२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्गममा हेलिकोप्टर नै एम्बूलेन्स!

ब्लड प्रेसरको समस्याले सिकिस्त बनेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका छत्रबहादुर परियारलाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै । तस्बिर सौजन्य : बाजिन्द्र बिष्ट

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका छत्रबहादुर परियार साउन १० गते ब्लड प्रेसरको समस्याले ढले। प्रेसरले अचेत भएका परियारलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पुर्‍याइए। तर, प्राथमिक स्वास्थ्य केन्द्रमा प्रेसरको सामान्य बाहेकका उपचार सम्भव थिएन। परियारलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलिकोप्टर चार्टर गरियो। परियारलाई अस्पताल लैजानका लागि ऋणपान गरेर १ लाख ७५ हजारमा हेलिकोप्टर चार्टर गरिएको कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टले बताए। हेलिकोप्टरबाट टिचिङ अस्पताल महाराजगञ्जमा लगिएका परियारलाई पुनः रेफर गरेपछि सर्वाङ्ग सदन अस्पताल ललितपुरको आइसियू कक्षमा राखिएको छ।  

यस्तै, मुटुको समस्या बल्झिएपछि जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठलाई साउन ३ गते १ लाख ८५ हजारमा हेलिकोप्टर चार्टर गरेर शहीद गंगाला हृदयरोग केन्द्र बाँसबारीमा लगियो। तत्काल एम्बूलेन्सबाट अस्पताल लैजाने अवस्था नभएपछि वडाध्यक्ष श्रेष्ठलाई अस्पताल लैजानेक्रममा १ हेलिकोप्टर चार्टर गर्नु परेको थियो।  

यही केही उदाहरण हुन्। जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा र सडकको खराव अवस्थाका कारण जिल्लाका बिरामी र उसका आफन्त अस्पतालसम्म पुग्नका लागि महंगो भाडा तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन्। स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई जिल्ला अस्पताल वा अन्य स्वास्थ्य संस्थाले अन्यत्र रेफर गर्छ। तर, सडकको दूरावस्था भएका कारण रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीलाई गाडीमार्फत सुविधा सम्पन्न अस्पताल पुर्‍याउने सहज अवस्था अझै बनिसकेको छैन। सामान्य समस्या भएका बिरामीलाई जेनतेन गाडीमार्फत अस्पतालमा लैजान गरिन्छ तर तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थाका बिरामीका लागि हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन। हेलिकोप्टर चार्टर गर्न सक्ने वा ऋण पान जुटाउन सक्नेहरु सुबिधा सम्पन्न अस्पतालसम्म पुग्छन्, नहुनेहरुले अस्पताल देख्नसम्म पाउँदैनन्। यकिन तथ्यांक छैन तर जिल्लामा वर्षेनी दर्जनौं बिरामीलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं वा बिराटनगर पठाउने गरिएको छ।  

वर्षाको समयमा अधिकांश सडक हिलाम्मे हुनेहुँदा वर्षामा तुलनात्मक रुपमा बढी हेलिकोप्टर चार्टर हुने गरेको छ। अस्पताल पुग्न मात्र लाखौंमा हेलिकोप्टर चार्टर गर्दा कतिपय बिरामीको उठिबास नै हुने गरेको छ। अस्पताल पुग्नका लागि मात्र दुई लाखदेखि तीन लाखको हाराहारीमा खर्च गर्नुपर्ने बाध्यताले आर्थिक अवस्था कमजोर भएका परिवार ऋणमा डुब्न बाध्य बनेको कांग्रेस नेता बिष्टले बताए। हेलिकोप्टर चार्टर बाहेक औषधि उपचार र खानपिनका लागि उत्तिकै खर्च हुने गरेको छ।  

अस्पताल जानेक्रममा लाखौंमा हेलिकोप्टर चार्टर गर्नु जिल्लावासीको पूरानो समस्या हो। अस्पताल जानकै लागि जिल्लाको लाखौं रकम बाहिरिन्छ। तर, हालसम्म यसको दिर्घकालिन समाधानका लागि जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ जिल्लाका नेतृत्व वर्गको पर्याप्त ध्यान पुग्न सकेको छैन। कतिपय अवस्थामा हेलिकोप्टर चार्टर गर्ने भाडा बिरामीको संख्या र खोटाङ–काठमाडौं ओहोर दोहोर गर्ने यात्रुबाट सहमतिमा मात्रा मिलाएर जुटाउने गरिन्छ। तर खोटाङ–काठमाडौं गर्ने अन्य बिरामी वा यात्रु नभएको अवस्थामा सिंगो एक्लोले हेलिकोप्टर चार्टर गर्नुपर्ने हुन्छ। 

‘अस्पताल पुग्न मात्र ऋणमा भासिनु पर्ने अवस्था छ। हुनेलाई समस्या नहोला र नहुनेका लागि ठूलो समस्या हो यो,’ विष्टले भने, ‘जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मीको व्यवस्था गर्न सके र अस्पतालको सेवा सुबिधालाई सोही अनुसार वृद्धि गर्न सके अस्पताल जानकै लागि लाखौं खर्च गर्नुपर्ने बाध्यताबाट सर्वसाधारणले मुक्ति पाउन सक्छ।’

प्रकाशित: ११ श्रावण २०७८ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App