१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनाङको नार्पा भूमिका सबै नागरिकलाई खोप

ढुवानिमा कठिनाई र खोप नहुँदा दोश्रो डोज भने केही बाँकी

मनाङको सबैभन्दा दुर्गम नार्पा भूमि गाउँपालिकाका गाउँ । तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङको माथिल्लो भेग नार्पा भूमि गाउँपालिकाका १८ वर्ष उमेर माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । १८ वर्ष उमेर माथिका सबै नागरिकले कोरोना विरुद्धको पहिले खेपको खोप पाउने गण्डकी प्रदेशको यो नै पहिलो गाउँपालिका बनेको छ ।  

निकै नै कम जनसंख्या रहेको नार्पा भूमिका १८ वर्ष उमेर भन्दा माथिका नागरिकका लागि दोश्रो डोजको खोपको तयारी पनि भएको छ । तर, कोभिसिल्ड खोप नरहेको र भेरोसिलको खोप पठाउन समस्या हुँदा दोश्रो खेप पुरा हुन भने सकेको छैन । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुुसार नार्पा भूमि गाउँपालिकामा १८ वर्ष माथिका सबै चारसय हाराहारीमा नागरिक छन । उनीहरु सबैले कोरोना विरुद्धको पहिलो खेपको खोप लगाएको उनले बताए ।  

मनाङको नार ४३८५ मिटर उचाईमा छ । फू ४१०० मिटर हाराहारीमा छ । फू मा ३६ घरधुरीमा बसोबास छ । नारमा ८६ घरमा मान्छेको बसाई छ । नार र फू मा सबैगरि ६ सयको हाराहारीमा जनसंख्या छ । ‘पहिलो डोज पुरा गर्ने यो नै पहिलो गाउँपालिका बनेको छ । तर, दोश्रो खेपको खोप भने लगाउन सकिएको छैन,’ आचार्यले भने, ‘दोश्रो खेपको खोपमा केही प्राविधिक समस्या छन ।’

 पहिलो खेप कोभिसिल्ड लगाएका नागरिकका लागि दोश्रो डोजको खोप नरहेको र भेरोसिलको दोश्रो खेप पठाउन समस्या हुँदा ढिलाई भएको उनले बताए । कतिपयले त दोश्रो डोजको भेरोसिल पनि लगाइसकेका छन । केही बाँकी पनि छन । ‘दोश्रो डोजको खोप लगाउन बाँकी झन्डै १७५ जना नागरिक मात्र नार्पा भूमिमा छन । ती मध्ये केहीले कोभिसिल्ड लगाउनुपर्छ, जुन अहिले नेपालमा छैन । भेरोसिल भने खोप पठाउनको अप्ठेरोले ढिलाई भएको हो,’ उनले भने ।  

अहिलेपनि स्वास्थ्य कार्यालय मनाङसँग ८० जनालाई पुग्ने भेरोसिल खोप बाँकी हो । मौज्दात खोप स्वास्थ्य कार्यालयमा राखिएको छ । एकमहिना अघिको बाढी पहिरोले आउजाउ रोकिँदा बोकाएर खोप पठाउन नसकिएको आचार्यले बताए । ‘अहिले त हिडडुल गर्न सकिन्न । बाटो छैन । रुखका जरा समाएर हिडडुल गर्नुपर्ने अवस्था भएकोले खोप पठाउन सकेनौ,’ उनले भने, ‘खोला तर्न पुल छैन, हिड्न बाटो छैन । त्यसैले खोप सदरमुकाममै रोकिएको हो ।’  

आचार्यको अनुमानमा नार्पाभूमिमा १८ वर्ष उमेर माथिका सबै नागरिकको संख्या करिब ५ सय हो । तर, ती मध्ये केही काठमाडौं र कतिपय पोखरा बस्ने भएकोले ४ सय हाराहारीमा मात्र रहेका छन । उनीहरुका लागि बारम्बार खोप लैजान सकस हुने भएकोले सबै उमेर समुहका नागरिकलाई खोप लगाइएको उनले बताए । 

‘उनीहरुलाई हिडडुल गर्न पनि कठिन छ । बिरामी परेको खण्डमा पनि उपचारका लागि अस्पतालसम्म पुग्न सकस छ । हामीलाई खोप र स्वास्थ्यकर्मी पठाउन पनि उत्तिकै अप्ठेरो छ,’ उनले भने, ‘त्यही भएर सबैलाई खोप लगाएका हौ । उमेर समुह अनुसार लगाउँदा धेरै नै सास्ती हुने भएकोले एकैपटक खोप लगाउन चाहेका हौ ।’  नार्पा भूमि निकै नै दूर्गम गाउँपालिका हो । यहाँ पुग्न अरुबेला सामान्य अवस्थामा पनि दुईदिन हिड्नुपर्छ । अहिले त बाढीपहिरोले बाटो क्षति गर्दा आउजाउ नै रोकिएको छ । यसअघि भने खोप बोकाएरै नार्पा भूमिसम्म ढुवानी गरिएको थियो ।  

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रदेश स्वास्थ्य आपत्तकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले पनि मनाङको नार्पा भूमि नै पहिलो डोज खोप पुरा गर्ने पहिलो गाउँपालिका भएको बताए । उनका अनुसार हिमाली जिल्लामा निकै नै कम जनसंख्या रहेकोले ती जिल्लाका १८ वर्ष उमेर माथिका सबै नागरिकलाई खोप दिने तयारी छ ।  

‘मनाङ र मुस्ताङका सबै गाउँपालिकाका नागरिकलाई दुई डोजकै खोप उपलब्ध गराउने तयारी छ । किनकी कम जनसंख्या रहेको र बारम्बार ढुवानी गर्न समस्या हुने भएकोले दुईडोज नै पुरा गर्ने योजना हो,’ शर्माले भने, ‘उमेर समुह अनुसार ढुवानी गर्दा समस्या हुन्छ । किनकी कतिपय गाउँपालिकामा हेलिकप्टरबाट मात्र खोप ढुवानी गर्नुपर्ने हुन्छ, जसले गर्दा लागत महंगो पर्छ ।’ मनाङ र मुस्ताङका नागरिकका लागि आवश्यक खोप ढुवानी गर्न तयारी भईरहेको उनले बताए ।

मनाङमा खोप जोगाउनै सकस

मनाङमा मौज्दात रहेको खोप जोगाउने हम्मेहम्मे परेको छ । झन्डै एकमहिनादेखि मनाङ विद्युतविहीन हुँदा चिस्यान उपकरण चलाउन नपाउँदा खोप जोगाउन समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यको भनाई छ । अहिले मनाङसँग ८० जनालाई पुग्ने भेरोसिल खोप मौज्दात छ । नार्पा भूमि गाउँपालिकाका नागरिकका लागि राखिएको त्यो खोप ढुवानी गर्न समस्या हुँदा पनि लगाउन सकिएको छैन ।  

आचार्यका अनुसार यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडको तापक्रममा राख्ने हो । तर, अहिले मनाङको तापक्रम १०–१२ डिग्रीसम्म पुगेको छ । त्यसैले चिस्यान उपकरण चलाउनुपर्छ । चिस्यानका उपकरण संचालनका लागि पोखराबाट इन्धन एयरलिफ्ट गरेर जेनेरेटर संचालन गरिएको पनि उनले बताए । केहीदिन अघिसम्म त पोखराबाटै आइसप्याक लगेर खोप भण्डारण गरेको पनि उनले बताए ।  

‘जेनेरेटर चलाउन तेल छैन, सोलार चलाउन घाम छैन, आइसप्याक पनि धेरैदिन राख्न सकिन्न,’ उनले भने, ‘खोप जोगाउन निकै नै हम्मेहम्मे परेको छ ।’ बाढीपहिरोले मोटरबाटो भत्किँदा अहिले पोखराबाट थप खोप ढुवानी गर्न पनि सकिएको छैन । तत्कालै गाडीमा ढुवानी पनि सम्भव छैन । ‘मौज्दात भेरोसिल खोप नार्पाभूमिका लागि राखिएकोले हेलिकप्टर व्यवस्थापन हुनासाथ ढुवानी गर्ने हो,’ उनले भने, ‘खाद्यान्न लिएर गएको हेलिकप्टरमा खोप ढुवानीको व्यवस्थापन गर्ने प्रयासमा छौ ।’  

मनाङमा १८ वर्ष उमेर माथिका नागरिकको संख्या करिब ३ हजार रहेको छ । अहिलेसम्म करिब २ हजार जनाले पहिलो खेप खोप लगाईसकेका छन । केहीले दोश्रो खेप पनि लगाएका छन । मनाङमा अहिलेसम्म १६८ जना कोरोना संक्रमित भएकोमा १४ जना अहिले सक्रिय छन । अहिलेसम्म यो जिल्लामा कोरोनाबाट दुईजनाको मात्र मृत्यु भएको छ ।

प्रकाशित: ३१ असार २०७८ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App