५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा घटेन कोरोना संक्रमण, असारभरि निषेधाज्ञा

रोल्पा सदरमुकाम । तस्बिरः दिनेश /नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या २ सय १२ पुगेको छ । जिल्लामा ४ हजार ८ सय ३६ जनामा कोरोना परीक्षण गर्दा २ हजार १ सय ७४ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १९ जनाले कोराेनाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार ९ सय ४७ जनाले कोरोना जितेका छन् ।  

यसैबीच जिल्ला प्रशासन कार्यालयले केही खुकुलो बनाउँदै असार महिना भरका लागि निषेधाज्ञा बढाएको छ । जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा असार २० गते राती १२ बजेदेखि असार ३१ गते बिहीबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञा थप गरिए पनि बजार तथा यातायात सञ्चालनमा भने खुकुलो बनाइएको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै जिल्लाभरका सम्पूर्ण पसलहरु बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला गर्न पाइने छ । त्यस्तै होटल रेष्टुरेन्टहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गरी तयारी खाजा सेवाग्राहीले लिएर जाने र घरसम्म पुर्‍याउने मात्र गर्ने गरी सञ्चालन गर्न पाउने उल्लेख छ । विवाह तथा ब्रतबन्धको हकमा बढीमा २५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी आफ्नो घर वा बसेको स्थान अथवा पार्टी प्यालेसमा गर्न दिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

सार्वजनिक यातायातका सम्पूर्ण साधनहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म जिल्लाभित्र सञ्चालन गर्न पाईने छ ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, विद्युत, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्घजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ (भेटनेरी) सम्बन्धी, इन्धन, खाना पकाउने ग्याँस, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग गरिने साबुन/सेनिटाइजर, कुरियर तथा हुलाक सेवा, बीउविजन एवम् रसायनिक मल बोकेको साधनहरु, प्रिन्ट लगायतका कार्यमा प्रयोग हुने सवारी साधनलाई पास लिनु नपर्ने उल्लेख छ ।

सार्वजनिक सेवा सञ्चालन गर्ने सरकारी कार्यालयहरु, सार्वजनिक सेवा प्रदायक संस्था एवम् बैंक तथा वित्तिय संस्थाहरुको सवारी साधनहरु जिल्लाभित्र सञ्चालन गर्न पाउने छन् । यस्तै सबै प्रकारका सभा, सम्मेलन, दोहोरी नाचघर, क्लब, मनोरञ्जन स्थल, हेल्थक्लब, कबर्ड हल, फुटसल, जिमखाना, दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कुनै पनि कार्यक्रमहरु सञ्चालन गर्न पाइने छैन ।  

स्कुल तथा विद्यालयहरु भौतिक रुपमा उपस्थित भइ सञ्चालन गर्न नपाइने र अर्को सूचना नभएसम्मको लागि कुनै पनि परीक्षा सञ्चालन नगर्ने तर अनलाइन कक्षा सञ्चालन गर्न भने कुनै बाधा नपर्ने र मठमन्दिरमा पुजारीले नित्यपूजा बाहेक सामूहिक पूजा तथा बलि बन्द गर्नुका साथै कुनै पनि मेला महोत्सव गर्न नपाइने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित: २२ असार २०७८ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App