८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती

सुनकोसीको फोक्सिङटारमा निर्माणाधीन ‘आर्क’ डिलाइनको पुल।फाइल तस्बिर: नागरिक

दोस्रोपटक थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पूरा भएको छ। निर्माण कम्पनी कम्पनी गौरी पार्वती वाइपी जेभीको ढिलासुस्तीका कारण दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुलको भौतिक प्रगति अझै ५२ प्रतिशत बाँकी देखिएको हो। १२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तीय ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साइड इन्जिनियर रवी शाहले बताए।  

फोक्स्ङिटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सांसद रामकुमार राई, पूर्वसभासद् अर्जुन राईलगायतको टोली असार २२ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई भेट्न पुगेपछि भएको छलफलमा पनि पुल निर्माणको सोही प्रगति विवरण सुनाइएको थियो। पुल निर्माणका लागि दोस्रोपटक थप भएको म्याद गत असार १२ गर्ने सकिएको छ। हालसम्म भ्याट र पिएस समेतगरी १० करोड ३३ लाख १४ हजार भुक्तानी भएको पुल योजना पूर्वीक्षेत्र सेक्टर नम्बर १ धरानले जनाएको छ।  

खोटाङलाई पूर्वी सहरसँग जोड्ने पुलको हालसम्म दुई किनारको चारवटा फाउण्डेसन, चारवटा सव–स्ट्रक्चर, दुवैतर्फको २०÷२० मिटरको स्ट्याण्डलगायतका संरचना निर्माणको काम मात्र पूरा भएको छ। नदीबीचमा रहने ८० मिटरको ‘आर्क’ राख्ने काम बाँकी रहेको इन्जिनियर शाहले बताए। मन्त्री नेम्वाङसँगको छलफलमा सो आर्क आगामी पुस ११ गतेसम्ममा ढलान गर्ने कार्ययोजना बनाइएको छ। 

नवौं संशोधन अनुसार पुल निर्माणका लागि २०७७ पुस १३ गतेसम्मको पहिलो म्याद सकिएपछि पुःन कोभिड–१९ को महामारी अनुसार २०७८ असार १२ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो। २०७३ साल चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ चैत २३ गते सम्झौता भएको पुलको २०७३ कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो। तर, २०७३ चैत २२ गतेसम्ममा पुलको काम नभएपछि पुःन २०७५ चैत ३० गतेसम्मका लागि सम्झौता अवधिलाई लम्ब्याइएको थियो।  

सुरुमा फोक्सिङटारमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरिएको थियो। फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण सुरु गरिएको थियो। दोश्रो पटक डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन। हाल ढिलासुस्तीको कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइ देखाउने गरिएको छ। तर, पुलको नयाँ डिजाईन स्वीकृत भए यताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बताउँछन्। २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिए सहित)मा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति अत्यान्तै सुस्त देखिएको छ।  

ढिलासुस्तीको चौतर्फी विरोध  

खोटाङको पूर्वीनाकामा पर्ने पुल निर्माणमा ढिलासुस्ती भएको जिल्लावासी असन्तुष्ट छन्। पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य भट्टराईले गृहमन्त्रीसमक्ष २०७५ कात्तिक ५ मा नै ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए। बाढीका कारण पुलको काम हरेक वर्षायाममा ठप्प हुने गरेको छ।  

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुललगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक विरोध गर्दैआएका छन्। ढिलासुस्तीका बिरुद्ध २०७२ साल माघ २४ गते सडक बिभागमा धर्ना दिएका जिल्लाबासीले चैत्र २३ गते घेराउ गरेका थिए। सडक बिभाग घेराउकाक्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेप भएको थियो। २०७२ चैत्र २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा विरोध ¥याली निकालेको थियो।  

फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो। ठेक्का लागेको वर्षौंसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले चासो देखाएको थियो। पुल निर्माणमा ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्नेगरी कामलाई अघि बढाउनका लागि अख्तियारले २०७४ माघ २ गते पत्राचार गरेको थियो।

प्रकाशित: २७ असार २०७८ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App