२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानमा स्मार्ट बसर्पाक बन्ने पक्का, ठेकेदार कम्पनीसँग सम्झौता

विवादको कारण लामो समयदेखि रोकिएको धरानको स्मार्ट बसपार्क बन्ने निश्चित भएको छ।  

विवाद समाधान भएपछि टेण्डरमार्फत ठेकेदार छनौट गरेर उपमहानगरपालिकाले सम्झौतासमेत गरेको छ। धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र स्थानीय जग्गादाताले बसपार्क बनाउनको लागि निःशुल्क जग्गा दिएका छन्।

डेढ दशकअघि सुरु भएको यो आयोजना भने विवादको कारण रोकिएको थियो। विवाद समाधान भएर बसपार्क निर्माणको लागि ठेकेदारसमेत छनौट भइसकेकोले अब स्मार्ट बसपार्क बन्ने सुनिश्चत भएको उपमहानगरले जनाएको छ।

ठेकेदार कम्पनी गीताञ्जली जेभि दुहबी र उपमहानगरपालिकाबीच बुधबार सम्झौता भएको थियो। यो कम्पनीसँग करसहित २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा बसपार्क निर्माण गर्ने सम्झौता भएको आयोजना प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए।

उनका अनुसार दुई साताभित्र कम्पनीले निर्माण कार्य अघि बढाउनेछ। ‘अब बसपार्कसँगै आयोजनाको कामले गति लिन्छ, बसपार्क तीन वर्षभित्र निर्माण सम्पन्न हुन्छ,’खतिवडाले भने।  

बसपार्क निर्माणको लागि ५० प्रतिशत नेपाल सरकारको अनुदान हो भने बाँकी ५० प्रतिशत उपमहागनरपालिकाले लगानी गर्नुपर्ने हुन्छ। बसपार्क तीन तलाको डिजाइन छ। टर्मिनल भवन, पार्किङ एरिया, सार्वजनिक शौचालयलगायतको भौतिक निर्माण कार्य हुनेछ।

बसपार्कको बेसमेन्टमा पार्किङ मात्र हुनेछ। त्यहाँ सुमो, हायस, कारलगायत २ सय संख्यामा साना गाडी पार्किङ हुनेछ भने डेढ सय हाराहारीमा मोटरसाइकल पनि अट्ने क्षमता रहनेछ। ग्राउण्ड फ्लोरमा टिकट विभिन्न रुटमा छुट्ने गाडीहरुको राख्ने संरचना बन्ने छ। साथै, टिकट काउन्टर, यात्रुहरुलाई वेटिंग, सेक्युटिरी, शौचालयलगायत संरचना हुनेछ। तेस्रो तलामा अफिस प्रयोजन, रेष्टुरेष्ट वा अन्य सेवाहरु पनि हुने उपमहानगरका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए।  

विवादको कारण रोकिएको बसपार्क प्रत्येक निर्वाचनमा राजनीतिक दलहरुको एजेण्डाको रुपमा रहने गरेको थियो। तर, कार्यान्वयन गर्न भने असफल हुँदै आएका थिए।

धरानका मेयर तिलक राईले लामो समयदेखि थाँती रहेको महत्वपूर्ण योजनालाई अघि बढाउन पाउदा खुशी लागेको बताए। धरानको विकास र समृद्धिको लागि यो बसपार्क कोसेढुंगा हुने उनको भनाइ छ।

विवाद समाधानको लागि महत्वपुर्ण भुमिका खेलेकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि ३० वर्षदेखि जनप्रतिनिधिहरुले देखेको सपना पुरा हुने क्रममा रहेको बताइन्।

२०७४ सालमा स्थानीय तह निर्वाचनमा विजयी भएपछि तत्कालिन मेयर तारा सुब्बाले आयोजनाको विवाद समाधान गर्ने जिम्मेवारी उपमेयर भण्डारीलाई दिएका थिए। उनले पटक पटक असन्तुष्ट जग्गाधनीहरुसँग छलफल गरेर विवाद समाधान गरेपछि आयोजनाको काम अघि बढेको हो।

प्रकाशित: ३१ असार २०७८ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App