२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मन्दिरभित्रको शिवलिंग जमिनमुनि भासिँदा स्थानीयमा त्रास

प्राचीन शिव मन्दिरको शिवलिंग पहिले र अहिले ।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएपछि स्थानीयमा त्रास फैलिएको छ। आइतबार दिउँसो पूजा गर्दागर्दैको अवस्थामा शिवलिङ्ग सतहभन्दा करिब डेढ फिट तल जमिनमा भासिएपछि स्थानीयवासीमा त्रास देखिएको हो।

गढीमाई नगरपालिका १ समनपुरका ३६ वर्षीय पप्पु भन्ने अनिशकुमार मेहताले आइतबार दिउँसो साढे दुई बजेतिर पूजा गरिरहेको अवस्थामा नै शिवलिंग भासिएको हो। भाकलअनुसार पूजा सकिएपछि शिवलिंगमा घीउ दल्न थाल्दा शिवलिंग भासिएपछि आफू एक छिन डराएको र डराएर मन्दिरबाट बाहिर आई पूजा गराउने पण्डिजी, माली तथा हजामलाई सुनाउँदा तत्काल नपत्याएको बताउँदै सबैले देखेपछि विस्मित भएको मेहताको भनाइ छ।  

करिब एक महिना पहिले गत जेठमा आफूले सपनामा शिवजीले यहाँ नबस्ने भनि बताएको मन्दिरका पुजारी शंकर गिरीले बताएका छन्। सपनामा भगवान शिवले आफूलाई “अब हम जारहल छी, इहाँ नरहम” भनेर बताएको भन्दै पुजारी गिरीले सपनामा आफूले शिवजीलाई “पुरान गाँओ समाज छोडके नजाएलजाओ” भनेर अनुरोध गरेको पनि बताएका छन्।  

शिवलिंग भासिएको खबर सुनेर मन्दिरको नजिकै घर रहेको एक महिलाले मोबाइलमा फोटो खिच्दा बेग्लै आकृति देखिएपछि गाउँमा त्रास फैलिएको हो। शिवलिंगको फोटो खिच्दा भित्तामा बन्द गरिएको अवस्थाका दुई आँखाको आकृति आएको देखिएको छ। फोटो देखेर महिला आत्तिएका थिइन् र आँखाले देख्दा भने केही पनि देखिएको थिएन। लगत्तै अन्य मानिसले फोटो खिच्दा पनि आँखाको त्यो आकृति नदेखिएको स्थानीयको भनाइ छ। महिलाले खिचेको उक्त फोटो चारैतिर भाइरल भइरहेको छ।  

अतिप्राचीन मन्दिर भएकोले घटनाको विषयमा पुरातत्व विभागलाई पनि जानकारी गराउन खोजिरहेको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ। साथै धार्मिक क्षेत्र मुख्य गरी शिवको मन्दिर भएको र यस घटनाको विषयमा जानकारी राख्ने धार्मिक–आध्यात्मिक व्यक्तिहरुसँग सम्पर्क गरिरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

समनपुरको महादेव मन्दिरलाई अतिप्राचीन मानिन्छ। किंवदन्तीअनुसार बाह्र वर्षको वनवास सकिएपछि एक वर्षको अज्ञातवास यहीबाट सुरु गरेका थिए। अज्ञातवास प्रारम्भ गर्न पाण्डवहरुले बनाएको सुरुङमा पसेको र सुरुङलाई बन्द गर्न त्यसको मुखमा ढुंगा राखेका थिए। त्यही ढुंगालाई कालान्तरमा स्थानीयले महादेव भनि पूजा गर्न थालेका थिए। केही दशक पहिलेसम्म हरेक वर्ष दर्जनौँको संख्यामा थारु, कछडियालगायतका जातिहरुको बिहे हुने गरेको मन्दिरमा जति धेरै जल चढाए पनि कहाँ जान्छ भनि अत्तोपत्तो नहुने गरेको स्थानीयको भनाइ छ। सुरुङको मुखमाथि शिवलिंग रहेकोले पानी सिधै जमिनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ। वरपरको जमिनको सतहभन्दा गहिरो स्थानमा रहेको शिवलिंगमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमिनमुनि नै जाने गरेको छ।  

गाउँ समाजमा कुनै अनिष्ट पो हुने हो कि भन्ने त्रासले स्थानीय त्रसित रहेको वडाध्यक्ष श्रेष्ठको भनाइ रहेको छ।

प्रकाशित: २८ असार २०७८ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App