१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनाङका सरकारी कार्यालयमा सोलार

हिमालपारिको जिल्ला मनाङका १६ वटा सरकारी कार्यालयमा सौर्य उर्जा जडान गरिने भएको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले आवश्यक सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।  

पछिल्लो पटक असार पहिलो साताको बाढीपहिरोले मनाङका विभिन्न ठाउँका विद्युत गृह र संरचनामा क्षति पुगेपछि त्यहाँ विजुली अभाव भएको छ । विद्युत अभावमा  अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकोले सौर्य उर्जाका सामाग्री खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत् सामान खरिद गरि हिमाली जिल्लामा पठाएको उनले बताए । करिब १९ लाख रुपैयाँको सामान खरिद गरेर हेलिकप्टरमार्फत् चामे पठाउने तयारी भएको छ ।  

सामान ढुवानीका लागि लागेको ४ लाख ३१ हजार रुपैयाँ समेत गण्डकी सरकारले नै व्यहोरेको छ । सामान खरिद गरेर लमजुङ सदरमुकाम बेसीसरहरमा पु¥याइएको छ । बुधबार नै सामान बेसीसहर पु¥याएको भए पनि मौसम खराब भएका कारण हेलिकप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए । मौसम खराबीले मनाङमा उद्धार र राहतका कार्यक्रम समेत प्रभावित भएका छन् ।  

मनसुनको सुरुसँगै मनाङका अधिकांश गाउँ अन्धकारमा छन् । बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बलेको छैन । विद्युत गृह र विद्युत गृहसम्म पानी पुग्ने पाइप नै बाढीले बगाएको छ । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकता क्रम अनुसार सोलार सरकारी कार्यालयहरुलाई प्रदान गर्न लागिएको हो ।  

मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो ।  स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिड–१९ विरुद्धको मौज्दात खोप जोगाउन समस्या भएको बताए । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव भएको छ । मनाङ प्रशासनले हेलिकप्टरबाट इन्धन ढुवानी गर्ने तयारी गरेको बताएको छ । 

प्रकाशित: १८ असार २०७८ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App