२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४० दिनपछि मर्स्याङदीले पुरानै लय लियो

मनाङको चामेमा पुरानै ठाउँबाट बग्दै गरेको मर्स्याङदी।

असारको पहिलो सातादेखि धार परिवर्तन गरेको मर्स्याङदी नदी पुरानै ठाउँबाट बग्न थालेको छ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेस्थित मर्स्याङदी नदीमाथिको एकमात्र मोटरेवल बेलिब्रिज मुनि बढेमानका ढुंगा, मुढा, गिट्टी, बालुवा थुप्रिदाँ वहाव रोकिएर नदीले धार परिवर्तन गर्दै दायाँबायाँबाट बग्न थालेको थियो । खोला नै दायाँबायाँ डाइभर्ट हुँदा धेरै क्षति गरेको थियो ।  

असार ५ गतेको बाढीले बगाएर ल्याएको ढुंगामुढा पुलमुनि अड्किएका थिए । ४० दिनपछि ती ढुंगामुढा हटाएर नदीलाई पुरानै लयमा फर्काउन सकिएको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । ‘पुलमुनि बढेमानका ढुंगा र काठका मुढा तथा गिट्टी, बालुवा थुप्रिएको थियो । ती सामाग्री हटाएपछि खोलाले पुरानै लय लिएको छ,’ उनले भने, ‘खोला थुनिएर दायाँबायाँबाट बग्दा आसपासका क्षेत्रमा व्यापक कटान र क्षति पु¥याएको थियो ।’

सुरक्षाकर्मी, स्थानीयबासी, प्रशासन सहित गाउँपालिकाको सहयोगमा पुलमुनिको अवरोध हटाउन सकेको सकेको उनले बताए । उनका अनुसार पुल झन्डै २० मिटर लामो थियो । माथिल्लो र तल्लो मनाङ जोड्ने यो नै एकमात्र मोटरेवल पुल हो । पुलमुनि बढेमानका ढुंगा, काठका मुढा र बालुवा गिट्टी थुप्रिएको थियो । खोलामा पानीको वहाव बढि हुँदा पुलमा अड्किएका ढुंगा मुढा तत्कालै हटाउन सकिएको थिएन । बल्ल अहिले ती सामाग्री हटाएपछि नदी पुरानै ठाउँबाट बग्न थालेको उनले बताए ।  

मनाङ सदमुकाम चामेलाई दुईवटा घट्टे खोलाले घेरेको छ । तिनै घट्टेखोलाले बगाएर ल्याएको ढुंगा, बालुवा, गिट्टी, मुढा मर्स्याङदीको पुलमुनि थुप्रो लगाएको थियो । पुलमुनि सामाग्री थुप्रिदा खोलाको सतह पुलभन्दा अग्लो बनेको थियो । मर्स्याङदीको पानी पुलमाथिबाट बगेको थियो । बाढी आउनुअघि पुल र खोलाको पानीको सतहको उचाई झन्डै ९ मिटर थियो । त्यो सबै भाग ढुंगा, मुढाले पुरिँदा खोलाको सतहले नै पुल नाघेर बग्ने गरेको थियो । त्यसपछि नदीले धार परिवर्तन गर्न थालेको थियो ।  

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले निकै नै मेहनतपछि पुल मुनिबाट पानी बगाउन सफल भएको बताए । ‘विहीबारदेखि बल्ल पुलमुनिबाट पानी बगाउन सफल भएका छौ । अब त पुलमाथिबाटै गाडी नै वारपार गर्न सक्छन । तर, पुलको दायाँबायाँ भने केही काम गर्नुपर्छ,’ उनले भने, ‘बेलिब्रीजसम्म पुग्न अर्काे ठाडो खोलामा पनि पुल हालेर वारपारको व्यवस्था मिलाउँदैछौ ।’ ४० दिनपछि पुल मुनिबाट पानी बगाउन सफल भएको उनले बताए । ‘पुल पनि जोगिएको छ । अब पहिले भन्दा जोखिम केही कम भएको अनुमान छ,’ उनले भने ।  

पुलमुनि रुख, ढुंगा, बालुवा, गिट्टी थुप्रिदा नदीले धार परिवर्तन गर्दै दायाँबायाँ कटान गरेर बग्न थालेको थियो । दायाँबायाँ कटान गर्ने क्रममा नजिकैको लोकप्रिय माविको चारवटा भवन नै बगाएको छ । विद्यालयको भवन नै बाढीमा बगेपछि पठनपाठनमा पनि समस्या हुने अवस्था आएको उनले बताए । वहाव नखुल्दा सदरमुकाम नै जोखिममा रहेकोमा अब भने केही सहज भएको उनले बताए ।  

‘खोलामा पानीको वहाव उस्तै छ । तर, पुलमुनिबाट पहिलेकै ठाउँबाट पानी बग्न थालेपछि हामीले केही सुरक्षित महसुस गरेका छौ,’ प्रजिअ लामिछानेले भने, ‘पुल पनि जोगिएको छ ।’ उनका अनुसार पुलमुनि अड्किएका रुख र ढुंगा हटाउन सुरक्षाकर्मीले निकै नै मेहनत गरेका थिए ।

असारको सुरुदेखि नै मनाङमा भीषण बाढी आएको थियो । अहिलेसम्मकै बढी वर्षा हुँदा वहाव बढ्दा असार ५ गतेदेखि पुलमुनि ढुंगामुढा थुप्रिदा बाँधको काम गरेको थियो । बहाव बढी हँुदा तत्कालै हटाउन सकिएको थिएन । सुरक्षाकर्मीले र उपकरण प्रयोग गरेर ढुंगा र काठका मुढा हटाएपछि बल्ल नदी पुरानै ठाउँबाट बग्न थालेको हो । रोकिएको नदी दायाँबायाँबाट बग्दा वारिपारिका बस्ती नै जोखिममा परेका थिए । मर्स्याङदी नदीको पारिपट्टि चामे–५ भक्तपुर र वारीपट्टि चामे–४ सदरमुकाम पर्छ । सदरमुकाम नै जोखिममा परेको बेला अब भने केही सुरक्षित भएको उनले बताए । 

प्रकाशित: १५ श्रावण २०७८ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App