१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाढीपहिरोले थलिएको मनाङ अझै तंग्रिएन

मनाङको माथिल्लो क्षेत्र जोड्ने सडक पहिरोले बगाएपछि पहरो खोपेर बनाइएको साँघुबाट जोखिमपूर्ण यात्रा गर्दै जिल्लावासी। तस्बिर: नागरिक

हिमालपारिको जिल्ला मनाङ बाढीपहिरोबाट क्षतविक्षत भएको एक महिना पुगेको छ। बाहिरी जिल्लासँग मनाङको सडक सम्पर्क बन्द छ। जिल्लाभित्रैका गाउँबीच पनि सम्पर्क विच्छेद छ।बाढीपहिरोयता सडकमात्र नभई मनाङमा विद्युत् सेवा पनि ठप्प छ। सदरमुकाम चामेमा पनि सञ्चार सम्पर्क सहज छैन, बेलाबेलामा अवरुद्ध हुन्छ। बाढीपहिरोको क्षतिले कतिपय गाउँ अझै पनि सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन्। सबैतिर क्षति भोगेको हिमाली जिल्ला मनाङको दैनिकी अझै असहज छ, निकै सकसपूर्ण छ।

मनाङवासीका अनुसार सबैभन्दा बढी सकस सडक विच्छेदले पारेको छ। टुटेको सडक सम्पर्क जोडिन नसक्दा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायत अत्यावश्यक सामान अभाव हुन थालेको छ। पसलमा सामान किन्न पाउन छाडिएको छ। बिरामी परे उपचारका लागि अस्पतालसम्म पुग्न पनि उत्तिकै कठिन छ। पैदल हिँडडुल नै सहज छैन। एकअर्का गाउँमा आउजाउ गर्दा रूखको जरा समाउनुपर्छ। पहरो खोपेर बनाइएका साँघुको सहारामा स्थानीय ओहोरदोहोर गरिरहेका छन्।

‘सकसपूर्ण अवस्था अहिले हामीले बेहोरिरहेका छौं। सायद अहिलेसम्मको सबैभन्दा अप्ठेरो अवस्था हामीले भोग्नुपरेको छ,’ मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्छन्, ‘सबैतिर समस्यै समस्या भोगेका छांै।’ उनका अनुसार खाद्यान्न ढुवानी गर्न नपाउँदा बढी अप्ठेरो आइपरेको छ। सडक सम्पर्क टुटेपछि लम्जुङको बेसीसहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था छैन। मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्नलगायत सामान ढुवानी गर्नुपरेको छ।  

मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च बिन्दु थोराङला भञ्ज्याङ (५४१६ मिटर) पार गर्नुपर्छ। माथिल्लो मनाङका बासिन्दाले अहिले थोराङला भन्ज्याङ हुँदै खाद्यान्न र आवश्यक वस्तु ढुवानी गरिरहेको गुरुङले जानकारी दिए। ‘पिसाङमा दुई र खाङखारमा एक ट्रिप सामान थोराङला हुँदै ढुवानी भयो। अब मनाङका बासिन्दाले पनि केही दिनमा सामान ल्याउने तयारी छ,’ उनले भने। खच्चडबाट गरिएको यो रुटको ढुवानी निकै नै महँगो पर्ने उनले बताए। थोराङला फेदी (मुस्ताङतर्फ) बाट मनाङसम्म खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ४० रूपैयाँ खर्च पर्ने उनले बताए। थोराङपासको मुस्ताङको फेंदीसम्म गाडी पुग्छ। मुक्तिनाथबाट डेढ दिनमा सामान मनाङ आइपुग्ने उनले बताए।

‘दाल, चामल, तेल, नुन, औषधिसहितका सामान अहिले मुस्ताङबाट ल्याउन थालेका छांै,’ उनले भने। उनका अनुसार गाडीबाट बेंसीसहर हुँदै १० रूपैयाँ किलोमा मनाङसम्म सामान ढुवानी हुन्थ्यो। तर, अहिले खच्चडबाट ल्याउँदा ४० रूपैयाँ र हेलिकोप्टरमा २ सय ५० रूपैयाँ पर्ने उनले बताए। ‘तल (चामे हुँदै) सामान आउने सम्भावना छैन। मान्छे हिँड्न त डोरीको साहरा लिनुपर्ने अवस्था छ। हुने खानेले पो हेलिकोप्टरमा ल्याउलान्,’ उनले भने, ‘उपचारमा बढी समस्या। बिरामी परे अस्पताल पुग्नै सकस छ। मौसम खराबीले हेलिकोप्टर उडान पनि समस्यापूर्ण छ।’ पैसा भए पनि हेलिकोप्टर नै नआउने उनले बताए।  

गुरुङले दाताहरूको सहयोगमा खाद्यान्न ल्याएर बाहिरबाट आएर काम गर्ने र एकल तथा गरिब परिवारलाई उपलब्ध गराइएको बताए। एकल महिला, गरिबलाई राहत दिनेगरी योजना बनाएको पनि उनले बताए। ‘बाहिरबाट आएकालाई यहाँ बढी सकस छ। उनीहरूले मौज्दात सामान राख्न पनि सकेका छैनन्। गोरखा, धादिङ, रुकुम, रोल्पाका मान्छे यहाँ कामका लागि आएका छन्,’ उनले भने, ‘उनीहरूलाई हामीले सघाएका छौं।’ 

उद्योग वाणिज्य संघ, मनाङका द्वितीय उपाध्यक्ष कान्छा गुरुङ पनि मोटरबाटो नखुल्दा अवस्था सकसपूर्ण बन्दै गएको बताउँछन्। ‘माथिल्लो भेगमा सकस छ। खाद्यान्न ढुवानीमा समस्या परेको छ। पैसा भएर पनि सामान ल्याउन सक्ने अवस्था छैन,’ उनले भने, ‘बाटो छैन। बजार ठप्प छ। बजारमा सामान किन्न पाइन छाडेको छ। चामेतिर पनि अवस्था उस्तै हो। पैसा भएर किन्न पाइने अवस्था छैन।’ उनले पनि थोराङला पास गरेर दैनिक उपभोग्य र अत्यावश्यक वस्तु ल्याउन थालेको बताए।  

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ। एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मौज्दात खाद्यान्न पनि सकिन थालेको छ। उनले पनि हेलिकोप्टर वा थोराङला भन्ज्याङ पार गराएर सामान ल्याउनेबाहेक विकल्प नभएको बताए।

प्रकाशित: ३ श्रावण २०७८ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App