६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिद्धार्थ राजमार्ग अवरुद्ध : पाल्पामा पहिरोले ५ घर बगायो, एकको मृत्यु, ७ घाइते

पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोका कारण पाँच घर क्षतविच्छेद भएका छन्। पहिरोले घर बगाउँदा ७ जना घाइते भएका छन्। राती सुतिरहेको समयमा पहिरोले घरसहित बगेका अन्दाजी ४० वर्षका वीरबहादुर गुरुङको पुरिएर मृत्यु भएको हो। उनकी श्रीमति ७५ वर्षीया सुन्दरी गुरूङ गम्भीर घाइते भएकी छिन्।  

बिहीबार बिहान ४ बजेतिर गएको पहिरोमा पुरिएर ४ वर्षीय आरभ परियार बेपत्ता भएका छन्। आरभका बुवा रमेश र आमा पूजा परियारको पनि घाइते अवस्थामा उद्दार गरिएको छ ।  

तिनाउँ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बलबहादुर दर्लामीले धेरै माथिबाट गिट्टी र ठूला ढुङ्गा सहितको पहिरोले ५ घर बगाएको बताए। उनी भन्छन्, ‘धेरै माथिबाट पहिरो आएको छ। खानीका कारण वा अन्य पनि कारण हुन सक्छ।’ अहिले पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय, मस्याममा राखिएको वडाध्यक्ष दर्लामीले बताए।  

पहिरोमा परेर स्थानीय बर्ष २६ को रमेश परियार, २४ वर्षकी पूजा परियार, ५० वर्षको बलबहादुर पुन, २० वर्षको आकाश तामाङ, २२ वर्षको दिलबहादुर राना र दिपेश पुन घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य नै रहेको छ। घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ।  

स्थानीय प्रेम श्रेष्ठले विस्थापितहरुलाई खाना र बासका लागि अस्थायी रुपमा विद्यालयमा व्यवस्थापन गरिएको बताए। उनले स्थानीयकै सहयोगमा घाईतेहरुलाई उद्दार गरी पठाइएको बताए।  

यता दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड  बन्द भएको छ। धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाई पर्ने बताइएको छ।  

घटनास्थलमा खटिरहेका प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले बेपत्ता बालकको स्काभेटरको सहयोगमा खोजी कार्य गरिरहेको बताए। उनले पानी परिरहेका कारण खोजी कार्यमा केही कठिनाई भएको बताए।

प्रकाशित: २४ असार २०७८ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App