५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हराएका बालबालिकालाई भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ। कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो।  

कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी,  सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी  छन्। रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ।  

भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो। उनीहरुसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारुले जानकारी दिए।

छ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै रुपैडिहमा पुगेका जनाइएको छ। त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन्। बरेली पुग्नु भन्दा दुई/तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो।

नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन्। माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेका बताए। उनका अनुसार यसअघि पनि भारतको बहराइच, लखनउ, दिल्लीलगायतका स्थानमा अलपत्र परेका बालबालिकाको उद्धार गरी पारिवारिक पुनःमिलन गराउने काम भएको छ।

प्रकाशित: ११ श्रावण २०७८ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App