२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाबाट मृत्यु भएका १३२ परिवारलाई राहत वितरण

कर्णाली प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई एक–एक लाख रुपैयाँ राहत वितरण गरेको छ। प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएमा परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो। पहिलो चरणमा प्रदेश सरकारले १३२ परिवारलाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

कर्णालीमा कोरोना संक्रमणबाट मंगलबारसम्म तीन सय ४३ जनाको मृत्यु भएको छ। ‘पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका १३२ जनालाई राहत उपलब्ध गराएको छ,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले भनिन्, ‘कोरोनाबाट मृत्यु भएका बाँकी नागरिकका परिवारलाई पनि केही दिनभित्रै राहत रकम उपलब्ध गराउँछौं।’

कोरोना संक्रमणबाट मृत्यु भएका मध्ये १३२ जनाका परिवारलाई कर्णाली प्रदेश सरकारले घोषणा गरे अनुसारको एक–एक लाख रुपैयाँ राहत वितरण गरेको छ। प्रदेश सरकारले कर्णाली बाहिर, भारत तथा तेस्रो मुलुकमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई पनि राहत उपलब्ध गराउने छ।

मन्त्रालयमा तीन सय ४५ मृतकका परिवारले राहतका लागि निवेदन दिएका छन्। मन्त्रालयका अनुसार कोरोना परीक्षण पोजेटिभ रिपोर्ट, हकवालाको नाता प्रमाणितपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा राहत उपलब्ध गराइएको छ। ‘बाँकीको तथ्याङ्क संकलनकै क्रममा रहेकाले केही ढिलो हुन पुग्यो,’ मन्त्री नेपालीले भनिन्, ‘केही दिनभित्रै सबैलाई राहत वितरण गछौं।’

कर्णाली बाहिर मृत्यु भएका परिवारले पनि राहत पाउने

कर्णाली प्रदेश सरकारले कर्णाली भन्दाबाहिर कोरोना संक्रमित भएर मृत्यु भएका परिवारले पनि राहत पाउने भएका छन्। सरकारका प्रवक्ता सीता नेपालीले कर्णाली प्रदेशभन्दा बाहिर रहेका कर्णालीका नागरिकहरुको कोरोनाका कारण मृत्यु भएमा पनि राहत उपलब्ध गराइने बताइन्। ‘कर्णालीभन्दा बाहिरका प्रदेशका साथै भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमित भएर निधन भएका नागरिकहरुलाई पनि प्रदेश सरकारले घोषणा गरेको राहत उपलब्ध गराइने छ,’ उनले भनिन्, ‘कोरोना संक्रमण भएर जहाँ मृत्यु भएपनि कर्णालीकै नागरिक भएकाले सरकारले उनीहरुका परिवारलाई राहत दिने निर्णय गरेको हो।’

प्रकाशित: २९ असार २०७८ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App