१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उदयपुरमा पहिरोसम्बन्धी नेपालमै पहिलो नमूना अभ्यास

परिहोसम्बन्धी नमूना अभ्यास प्रदर्शनीमा सहभागी प्रशिक्षार्थीहरु। तस्बिर: महेश्वर/नागरिक

पहिरोबाट बँच्ने उपायबारे उदयपुरमा बिहिबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ को चप्पन सामुदायिक वन छेउको बरुवा खोला किनारमा कृत्रिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो। वर्षायाम सुरु भएकाले संभावित पहिरोबाट बँच्ने उपायबारे जनचेतना जगाउने उदेश्यले वल्र्डभिजन इन्टरनेशनलको साझेदार स.स्था जाल्पा एकीकृत विकास समाज (जिड्स) को आयोजनामा पहिरो अभ्यास प्रदर्शनी गरिएको हो। सशस्त्र प्रहरी बलका जवान तथा पहिरोसम्बन्धी आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले सिम्युलेसनमा भाग लिएका थिए।

अभ्यास प्रदर्शनीको क्रममा त्रियुगा नगरपालिका १० मा पहिरो जाँदा वेपत्ता भएका ५४ वर्षीय अमानसिंह राई घाईते भएका दुईजनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो। पहिरोले घाईते भएकाहरुलाई सशस्त्र प्रहरी बलका निरीक्षक राजेन्द्र बस्नेत नेतृत्वको टोलीले घट्नास्थलबाट उद्धार गरी अस्पताल भर्ना गरेको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।  

वर्षाको समयमा पहाडी भेगमा पहिरो जाने अत्याधिक संभावना भएकाले त्यसबाट बँच्न र पूर्व तयारी गर्ने उदेश्यले वल्र्डभिजनको सहयोग र जिल्ला विपत्त व्यवस्थापन समितिको समन्वयमा जिड्सले  सिमुलेशन आयोजना गरेको कार्यक्रम संयोजक अजयकुमार साहले बताए। उनका अनुसार बुधबारदेखि सुरु ३ दिने ‘जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिम’को क्रममा पहिरोबाट बँच्न पूर्व तयारी, घाईतेको उद्दार र उपचारबारे जानकारी गराउन नमूना अभ्यास प्रदर्शनी गरिएको उनले बताए।  

जिड्सका अध्यक्ष पुष्पराज पोखरेलका अनुसार पहिरोसम्बन्धी सिम्युलेसन नेपालमै यो पहिलो पटक हो। यसअघि आगलागी, बाढी र भूकम्पबारे धेरै चोटी सिम्युलेसन गरिए पनि पहिरोबारे पहिलो पटक गरिएको पोखरेलले बताए। उदयपुर अधिकाँश पहाडी भूभागले भरिएको जिल्ला भएकाले पहिरोको जोखिम धेरै रहेको हुँदा जिड्सले यो पहिरोलक्षित सचेतना, पूर्व तयारी, उद्धार र राहत कार्यक्रम अघि सारेको पोखरेलले बताएका छन्।  

पहिरो विशेषज्ञ रामकुमार दाहालले यस्तो नमूना अभ्यास प्रदर्शनीले पहिरो व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। मानव जीवनमा आईपर्ने विपतहरुमध्ये पहिरो पनि एक भएको भन्दै उनले हरेक वर्षायामा पहाडी भेगमा पहिरोको जोखिम हुने भएकाले यसबाट बँच्न यस्ता सचेतनामूलक कार्यक्रम उपलब्धीमूलक हुने दाहालको भनाई छ। मनसुनको समयमा पहिरोको जोखिम उच्च रहेकाले यससम्बन्धी लक्षित बर्ग सचेत हुदै प्रतिकार्यका लागि स्थानीयतरमै जनशक्ति तयार गर्न आयोजित प्रशिक्षक प्रशिक्षण तालिमका दाहाल सहजकर्ता हुन्।  

वल्र्डभिजन, जिल्ला विपत व्यवस्थापन समिति र स्थानीयतहहरुको समन्वयमा संस्थाले जिल्लामा ‘पहिरो सामना किताव परियोजना’ सञ्चालनमा ल्याएको छ। सोही परियोजना अन्तरर्गत प्रशिक्षक प्रशिक्षण तालिम, पहिरो सिमुलेशन आयोजना गरिएको साहले बताए। तालिमपश्चात सहभागीहरु पहिरोको जोखिम स्थानहरुमा गएर पहिरोसम्बन्धी कृतिम नमूना अभ्यास र प्रदर्शनी गर्ने योजना संस्थाले बनाएको छ। विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्ने उद्धेश्यले आयोजित तालिममा विभिन्न  संघसंस्था, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी र पत्रकारसहित २५ जनाको सहभागिता रहेको छ।  

तालिममा सहजकर्ता विपत व्यवस्थापन विशेषज्ञ रामकुमार दाहालले पहिरो जोखिम व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, विपदसमवन्धी अवधारणा र नेपालमा विपदको अवस्था, विपत व्यवस्थापनका चक्र र जलवायु परिवर्तनको कारण, प्रभाव, असर र अनुकुलनवारेमा जानकारी दिदैछन्। विपतसम्वधी स्थानीय, प्रदेश र संघीयतहमा भएका विपत व्यवस्थापनसँग सम्बन्धित नीति, रणनीति, भूकम्प, बाढी, पहिरोका कारण हुने असर र त्यसको न्यूनिकरण व्यवस्थापनका साथै कृतिम घट्ना अभ्याससमेत तालिममा गराउने कार्यतालिका रहेको कार्यक्रम संयोजक साहले बताए।

प्रकाशित: २५ असार २०७८ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App