बियर पाइएन भन्दै फर्के। फेरि रबी सर्राफले पाख्रिनलाई संगै लिएर निस्के अनि एक छिनपछि बिक्की भनिने दीप, धनन्जय र राहुल फेरि आइपुगेको र राम टोलमै एकान्तमा रहेको खाली जग्गामा लगेर घाँटी अठ्याइ हत्या गरेर लुटपाट गरेको अहिले प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ खनालले भने, ‘पाख्रिनले लगाएको करिब एक तोलाको सुनको सिक्री, आधा तोला जतिको सुनको औंठी, घडी र १० हजार रुपैयाँ उनीहरुबाट बरामद पनि भएको छ।' घट्नामा संलग्न रहेका चार जनामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको र फरार रहेको भारतीय नागरिकको खोजी भइरहेको खनालले बताए।  

सुन र नगद पाख्रिनसंग बढी रहेको अनुमान लिएर लुटपाट गर्ने उद्देश्यले नै घट्ना गराइएको अहिलेसम्म अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ। घट्नामा संलग्न बिक्की भनिने दीप लामा तामाङ र रबी सर्राफ यस अगाडि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको पृष्ठभूमि रहेको प्रहरीको भनाई छ।

जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान बढाएको छ। पाख्रिनसंगै आएका अन्य दुई जनासंग पनि प्रहरीले सोधपुछ गरेको छ।

प्रकाशित: १६ श्रावण २०७८ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App