२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाका कारण स्वास्थ्यकै कार्यक्रम प्रभावित

स्वास्थ्य कार्यालय बागलुङले कोरोना नियन्त्रणमा ध्यान दिँदा स्वास्थ्यका अन्य कार्यक्रम ओझेलमा परेको छ । आर्थिक वर्ष २०७७ र ७८ मा स्वास्थ्य कार्यालयले कोरोना महामारीबीच ६७.५ प्रतिशत प्रगति गरेको छ ।

कार्यालयले उपचारात्मक, प्रतिकारात्मक र प्रवद्र्धनात्मकमध्ये उपचार र प्रतिकारात्मकमा बढी प्रगति भएको र कोरोनाका कारण स्वास्थ्य क्षेत्रको प्रवद्र्धनात्मक काम ओझेलमा परेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । कोरोनाका कारण तालीम, सभा, समारोहलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावित भएको उनको भनाइ छ ।  

‘नियमित गर्ने काममा अत्यावश्यक काम गरियो, यस वर्ष तालीम, गोष्ठी, स्वास्थ्यसम्बन्धी अभिमुखीकरणलगायत केही कार्यक्रम गर्न सकिएन, पालिकाका सबै स्वास्थ्यकर्मी जिल्ला बोलाउन बन्दाबन्दीको समयमा नसक्नु कोरोनाको कारण हो’, गुरौँले भने, ‘स्वास्थ्यकर्मीलाई एक पटकको तालीमले पुग्दैन, नयाँ रोग नयाँ विषय आए, तत्कालै तालीम दिन आवश्यक हुन्छ, अहिले खोपकै विषयमा समेत स्वास्थ्यकर्मीलाई तालीम दिन नसक्दा भर्चुअलबाटै भए पनि जानकारी दिइयो, हाम्रो ध्यान कोरोना नियन्त्रण र खोप लगाउनेमा जाँदा गत वर्षदेखि निरन्तरता पाइरहेको पोषण, शिविर, हात्तीपाइले तथा क्षयरोगको नमूना सङ्कलनमा समेत समस्या भयो ।’

कोरोना सङ्क्रमितको तथ्याङ्क, कन्ट्याक्ट ट्रेसिङ, खोप, कोरोना उपचार र रोकथामका लागि आवश्यक औषधि तथा उपकरण, खोपको तालीम, पोषण तालीम, स्वास्थ्य सचेतनालगायत काममा बाधा पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए । ‘गत वर्ष थुप्रै स्थानमा क्षयरोगको नमूना सङ्कलन भएको थियो । अहिले कोेरोनाका कारण खकार सङ्कलनमा समस्या भएपछि बडिगाडमा ३० जनाको मात्रै नमूना संकलन गर्दा तीनजना पोजिटिभ देखियो, त्यसलाई कोरोनाका कारण बढाउन सकेनौँ’, उनले भने, ‘प्रत्यक्ष जनतामा पुग्ने कार्यक्रम गर्न समस्या भयो, तर कोरोना नियन्त्रण र रोकथाममा हामी सक्रियताको साथ काम गरिहरहेका छौँ, कोरोनाका कारण केही कार्यक्रम प्रभावित भए पनि स्वास्थ्यकर्मीको सक्रियता झनै बढेर गएको छ ।’

विपद् प्रतिकार्य, नयाँ रोगी खोज्ने, कुपोषण पहिचान गर्नेजस्ता कार्य प्रभावित भएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिए । यस वर्ष दुईवटा शिविरमा जम्मा १२ जनाको स्थायी बन्ध्याकरण गरिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । एचआइभी, टिभीको नमूना परीक्षणसमेत प्रभावित भएको छ । स्वास्थ्य रेकर्ड राख्न, स्थलगत अनुशिक्षणलगायत काम गर्न र कुपोषण नियन्त्रणमा समस्या भएको छ । यो वर्ष जम्मा २४२ जना बिरामी फेला परेकामा ७६ सुन्निएको र १३८ हाइड्रोसिलको बिरामी छ । कोरोनाका कारण हाइड्रोसिलको शल्यक्रियासमेत हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख गुरौँले जानकारी र्दिए ।  रासस 

प्रकाशित: २ श्रावण २०७८ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App